Online Bible

- Reklamy -

हितोपदेश 31 - नेपाली नयाँ संशोधित संस्करण


राजा लमूएलका नीति-वचन

1 राजा लमूएलका नीति-वचन, जो तिनकी आमाले सिकाएकी— एक ईश्‍वरवाणी:

2 हे मेरो छोरो, हे मेरो गर्भको छोरो, हे मेरो भाकलको छोरा,

3 तेरो बल स्‍त्रीलाई दिएर नसिद्धया, तेरो ताकत त्‍यस्‍तालाई नदे जसले राजाहरूको पतन गराउँछन्‌।

4 “यो राजाहरूका निम्‍ति होइन, हे लमूएल— राजाहरूले दाखमद्य पिउनु हुन्‍न, शासकहरूले मदिराको लालसा गर्नु हुन्‍न,

5 नत्रभने तिनीहरूले पिएर कानूनी आदेश के हो बिर्सनेछन्, र थिचोमिचोमा परेका सबैलाई तिनीहरूको अधिकारदेखि वञ्‍चित गराउँछन्‌।

6 तिनीहरूलाई मदिरा देऊ जो नष्‍ट भइरहेका छन्, दाखमद्य त्‍यस्‍ताहरूलाई देऊ, जसलाई विरह चलेको छ।

7 तिनीहरूले पिऊन्‌ र आफ्‍नो दरिद्रता भुलून्, र आफ्‍नो वेदना फेरि नसम्‍झून्‌।

8 “त्‍यस्‍ताहरूको पक्षमा बोल्, जो आफ्‍नो पक्षमा बोल्‍न सक्‍दैनन्, यस्‍ताहरूका अधिकारको निम्‍ति जो कङ्गाल छन्‌।

9 आवाज उठा र न्‍यायसँग फैसला गर्‌। गरीब र दीन-हीनको अधिकारको रक्षा गर्‌।”


समाप्‍ति: उच्‍च चरित्र भएकी पत्‍नी

10 उच्‍च चरित्र भएकी पत्‍नी कसले पाउन सक्‍छ? तिनी मानिकभन्‍दा पनि अति नै बढ़ी मूल्‍यकी हुन्‍छिन्‌।

11 तिनका पतिले तिनीमाथि पूरा भरोसा गर्छन्, र उनलाई कुनै असल कुराको अभाव हुँदैन।

12 तिनले आफ्‍नो जीवनकालभरि नै उनको भलो गर्छिन्, कुभलो होइन।

13 तिनले ऊन र सनपाट चुनेर आफ्‍ना हातहरूले उत्‍सुकतासाथ काम गर्छिन्‌।

14 व्‍यापारी जहाजहरूले जस्‍तै तिनले टाढ़ाबाट भोजन ल्‍याउँछिन्‌।

15 तिनी राती नै उठ्‌छिन्, आफ्‍नो परिवारको लागि भोजनको इन्‍तिजाम गर्छिन्, र आफ्‍नी दासी ठिटीहरूलाई आ-आफ्‍नो भाग दिन्‍छिन्‌।

16 खूबै सोच-विचार गरेर तिनले एउटा खेत किन्‍छिन्, र आफ्‍नो कमाइले तिनी दाखबारी लाउँछिन्‌।

17 तिनले आफ्‍नो काम फूर्तिसँग गर्छिन्, आफ्‍नो कामको लागि तिनका पाखुराहरू बलिया छन्‌।

18 तिनले आफ्‍नो कारोबार लाभदायक भएको देख्‍छिन्, र तिनको बत्ती राती निभ्‍दैन।

19 तिनले आफ्‍नो हातमा चर्खाको डन्‍डा लिन्‍छिन्, र आफ्‍नै औँलाले पिउरी पक्रन्‍छिन्‌।

20 तिनले गरीबहरूलाई आफ्‍नो मुट्ठी खोल्‍छिन्, र आफ्‍नो हात दीन-हीनहरूका लागि बढ़ाउँछिन्‌।

21 हिउँ पर्दा आफ्‍नो परिवारको निम्‍ति तिनी डराउँदिनन्, किनभने तिनीहरू सबैले सिन्‍दूरे रङ्गको वस्‍त्र पहिरेका हुन्‍छन्‌।

22 तिनले आफ्‍नो खाटको लागि ओढ्‌ने-ओछ्याउने बनाउँछिन्, तिनी मलमल र बैजनी कपड़ाले पहिरेकी हुन्‍छिन्‌।

23 तिनका पति सहरको मूल ढोकामा सम्‍मानित हुन्‍छन्, जहाँ उनी मुलुकका पाकाहरूसँग बसेका हुन्‍छन्‌।

24 तिनले सूती कपड़ाका वस्‍त्रहरू बनाउँछिन्‌ र ती बिक्री गर्छिन्, र व्‍यापारीहरूलाई पटुकाहरू उपलब्‍ध गर्छिन्‌।

25 तिनी सामर्थ्‍य र प्रतिष्‍ठाले सुशोभित हुन्‍छिन्, र आउने दिनहरूका बारेमा तिनी हाँस्‍न सक्‍छिन्‌।

26 तिनी बुद्धिसँग बोल्‍छिन्, र तिनको जिब्रोमा विश्‍वास योग्य उपदेश हुन्‍छ।

27 तिनी आफ्‍नो परिवारका कारोबारको रेखदेख गर्छिन्, र आलस्‍यको रोटी खाँदिनन्‌।

28 तिनका छोरा-छोरीहरू खड़ा भएर तिनलाई धन्‍य भन्‍छन्, तिनका पतिले पनि यसो भनेर तिनको प्रशंसा गर्छन्‌:

29 “धेरै स्‍त्रीहरूले उत्तम कुराहरू गर्छन्, तर तिनीहरू सबैलाई तिमीले जितेकी छ्यौ।”

30 सौन्‍दर्य भ्रमात्‍मक हुन्‍छ, र सुन्‍दरता उड़िजाने हुन्‍छ, तर परमेश्‍वरको भय मान्‍ने स्‍त्रीको नै प्रशंसा गरिनुपर्छ।

31 तिनले कमाएको इनाम तिनैलाई दिनू, र तिनका कामले सहरको मूल ढोकामा नै तिनलाई प्रशंसा ल्‍याऊन्‌।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy