भजनसंग्रह 122 - नेपाली नयाँ संशोधित संस्करणयरूशलेमका शान्तिको निम्ति प्रार्थना यात्राको निम्ति दाऊदको गीत 1 जब तिनीहरूले मलाई भने, “परमप्रभुको भवनमा हामी जाऔं,” तब म आनन्दित भएँ। 2 ए यरूशलेम, हाम्रा खुट्टाहरू, तेरा ढोकाहरूमा खड़ा भएका छन्। 3 यरूशलेम सुदृढ़ रूपले एकसाथ बाँधिएर निर्माण भएको सहरजस्तै छ। 4 इस्राएललाई दिइएका कानूनअनुसार, परमप्रभुका कुलहरू परमप्रभुका नाउँको प्रशंसा गर्न त्यहाँ जान्छन्। 5 त्यहाँ न्यायका सिंहासनहरू छन्, दाऊदको वंशका सिंहासनहरू त्यहाँ छन्। 6 यरूशलेमका शान्तिको निम्ति प्रार्थना गर, “तँलाई माया गर्नेहरू सुरक्षित रहून्, 7 तेरा पर्खालभित्र शान्ति होस्, र तेरा किल्लाहरूभित्र सुरक्षा।” 8 मेरा दाजुभाइहरू र मेरा मित्रहरूका निम्ति म भन्नेछु, “तिमीहरूमा शान्ति होस्।” 9 परमप्रभु हाम्रा परमेश्वरका भवनको खातिर म तेरो भलाइ नै खोज्नेछु। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society