Online Bible

- Reklamy -

भजनसंग्रह 135 - नेपाली नयाँ संशोधित संस्करण


परमप्रभुका महान्‌ कार्यहरू

1 परमप्रभुको प्रशंसा गर। परमप्रभुका नाउँको प्रशंसा गर, हे परमप्रभुका सेवकहरू, उहाँको प्रशंसा गर।

2 तिमीहरू जो परमप्रभुको भवनमा, हाम्रा परमेश्‍वरको भवनमा सेवा गर्दछौ।

3 परमप्रभुको प्रशंसा गर, किनभने परमप्रभु भलो हुनुहुन्‍छ। उहाँको नाउँको भजन गाओ, किनकि यो मनोहर छ।

4 किनकि परमप्रभुले याकूबलाई आफ्‍नो बनाउन, र इस्राएललाई आफ्‍नै निज सम्‍पत्ति हुनलाई चुन्‍नुभएको छ।

5 मलाई थाहा छ, कि परमप्रभु महान्‌ हुनुहुन्‍छ, र हाम्रा प्रभु सबै देवहरूभन्‍दा महान्‌ हुनुहुन्‍छ।

6 स्‍वर्गमा, पृथ्‍वीमा, र समुद्रहरू र तिनका गहिराइमा परमप्रभुले आफ्‍नो इच्‍छाबमोजिम गर्नुहुन्‍छ।

7 उहाँले पृथ्‍वीका सीमानाको छेउबाट बादल उठाउनुहुन्‍छ, उहाँले वर्षासित बिजुली पठाउनुहुन्‍छ, र उहाँले आफ्‍ना भण्‍डारहरूबाट बतास निकाल्‍नुहुन्‍छ।

8 उहाँले मिश्रदेशमा मानिस र पशुहरू दुवैका जेठा-जेठालाई मार्नुभयो।

9 हे मिश्रदेश, उहाँले तेरै बीचमा, फारो र उनका सारा कर्मचारीहरूका सामुन्‍ने चिन्‍ह र आश्‍चर्य कामहरू पठाउनुभयो।

10 उहाँले धेरै जातिहरूलाई प्रहार गर्नुभयो, र धेरै शक्तिशाली राजाहरूलाई मार्नुभयो:

11 एमोरीहरूका राजा सीहोन, र बाशानका राजा ओगलाई, र कनानका सबै राजाहरूलाई।

12 अनि तिनीहरूका भूमि आफ्‍नो प्रजा इस्राएललाई पैतृक-सम्‍पत्तिको रूपमा दिनुभयो।

13 हे परमप्रभु, तपाईंको नाउँ सदासर्वदै रहिरहन्‍छ। हे परमप्रभु, तपाईंको यश पुस्‍तौँसम्‍म रहिरहन्‍छ।

14 किनभने परमप्रभुले आफ्‍नो प्रजालाई न्‍याय दिलाउनुहुनेछ, र आफ्‍ना सेवकहरूमाथि अनुकम्‍पा राख्‍नुहुनेछ।

15 जाति-जातिका मूर्तिहरू सुन र चाँदी हुन्‌, ती सब मानिसहरूका हातले बनिएका हुन्‍छन्‌।

16 तिनीहरूका मुख छन्‌, तर बोल्‍न सक्‍दैनन्‌, आँखा छन्‌, तर देख्‍न सक्‍दैनन्‌।

17 तिनीहरूका कान छन्‌, तर सुन्‍न सक्‍दैनन्‌। तिनीहरूले सास फेर्न सक्‍दैनन्‌।

18 तिनीहरूलाई बनाउनेहरू पनि तिनीहरूजस्‍तै हुनेछन्‌, अनि तिनीहरूमाथि भरोसा राख्‍नेहरू पनि सबै उस्‍तै हुनेछन्‌।

19 हे इस्राएलको घराना, परमप्रभुको प्रशंसा गर। हे हारूनको वंश, परमप्रभुको प्रशंसा गर।

20 हे लेवीको वंश, परमप्रभुको प्रशंसा गर। हे परमप्रभुको भय मान्‍नेहरू, परमप्रभुको प्रशंसा गर।

21 सियोनबाट परमप्रभुको प्रशंसा होस्‌, यरूशलेममा वास गर्नुहुनेको प्रशंसा होस्‌। परमप्रभुको प्रशंसा गर।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy