भजनसंग्रह 124 - नेपाली नयाँ संशोधित संस्करणशत्रुहरूबाट सुरक्षाको निम्ति धन्यवाद यात्राको निम्ति दाऊदको गीत 1 यदि परमप्रभु हामीहरूसँग नहुनुभएको भए— इस्राएलले भनोस्— 2 मानिसहरूले हामीलाई आक्रमण गर्दा, परमप्रभु हामीतर्फ नहुनुभएको भए, 3 तिनीहरूको क्रोध हाम्रा विरुद्ध दन्किउठ्दा, तिनीहरूले हामीहरूलाई जिउँदै निल्नेथिए। 4 उर्लिआएको बाढ़ले हामीलाई एक गाँस पार्नेथियो, अनि भल हामीमाथि बग्नेथियो, 5 जलको प्रबल प्रवाहले हामीलाई त्यसै बगाइलानेथियो। 6 परमप्रभुको प्रशंसा होस्, जसले हामीहरूलाई तिनीहरूका दाँतले फहराउन दिनुभएन। 7 शिकारीको पासोबाट चरा उम्केझैँ, हामी फुत्किसकेका छौं, तिनीहरूको जाल फाट्यो र हामी उम्क्यौं। 8 हाम्रो गुहार स्वर्ग र पृथ्वी सृजना गर्नुहुने परमप्रभुको नाउँमा छ। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society