Online Bible

- Reklamy -

हितोपदेश 27 - नेपाली नयाँ संशोधित संस्करण

1 भोलिको धाक नलगा, किनभने एकै दिनमा के आइपर्ला भन्‍ने तँलाई थाहा हुँदैन।

2 तेरै मुखले होइन अरूले तेरो प्रशंसा गरून्, तेरै ओठले होइन कोही अरूबाट होस्‌।

3 ढुङ्गा गह्रौँ हुन्‍छ र बालुवा वजनदार, तर मूर्खको उत्तेजना ती दुवैभन्‍दा अझ गह्रौँ हुन्‍छ।

4 क्रोध निर्दयी हुन्‍छ, र झोँकचाहिँ अत्‍यधिक, तर डाहको सामु को खड़ा हुनसक्‍छ?

5 खुल्‍ला हप्‍की गोप्‍य प्रेमभन्‍दा असल हो।

6 मित्रबाट पाएको चोट पत्‍यार गर्न सकिने हुन्‍छ, तर शत्रुका चुम्‍बन भने प्रचुर हुन्‍छन्‌।

7 टन्‍न अघाएको व्‍यक्तिलाई मह अमन हुन्‍छ, तर भोकाएकालाई तीतोसमेत मीठो लाग्‍छ।

8 आफ्‍नो गुँड़बाट भट्‌किएर निस्‍केको चराझैँ आफ्‍नो घरबाट भट्‌किएर निस्‍केको मानिस हुन्‍छ।

9 अत्तर र धूपले मनलाई हर्षित पार्छ, र मित्रबाट पाइने मिठास उनको साँचो सल्‍लाह हो।

10 आफ्‍नै मित्र र आफ्‍ना बुबाको मित्रलाई नत्‍याग्, र तँलाई विपत्ति आइपर्दा आफ्‍नो दाजुभाइको घरमा नजा, किनभने नजिकको छिमेकी टाढ़ाको दाजुभाइभन्‍दा बेस हो।

11 हे मेरो छोरा, बुद्धिमान्‌ बन्, र मेरो हृदयलाई आनन्‍दित तुल्‍या, तब मलाई हेलचेक्‍्रयाइँको व्‍यवहार गर्ने जोसुकैलाई पनि म जवाफ दिन सक्‍नेछु।

12 बुद्धिमान्‌ले खतरा आइरहेको देख्‍छ र कतै शरण लिन्‍छ, तर सोझोचाहिँ त्‍यतैतिर जान्‍छ र दु:ख भोग्‍छ।

13 अपरिचितको जमानी बस्‍नेको लुगा पनि खोस्, यदि त्‍यसले स्‍वेच्‍छाचारी स्‍त्रीको खातिर त्‍यसो गरेको भए, त्‍यो धरौटी राख्‌।

14 कसैले आफ्‍नो छिमेकीलाई एकाबिहानै चर्को स्‍वरले आशिष्‌ दिन्‍छ भने, त्‍यो ता श्राप पो बन्‍छ।

15 झगड़िया पत्‍नी वर्षाको दिनमा एकोहोरो तपतप चुहुने झरीजस्‍तै हो।

16 त्‍यसलाई वशमा राख्‍नु बतासलाई वशमा राख्‍नु बराबर हो, अथवा हातले तेल अँठ्याउनुजस्‍तै हो।

17 फलामले फलामलाई उध्‍याएजस्‍तै एउटाले अर्को मानिसलाई उध्‍याउँछ।

18 अञ्‍जीरको रूख रेखदेख गर्नेले त्‍यसको फल खानेछ, र आफ्‍ना मालिकको हेरचाह गर्ने व्‍यक्ति सम्‍मानित हुनेछ।

19 पानीमा अनुहार प्रतिबिम्‍बित भएझैँ मानिसको हृदयमा मानिस प्रतिबिम्‍बित हुन्‍छ।

20 मृत्‍यु र विनाश कहिल्‍यै तृप्‍त हुँदैन, न त मानिसका आँखा नै सन्‍तुष्‍ट हुन्‍छन्‌।

21 चाँदी पगाल्‍ने भाँड़ो र सुन खार्ने आरन हुन्‍छ, तर आफूले पाउने प्रशंसाबाट मानिस जाँचिएको हुन्‍छ।

22 मूर्खलाई खलमा हालेर पिँधे पनि, त्‍यसलाई जाँतोमा अन्‍न राखेर पिँधेझैँ गरे पनि, तैंले त्‍यसको मूर्खता त्‍यसबाट हटाउनेछैनस्‌।

23 तेरा भेड़ाहरूको अवस्‍था राम्ररी थाहा गर्, आफ्‍नो बगालप्रति सावधानीपूर्वक ध्‍यान दे,

24 किनभने धन-सम्‍पत्ति त सधैँभरि रहँदैन, र मुकुट पनि सबै पुस्‍ताका लागि सुरक्षित रहँदैन।

25 जब पराल हटाइन्‍छ र नयाँ पालुवा देखा पर्छ, र डाँड़ा-पाखाहरूबाट घाँस बटुलिन्‍छ,

26 तब भेड़ाहरूले तँलाई लुगा जुटाइदिन्‍छन्, र खेत किन्‍ने रकम बाख्राहरूबाट आउँछ।

27 बाख्रीको दूध तँ र तेरो परिवारलाई खान चाहेजति पुग्‍नेछ, र तेरा नोकर्नीहरूलाई पोषण हुनेछ।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy