Online Bible

- Reklamy -

हितोपदेश 8 - नेपाली नयाँ संशोधित संस्करण


बुद्धिको आह्वान

1 के बुद्धिले चर्को स्‍वरमा आह्वान गर्दैन र? के समझशक्तिले आफ्‍नो आवाज उच्‍च पार्दैन र?

2 बाटोका उच्‍च ठाउँहरूमा, चौबाटोमा त्‍यो खड़ा हुन्‍छ,

3 सहरतिर जाने मूल ढोकाको छेउमा, प्रवेश-द्वारमा, त्‍यो चर्को स्‍वरले यसरी कराउँछ:

4 “हे मानिसहरू हो, म तिमीहरूलाई आह्वान गर्दछु, म सारा मानव-जातिलाई मेरो आवाज सुनाउँछु।

5 हे निर्बुद्धि हो, बुद्धि प्राप्‍त गर। हे मूर्ख हो, समझशक्ति प्राप्‍त गर।

6 सुन, तिमीहरूलाई बताउनुपर्ने आदरणीय कुराहरू मसँग छन्, ठीक कुरा बोल्‍न म मेरो मुख खोल्‍छु।

7 मेरो मुखले साँचो कुरा बोल्‍दछ, किनभने मेरा ओठले दुष्‍टता घृणा गर्छन्‌।

8 मेरो मुखका सबै वचनहरू न्‍यायपूर्ण छन्, तिनीहरूमध्‍ये कुनै पनि बाङ्गोटिङ्गो छैन।

9 विवेकशील व्‍यक्तिको लागि ती सबै उचित छन्, ज्ञान हुने मानिसको निम्‍ति ती खोटरहित छन्‌।

10 चाँदीको सट्टा मेरो उपदेश, उत्तम सुनभन्‍दा त बरु ज्ञान नै खोज,

11 किनभने बुद्धि मानिकभन्‍दा बहुमूल्‍य हुन्‍छ, र तैंले इच्‍छा गरेको कुनै पनि थोक त्‍यससँग तुलना गर्न सकिँदैन।

12 म बुद्धि हुँ, सावधानीसित म बसोबास गर्दछु, मसँग ज्ञान र विवेक छन्‌।

13 परमेश्‍वरको भय मान्‍नु दुष्‍टतालाई घृणा गर्नु हो, अभिमान, अहङ्कार, खराब चालचलन र भड्‌काउने कुराहरू म घृणा गर्छु।

14 सरसल्‍लाह र उचित फैसला मबाटै हुन्‍छन्, मसँग समझशक्ति र सामर्थ्‍य छन्‌।

15 मद्वारा नै राजाहरू राज्‍य गर्छन्, र शासकहरू उचित कानून बनाउँछन्,

16 मद्वारा नै राजकुमारहरू राज्‍यव्‍यवस्‍था चलाउँछन्, र सबै उच्‍च अख्‍तियारवालहरू पृथ्‍वीभरि शासन गर्दछन्‌।

17 मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्छु, मलाई खोज्‍नेहरूले मलाई भेट्टाउँछन्‌।

18 मसँग वैभव र आदर, टिक्‍ने धन-सम्पत्ति र समृद्धि छन्‌।

19 मेरो फल निखुर सुनभन्‍दा उच्‍च छ। जे म उत्‍पादन गर्छु, त्‍यसले असल चाँदीलाई उछिनिदिन्‍छ।

20 म धार्मिकताको बाटो र न्‍यायको मार्गमा हिँड्‌छु।

21 मलाई प्रेम गर्नेहरूलाई म धन-सम्पत्तीले भरिपूर्ण पार्छु, र म तिनीहरूका भण्‍डार भरिदिनेछु।

22 “परमप्रभुले सृष्‍टिको प्रारम्‍भमा नै मलाई सृजनुभयो, उहाँका आदिका सबै कामहरूभन्‍दा पहिले नै।

23 अनन्‍तदेखि नै मेरो नियुक्ति भएको थियो, सबैभन्‍दा पहिले, संसार सुरु हुनुभन्‍दा पनि पहिले नै।

24 महासागर नहुँदै मेरो जन्‍म भएको थियो, पानीले भरिएका खोला-नालाहरू हुनुभन्‍दा अघि नै।

25 पर्वतहरू आ-आफ्‍नो स्‍थानमा स्‍थापित हुनुभन्‍दा पहिले नै, पहाड़हरूभन्‍दा अघि नै मेरो जन्‍म भएको थियो।

26 उहाँले पृथ्‍वी वा यसका जमिन, वा संसारमा धूलाको कण बनाउनुभन्‍दा अघि नै म सृजिएको थिएँ।

27 उहाँले आकाशलाई त्‍यसको ठाउँमा बसाल्‍नुहुँदा, र महासागरलाई क्षितिजले घेर्नुहुँदा, म त्‍यहाँ थिएँ।

28 उहाँले बादललाई आकाशमा स्‍थापित गर्नुहुँदा, र महासागरका मूलहरूलाई तिनीहरूका स्‍थानमा दृढ़सँग बसाल्‍नुहुँदा,

29 उहाँले समुद्रको सिमाना तोकिदिनुहुँदा— उहाँको आज्ञाभन्‍दा बाहिर नाघी पानी नजानलाई— र उहाँले पृथ्‍वीका जगहरू बसाल्‍नुहुँदा,

30 म एक कारीगरझैँ उहाँको छेउमा थिएँ। म दिनहुँ हर्षले विभोर हुन्‍थें, उहाँको उपस्‍थितिमा निरन्‍तर आनन्‍दित भइरहन्‍थें।

31 उहाँले बनाउनुभएको सिङ्गो संसारमा आनन्‍दित हुँदै म मानव जातिमा प्रसन्‍न रहन्‍थें।

32 अब हे मेरा छोरा हो, मेरो कुरा सुन, तिनीहरू धन्‍य हुन्, जसले मेरा मार्गहरू अपनाउँछन्‌।

33 मेरो अर्ती सुन र बुद्धिमान्‌ होओ, त्‍यसको अवहेलना नगर।

34 त्‍यही मानिस सुखी हो, जसले मेरो वचन सुन्‍छ, जो दिनहुँ मेरो ढोकामा नियालेर हेर्दै, मेरो ढोकानेर पर्खिरहन्‍छ।

35 किनभने जसले मलाई भेट्टाउँछ, त्‍यसले जीवन पाउँछ, र परमप्रभुको निगाह प्राप्‍त गर्छ।

36 तर जसले मलाई भेट्टाउन चुक्‍छ, त्‍यसले आफैलाई नोक्‍सानी गर्छ। मलाई घृणा गर्ने सबैले मृत्‍युसित प्रेम राख्‍छ।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy