हितोपदेश 7 - नेपाली नयाँ संशोधित संस्करणव्यभिचारिणीको विरूद्ध चेताउनी 1 हे मेरो छोरो, मेरा वचनहरू पालन गर्, र मेरा आज्ञाहरू तँभित्र संचय गरिराख्। 2 मेरा आज्ञाहरू पालन गर्, र तँ जीवित रहनेछस्, मेरा अर्तीहरू तेरो आँखाको नानीजस्तै जोगाइराख्। 3 तिनलाई तेरा औँलामा औँठीझैँ लगाइराख्। हृदयको पाटीमा ती लेखिराख्। 4 बुद्धिलाई भन्, “तिमी मेरी बहिनी हौ,” र समझशक्तिलाई चाहिँ आफ्नो परममित्र भन्, 5 तब तिनले तँलाई वेश्याबाट, र स्वेच्छाचारी पत्नीको मोहित गराउने कुरादेखि जोगाइराख्नेछन्। 6 म आफ्नो घरको झ्यालमा बसेर त्यसको आँखी-झ्यालबाट बाहिर हेर्दा, मैले के देखें भने, 7 सीधासादाहरूका माझमा, ठिटाहरूमध्ये एक जनालाई देखें जो समझहीन रहेछ। 8 त्यो स्त्री बस्ने गल्लीमा ऊ हिँड़िरहेको, र त्यसकै घरतिर पाइला बढ़ाइरहेको मैले देखें— 9 साँझमा, जब दिन ढल्कँदैजाँदा रात अँध्यारो हुँदैजान्छ। 10 तब एउटी स्त्री उसलाई भेट्न निस्केर आई, वेश्याझैँ पहिरेकी र धूर्त नियत भएकी। 11 चञ्चली र जिद्दीवाल स्त्री, जो कहिल्यै घरमा बस्दिन, 12 कहिले गल्लीमा, कहिले चोकहरूमा, हरेक कुनाकाप्चा हुँदो त्यो लुकेर बस्छे। 13 त्यसैले नै उसलाई समाती र चुम्बन गरी, र निर्लज्ज चेहराले भनी: 14 “मैले घरमा मेलबलि चढ़ाउनु परेको छ, आज मैले आफ्नो भाकल पूरा गरेकी छु। 15 त्यसैले म तपाईंलाई भेट्न बाहिर आएकी हुँ। मैले तपाईंलाई खोजें, अहिले भेट्टाएकी छु! 16 मैले मेरो ओछ्यानमा, मिश्रदेशका रङ्गीन तन्ना बिछ्याएकी छु। 17 मैले मेरो बिछ्याउना मूर्र, एलवा र दालचिनी छर्केर सुगन्धित तुल्याएकी छु। 18 आउनुहोस्, बिहानसम्मै हामी प्रेमको सागरमा डुबौं, हामी प्रेममा मस्त होऔं! 19 मेरो पति घर हुनुहुन्न, उहाँ त टाढ़ा यात्रामा जानुभएको छ। 20 उहाँले आफूसित थैलीभरि रुपियाँ लानुभयो, र पूर्णिमासम्म उहाँ घर फर्कनुहुन्न।” 21 फकाई-फुस्लाईकन त्यसले उसलाई रनभुल्ल पारी, मोहित कुराहरू गरेर त्यसले उसलाई फसाई। 22 तुरुन्तै ऊ त्यसको पछि लाग्यो, वधशालातिर लागेको गोरुझैँ, पासोतिर अगि बढ़िरहेको मृगझैँ। 23 तब बाणले त्यसको कलेजो नै छेड़िदिन्छ, जालतिर वेगले उड़ेको चराझैँ, आफ्नो ज्यानै गुमाउँछु भन्ने उसलाई ज्ञानै छैन। 24 अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन, मैले भनेको कुरामा ध्यान देओ। 25 तिमीहरूको हृदय त्यसको चालतिर फस्न नदेओ, त्यसको बाटोतिर बरालिएर नजाओ। 26 त्यसले धेरै जनालाई नष्ट पारेकी छे, त्यसको शिकार बन्नेहरू असंख्य छन्। 27 त्यसको घर पाताल जाने बाटो हो, जसले मृत्युका कोठाहरूतिर पुर्याउँछ। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society