भजनसंग्रह 14 - नेपाली नयाँ संशोधित संस्करणमानिसहरूको बेवकूफी र दुष्टता सङ्गीत-निर्देशकको निम्ति दाऊदको भजन 1 मूर्खले आफ्नो मनमा भन्छ, “ईश्वर छँदैछैन।” तिनीहरू भ्रष्ट भएका छन्, तिनीहरू नीच काम गर्दछन्। यस्तो कोही पनि छैन जसले असल गर्दछ। 2 परमप्रभुले स्वर्गबाट मानिसका सन्तानलाई हेर्नुहुन्छ, यो जान्नलाई कि समझदार हुने र परमेश्वरलाई खोज्ने कोही छ? 3 तिनीहरू सबै कुबाटोतिर लागेका छन्। तिनीहरू सबै एकसाथ भ्रष्ट भएका छन्। कसैले असल गर्दैन, अहँ, असल गर्ने एक जना पनि छैन। 4 के दुष्ट काम गर्नेहरूले कहिल्यै सिक्नेछैनन्? रोटी खाएझैँ तिनीहरूले मेरा मानिसहरूलाई भक्षण गर्छन्, अनि परमप्रभुलाई पुकार्दैनन्। 5 त्यहाँ तिनीहरू त्रासले व्याकुल भएका छन्। किनभने धर्मीहरूको समुदायसँग परमेश्वर हुनुहुन्छ। 6 तिमी दुष्टहरूले गरीबको योजनालाई विफल पारेका छौ, तर उनीहरूको शरणस्थान त परमप्रभु नै हुनुहुन्छ। 7 इस्राएलको उद्धार सियोनबाट आएको भए कति असल हुनेथियो! जब परमप्रभुले आफ्ना मानिसहरूको सुख-शान्ति फर्काइदिनुहुन्छ, याकूब रमाऊन्, र इस्राएल खुशी होऊन्! |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society