हितोपदेश 26 - नेपाली नयाँ संशोधित संस्करण1 ग्रीष्म ऋतुमा हिउँ वा फसलको बेला झरी परेझैँ मूर्खलाई सम्मान दिनु सुहाउँदैन। 2 भुर्र उड्ने भँगेरो र हानिएर जाने गौँथलीझैँ विनाकारणको श्राप पनि लाग्दैन। 3 घोडाको लागि कोर्रा, गधाको लागि करेली, र मूर्खहरूका पिठिउँको लागि लट्ठी! 4 मूर्खलाई त्यसको मूर्खताअनुसारको जवाफ नदे, नत्रता तँ आफै पनि त्योजस्तै हुनेछस्। 5 मूर्खलाई त्यसको मूर्खताअनुसारको जवाफ दे, नत्रता त्यो आफ्नै नजरमा बुद्धिमान् हुनेछ। 6 आफ्नै खुट्टामा बन्चरो हानेझैँ अथवा हिंसा पिएझैँ मूर्खको हातमा समाचार पठाउनु हो। 7 लङ्गड़ो मानिसका झुण्डिएका लुला गोडाहरूझैँ मूर्खको मुखमा भएको हितोपदेश हुन्छ। 8 मूर्खलाई सम्मान दिनु घुयेँत्रोमा ढुङ्गा बाँध्नुझैँ हो। 9 मतवालाको हातमा काँढ़े बिरुवा भएझैँ मूर्खको मुखमा भएको हितोपदेश हो। 10 मूर्ख वा कुनै बटुवालाई ज्यालामा काम लगाउनू धनुर्धारीले जथाभाबी काँड़ हानेर चोटैचोट पार्नुझैँ हो। 11 जसरी कुकुर आफ्नै बान्ता खान फर्किन्छ, त्यसरी नै मूर्खले आफ्नो मूर्खता दोहोर्याउँछ। 12 आफ्नै नजरमा आफूलाई बुद्धिमान् ठान्ने मानिस देखेको छस्? त्यसको भन्दा त बरु मूर्खको लागि धेरै आशा हुन्छ। 13 अल्छेले भन्छ, “सड़कमा सिंह छ, डरलाग्दो सिंह गल्लीहरूमा डुलिरहेको छ!” 14 ढोका आफ्नो कब्जामा यताउता फर्केझैँ अल्छे आफ्नो खाटमा पल्टन्छ। 15 अल्छेले आफ्नो हात थालमा गाड्छ, र आफ्नो मुखसम्म पुर्याउन पनि त्यसलाई अल्छी लाग्छ। 16 ढङ्ग मिलाएर जवाफ दिने सात जना मानिसभन्दा पनि अल्छे आफ्नै नजरमा बुद्धिमान् बन्छ। 17 आफूसँग असम्बन्धित झगड़ामा हस्तक्षेप गर्ने बटुवा, र कुकुरको कान पक्रने व्यक्ति एउटै हो। 18 त्यो अगुल्टा वा घातक काँड़ हान्ने बौलाहाजस्तो हो, 19 जसले आफ्नो छिमेकीलाई छल गरिसकेपछि भन्छ, “मैले त ख्यालख्याल मात्रै गरेको थिएँ!” 20 दाउराविना आगो निभ्छ, कुरौटेविना खिचोला शान्त हुन्छ। 21 भुङ्ग्राको लागि कोइला र आगोको लागि दाउराझैँ कलह सल्काउनका निम्ति झगड़िया मानिस हुन्छ। 22 कुरौटेका शब्दहरू मीठो गाँसजस्तै हुन्छन्, ती मानिसको भित्री भागसम्मै पुग्छन्। 23 माटोको भाँड़ोमा चाँदीको जलप लाएझैँ दुष्ट हृदयका जोशिला ओठ हुन्छन्। 24 द्वेषपूर्ण मानिसले आफूलाई त्यसको कुराले ढाकछोप गर्छ, तर आफ्नो हृदयमा भने त्यसले छलछामलाई आश्रय दिन्छ। 25 त्यसको बोली मनोहर भए पनि त्यसमाथि विश्वास नगर्, किनभने त्यसको हृदय सात वटा द्वेषले भरिएको हुन्छ। 26 त्यसले आफ्नो द्वेष छलसित लुकाएको हुन सक्छ, तर त्यसको दुष्टता समुदायमा खुल्ला हुनेछ। 27 मानिसले खाड़ल खन्यो भने त्यसभित्र त्यो आफै जाकिनेछ। मानिसले ढुङ्गा गुड़ायो भने त्यो गुड़ेर आफैतिर फर्कनेछ। 28 झूटो जिब्रोले त्यसबाट पीडामा परेकाहरूलाई घृणा गर्छ, र चापलूसी घस्ने मुखले सर्वनाश गराउँछ। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society