भजनसंग्रह 12 - नेपाली नयाँ संशोधित संस्करणदुर्जनहरूका विरुद्ध परमेश्वरको सहायताको निम्ति प्रार्थना सङ्गीत-निर्देशकको निम्ति शिमिनिथअनुसार दाऊदको भजन 1 गुहार, हे परमप्रभु, किनभने भक्तजन अब बाँकी छैनन्। मानिसका बीचबाट विश्वासीहरू लोप भइसकेका छन्। 2 हरेकले आफ्नो छिमेकीसँग झूटा बोल्छ। चापलूसी ओठले छलसित तिनीहरू कुरा गर्छन्। 3 सबै चापलूसी गर्ने ओठलाई र घमण्डका कुरा गर्ने हरेक जिब्रोलाई परमप्रभुले काटिदेऊन्, 4 तिनीहरू जसले भन्छन्, “हाम्रा जिब्राले नै हामी जित्नेछौं, हाम्रा ओठ हाम्रै हुन्, हामीमाथि को मालिक छ र?” 5 परमप्रभु भन्नुहुन्छ, “अब म उठ्नेछु, किनकि कमजोरहरू लुटिएका छन्, र दरिद्रहरू सुस्केरा हाल्छन्, र तिनीहरूलाई हानि गर्नेहरूबाट म रक्षा गर्नेछु।” 6 अनि परमप्रभुका वचनहरू खोटरहित छन्, ती शुद्ध चाँदीजस्ता छन्, जो सात पल्ट माटोको भट्टीमा खारेर शुद्ध पारिएको छ। 7 हे परमप्रभु, तपाईंले हामीलाई रक्षा गर्नुहुनेछ। सदाकाल हामीलाई यस्ता मानिसहरूदेखि बचाइराख्नुहुनेछ। 8 दुष्टहरू गमक्क भई खुल्ला रूपमा डुलिहिँड्छन्, जब मानिसहरूका बीचमा नीचताको सम्मान हुन्छ। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society