Online Bible

- Reklamy -

हितोपदेश 25 - नेपाली नयाँ संशोधित संस्करण


सोलोमनका अरू हितोपदेश

1 सोलोमनका यी हितोपदेश यहूदाका राजा हिजकियाका मानिसहरूले उतारेका हुन्‌:

2 कुनै कुरा गोप्‍य राख्‍नुमा परमेश्‍वरको महिमा हुन्‍छ, कुनै कुराको खोजी निकाल्‍नुमा राजाहरूको महिमा हुन्‍छ।

3 जसरी स्‍वर्गहरू उच्‍च छन्‌ र पृथ्‍वी गहिरो छ, त्‍यसरी नै राजाहरूका हृदयको खानतलासी गर्न नसकिने हुन्‍छ।

4 चाँदीको कसर निकालिदे, अनि मात्र कलाकारको निम्‍ति काम लाग्‍ने वस्‍तु निस्‍कन्‍छ।

5 राजाको उपस्‍थितिबाट दुष्‍टहरू निकालिदे, अनि मात्र तिनको सिंहासन धार्मिकताले स्‍थापित हुनेछ।

6 राजाको उपस्‍थितिमा आफैलाई नउचाल्, र महापुरुषहरूका माझमा बस्‍ने हक नखोज्‌।

7 ठूलाबड़ाका अगि तँलाई तिनले होच्‍याउनुभन्‍दा, तिनी आफैले तँलाई यसो भनेको बेस हुनेछ, “यहाँ माथि आऊ।”

8 तेरो आँखाले जे देखेको छ, त्‍यो कुरा हत्तपत्त अदालतमा नलैजा, किनभने अन्‍त्‍यमा तैंले के गर्नेछस्, यदि तेरो छिमेकीले तँलाई लाजमा पार्‍यो भने?

9 छिमेकीसँग आफ्‍नो मुद्दा-मामिला तैंले बहस गर्दा, अर्का मानिसको आस्‍थामा विश्‍वासघात नगर्,

10 नत्रता त्‍यो सुन्‍नेले तँलाई लाजमा पार्ला, र तेरो खराब नाम कहिल्‍यै मेटिनेछैन।

11 ठीकसित बोलिएको वचन चाँदीमा जड़ान गरिएको सुनका स्‍याउहरूजस्‍तै हुन्‍छन्‌।

12 सुनको कुण्‍डल वा निखुर सुनको गहनाझैँ बुद्धिमान्‌ मानिसको हप्‍की सुन्‍ने कानको लागि हुन्‍छ।

13 कटनीको बेला हिउँको शीतलताझैँ विश्‍वास योग्य‍ दूत त्‍यसलाई पठाउनेहरूका निम्‍ति हुन्‍छ। आफ्‍ना मालिकको आत्‍मालाई त्‍यसले ताजा गराउँछ।

14 झरीविनाको बादल र बतासझैँ आफूले नदिएको दानमा धाक लाउने मानिस हुन्‍छ।

15 धैर्य गर्नाले शासकलाई मनाउन सकिन्‍छ, र विनीत जिब्रोले हड्डी गलाउन सक्‍छ।

16 मह भेट्टाइस्‌ भने चाहिँदो मात्र खा, यो धेरै खाइस्‌ भने तैंले बान्‍ता गर्नेछस्‌।

17 आफ्‍नो छिमेकीको घरमा कहिलेकहीँ मात्र जाने गर्, धेरै जाने गरिस्‌ भने त्‍यसले तँलाई घृणा गर्नेछ।

18 लाठो वा तरवार वा तीखो काँड़झैँ आफ्‍नो छिमेकीको विरुद्ध झूटो गवाही दिने मानिस हो।

19 दु:खेको दाँत अथवा लङ्गड़ो खुट्टा भएझैँ सङ्कष्‍टको बेला अविश्‍वसयोग्य व्‍यक्तिमा भर पर्नु हो।

20 जाडो दिनमा ओढ्‌ने खोसेर लगेझैँ वा सोडामा सिर्का खन्‍याएझैँ, दु:खित हृदय भएकोलाई गीत गाइदिने मानिस हुन्छ।

21 यदि तेरो शत्रु भोकाएको छ भने, त्‍यसलाई खान भोजन दे, यदि त्‍यो तिर्खाएको छ भने, त्‍यसलाई पिउन पानी दे।

22 यसो गर्नाले तैंले त्‍यसको टाउकोमा जलिरहेको भुङ्‌ग्रो खन्‍याउनेछस्, र परमप्रभुले तँलाई इनाम दिनुहुनेछ।

23 उत्तरीय बतासले वृष्‍टि ल्‍याएझैँ धूर्त जिब्रोले क्रुद्ध अनुहार ल्‍याउँछ।

24 झगड़िया पत्‍नीसँग एउटै घरमा बस्‍नुभन्‍दा त कौसीको एक कुनामा बस्‍नु बेस।

25 थकित प्राणको लागि चिसो पानीझैँ टाढ़ा ठाउँबाट आएको शुभ समाचार हो।

26 दुष्‍टको कुरामा लाग्‍ने धर्मी मानिस हिले जरुवा-पानी वा दूषित कूवाझैँ हो।

27 धेरै मह खानु राम्रो हुँदैन, न त आफ्‍नै मान खोज्‍नु कसैलाई आदरणीय हुन्‍छ।

28 पर्खालहरू भत्‍किएको नगरझैँ आत्‍मसंयम नभएको मानिस हो।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy