Online Bible

- Reklamy -

भजनसंग्रह 132 - नेपाली नयाँ संशोधित संस्करण


मन्‍दिरको लागि प्रार्थना
यात्राको गीत

1 हे परमप्रभु, दाऊदलाई स्‍मरण गर्नुहोस्‌, अनि तिनले भोगेका सबै विपत्तिहरू सम्‍झनुहोस्‌।

2 तिनले परमप्रभुको नाउँमा शपथ खाए, र याकूबका सर्वशक्तिमान्‌को नाउँमा भाकल गरे,

3 “म तबसम्‍म आफ्‍नो घरभित्र प्रवेश गर्नेछैनँ, न ओछ्यानमा लेट्‍न जानेछु!

4 मेरा आँखामा म निद्रा आउन दिनेछैनँ, अनि आफ्‍ना पलकहरूलाई झिमिक्‍क पनि हुन दिनेछैनँ,

5 जबसम्‍म परमप्रभुको निम्‍ति एउटा स्‍थान, याकूबका सर्वशक्तिमान्‌को निम्‍ति एउटा निवासस्‍थान म भेट्टाउँदिनँ।”

6 एप्रातामा हामीले त्‍यसको विषयमा सुन्‍यौं, हामीले याआरको मैदानमा त्‍यो भेट्टायौं:

7 “हामी उहाँको वासस्‍थानमा जाऔं, हामी उहाँको पाउदानमा आराधना गरौं।

8 हे परमप्रभु, उठ्‌नुहोस्‌, तपाईं र तपाईंका शक्तिको सन्‍दूकसहित, र तपाईंको विश्रामस्‍थानमा आउनुहोस्‌।

9 तपाईंका पूजाहारीहरूले धार्मिकताको वस्‍त्र धारण गरून्‌, र तपाईंका पवित्र जनहरू आनन्‍दले जयजयकार गरून्‌।”

10 तपाईंका दास दाऊदको खातिर तपाईंका अभिषिक्तलाई इन्‍कार नगर्नुहोस्‌।

11 परमप्रभुले दाऊदसँग एउटा गंभिर शपथ खानुभयो, जसबाट उहाँ तर्किनुहुन्‍न: “म तेरो सिंहासनमा तेरा छोराहरूमध्‍ये एक जनालाई बसाल्‍नेछु।

12 यदि तेरा छोराहरूले मेरो करार, र मैले तिनीहरूलाई सिकाएका मेरा कानूनहरू पालन गरे भने, तिनीहरूका छोराहरू पनि सदाको निम्‍ति तेरो सिंहासनमा बस्‍नेछन्‌।”

13 किनभने परमप्रभुले सियोनलाई छान्‍नुभएको छ, उहाँले त्‍यसलाई आफ्‍नो निवासको निम्‍ति चाहनुभएको छ।

14 “यो सदाकालको निम्‍ति मेरो विश्रामस्‍थान हो, म यहाँ सिंहासनमा बस्‍नेछु, किनकि मैले यही चाहेको छु।

15 म यसको अन्‍नपानीमा प्रशस्‍त आशीर्वाद दिनेछु, र यसका गरीबहरूलाई म रोटीले तृप्‍त गराउनेछु।

16 यसका पूजाहारीहरूलाई पनि म उद्धारको वस्‍त्र पहिराउनेछु, र यसका पवित्र जनहरू आनन्‍दले सधैँ जयजयकार गर्नेछन्‌।

17 “यहाँ म दाऊदको निम्‍ति एउटा सीङ उत्‍पन्‍न गर्नेछु, र मेरो अभिषिक्तको निम्‍ति एउटा बत्ती तयार गर्नेछु।

18 म त्‍यसका शत्रुहरूलाई शर्मको वस्‍त्र पहिराउनेछु, तर त्‍यसका शिरको मुकुट प्रकाशमय हुनेछ।”

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy