भजनसंग्रह 136 - नेपाली नयाँ संशोधित संस्करणधन्यवादको भजन 1 परमप्रभुलाई धन्यवाद देओ, किनभने उहाँ भलो हुनुहुन्छ, उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। 2 देवताहरूका परमेश्वरलाई धन्यवाद देओ, उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। 3 प्रभुहरूका परमप्रभुलाई धन्यवाद देओ, किनभने उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। 4 उहाँले मात्र आश्चर्य कामहरू गर्नुहुन्छ: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। 5 उहाँले आफ्नो समझशक्तिले स्वर्ग सृष्टि गर्नुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। 6 उहाँले पानीमाथि पृथ्वी फैलाउनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। 7 उहाँले ठूला-ठूला ज्योतिहरू बनाउनुभयो: उहाँको प्रेम सदाकाल रहिरहन्छ। 8 उहाँले दिनमा प्रभुत्व गर्नलाई सूर्य बनाउनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। 9 उहाँले रातमा प्रभुत्व गर्नलाई चन्द्र र तारा बनाउनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। 10 उहाँले मिश्रदेशका ज्येष्ठहरूलाई मार्नुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। 11 उहाँले उनीहरूका बीचबाट इस्राएललाई निकाली ल्याउनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। 12 उहाँले शक्तिशाली हात र पसार्नुभएको पाखुराले तिनीहरूलाई निकाली ल्याउनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। 13 उहाँले लाल समुद्रलाई दुई भागमा विभाजित गर्नुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। 14 उहाँले इस्राएललाई त्यसको बीचबाट पार गराउनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। 15 उहाँले फारो र उनको सेनालाई लाल समुद्रमा बगाइदिनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। 16 उहाँले आफ्ना मानिसहरूलाई उजाड-स्थानको बीचबाट डोर्याउनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। 17 उहाँले ठूला-ठूला राजाहरूलाई मार्नुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। 18 उहाँले शक्तिशाली राजाहरूलाई मार्नुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। 19 उहाँले एमोरीहरूका राजा सीहोनलाई मार्नुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। 20 उहाँले बाशानका राजा ओगलाई मार्नुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। 21 उहाँले उनको देश पैतृक-सम्पत्तिको रूपमा दिनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। 22 उहाँले त्यो देश आफ्नो दास इस्राएललाई दिनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। 23 उहाँले हामीलाई हाम्रो दुर्दशामा स्मरण गर्नुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। 24 उहाँले हामीलाई हाम्रा शत्रुहरूका हातबाट छुटाउनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। 25 उहाँले प्रत्येक प्राणीलाई आहार दिनुहुन्छ: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। 26 स्वर्गका परमेश्वरलाई धन्यवाद देओ, किनभने उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society