Online Bible

- Reklamy -

भजनसंग्रह 11 - नेपाली नयाँ संशोधित संस्करण


परमेश्‍वरमाथि भरोसा
सङ्गीत-निर्देशकको निम्‍ति दाऊदको भजन

1 म परमप्रभुमा शरण लिन्‍छु, यसर्थ तिमीहरू कसरी मलाई भन्‍न सक्‍छौ, “चरोझैँ आफ्‍नो डाँड़ामा उड़िजा,

2 किनभने हेर, दुष्‍टहरूले धनुमा ताँदो चढ़ाउँछन्‌, सोझो हृदय भएकाहरूलाई अँध्‍यारोबाट हान्‍नलाई तिनीहरूले आफ्‍नो काँड़ ताँदोमा चढ़ाएका छन्‌।

3 यदि जग नै नष्‍ट हुन्‍छन्‌ भने, धर्मी जनले के गर्न सक्‍छन्‌ र?”

4 परमप्रभु आफ्‍नै पवित्र मन्‍दिरमा हुनुहुन्‍छ, परमप्रभु आफ्‍नो स्‍वर्गीय सिंहासनमा विराजमान हुनुहुन्‍छ। मानिसका सन्‍तानलाई उहाँले नियालेर हेर्नुहुन्‍छ, उहाँले आफ्‍ना आँखाले तिनीहरूको जाँच गर्नुहुन्‍छ।

5 परमप्रभुले धर्मीहरूको जाँच गर्नुहुन्‍छ, तर दुष्‍ट र हिंसा रुचाउनेहरूलाई उहाँले घृणा गर्नुहुन्‍छ,

6 दुष्‍टहरूमाथि उहाँले आगो र गन्‍धक बर्साउनुहुनेछ। पिल्‍स्‍याउने तातो हावा तिनीहरूको भाग हुनेछ।

7 किनभने परमप्रभु धर्मी हुनुहुन्‍छ, धार्मिक कामहरू उहाँ मन पराउनुहुन्‍छ। सोझाहरूले उहाँको मुहारको दर्शन गर्नेछन्‌।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy