भजनसंग्रह 1 - नेपाली नयाँ संशोधित संस्करणप्रथम खण्ड (१-४१) साँचो आनन्दको सिद्ध मार्ग 1 धन्य हो त्यो मानिस, जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूको मार्गमा खड़ा हुँदैन, अनि गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैन। 2 तर परमप्रभुको व्यवस्थामा नै त्यो खुशी रहन्छ, र त्यसले दिनरात उहाँकै व्यवस्थामा मनन गर्छ। 3 त्यो खोलाको किनारमा रोपेको बोटजस्तै हुन्छ, जसले आफ्नो ऋतुमा फल दिन्छ, अनि जसको पात कहिल्यै ओइलाउँदैन। त्यसले जे पनि गर्छ, त्यसमा त्यो सफल हुन्छ। 4 दुष्टहरू त्यस्ता हुँदैनन्! तिनीहरू बतासले उड़ाएर लैजाने भुसजस्तै हुन्छन्। 5 यसकारण दुष्टहरू न्यायको दिनमा टिक्नेछैनन्, र पापीहरूले धर्मीहरूको सभामा स्थान पाउनेछैनन्। 6 किनकि परमप्रभुले धर्मीहरूको मार्गको रक्षा गर्नुहुन्छ, तर दुष्टहरूको मार्ग नष्ट हुनेछ। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society