Online Bible

- Reklamy -

भजनसंग्रह 138 - नेपाली नयाँ संशोधित संस्करण


धन्‍यवादको प्रार्थना
दाऊदको भजन

1 हे परमप्रभु, म आफ्‍नो सारा हृदयले तपाईंको प्रशंसा गर्नेछु, “देवताहरू” का सामुन्‍ने म त तपाईंको प्रशंसा गर्नेछु।

2 म तपाईंको पवित्र मन्‍दिरतिर फर्केर दण्‍डवत्‌ गर्नेछु, र तपाईंको करुणा र विश्‍वसनीयताको निम्‍ति तपाईंका नाउँको प्रशंसा गर्नेछु, किनभने तपाईंले आफ्‍नो नाउँ र आफ्‍नो वचन सबै कुरामाथि उच्‍च पार्नुभएको छ।

3 जब मैले तपाईंलाई पुकारें, तपाईंले मलाई जवाफ दिनुभयो। तपाईंले मलाई साहसी र आँटिलो पार्नुभयो।

4 तपाईंको मुखका वचन सुन्‍दा, हे परमप्रभु, पृथ्‍वीका समस्‍त राजाहरूले तपाईंको प्रशंसा गरून्‌।

5 तिनीहरूले परमप्रभुका मार्गहरूको जयजयकार गरून्‌, किनकि परमप्रभुको महिमा महान्‌ छ।

6 परमप्रभु अति उच्‍चमा विराजमान हुनुभए तापनि उहाँले नम्रहरूमाथि दृष्‍टि गर्नुहुन्‍छ, तर अहङ्कारीहरूलाई उहाँले टाढ़ैबाट चिन्‍नुहुन्‍छ।

7 म सङ्कटमय मार्गमा हिँड़े तापनि तपाईंले मेरो प्राणको सुरक्षा गरिदिनुहुन्‍छ। मेरा शत्रुहरूका क्रोधको विरुद्धमा तपाईंले हात बढ़ाउनुहुन्‍छ, आफ्‍नो दाहिने बाहुलीले मलाई बचाउनुहुन्‍छ।

8 परमप्रभुले मेरो लागि उहाँको अभिप्राय पूरा गर्नुहुनेछ, तपाईंको करुणा, हे परमप्रभु, सदाको निम्‍ति रहिरहन्‍छ— तपाईंका हातको रचनालाई नत्‍याग्‍नुहोस्‌।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy