भजनसंग्रह 13 - नेपाली नयाँ संशोधित संस्करणसङ्कष्टमा प्रार्थना सङ्गीत-निर्देशकको निम्ति दाऊदको भजन 1 कहिलेसम्म, हे परमप्रभु? के तपाईं सधैँभरि मलाई बिर्सनुहुन्छ? तपाईंले आफ्नो मुहार मसँग कहिलेसम्म लुकाउनुहुन्छ? 2 मेरो आत्मामा कहिलेसम्म मैले चिन्ता बोक्ने, अनि दिनहुँ मेरो हृदयमा शोक राख्ने? कहिलेसम्म मेरो शत्रु ममाथि प्रबल भइरहनेछ? 3 ममाथि निगाह गर्नुहोस्, र मलाई जवाफ दिनुहोस्, हे परमप्रभु मेरा परमेश्वर। मेरा आँखालाई ज्योति दिनुहोस्, नत्रता म मृत्युको निद्रामा पर्नेछु। 4 नत्रता मेरो शत्रुले भन्नेछ, “त्यसमाथि मैले विजय पाएको छु।” अनि म ढल्दा मेरा शत्रुहरू रमाउनेछन्। 5 तर मैले त तपाईंको अचूक कृपामा भरोसा राखेको छु। मेरो हृदय तपाईंको उद्धारमा रमाउँछ। 6 म परमप्रभुको स्तुति गाउनेछु, किनभने उहाँ मप्रति भला हुनुभएको छ। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society