Online Bible

- Reklamy -

हितोपदेश 2 - नेपाली नयाँ संशोधित संस्करण


बुद्धिबाट प्राप्‍त हुने नैतिक लाभहरू

1 हे मेरो छोरा, यदि तैंले मेरा वचनहरू ग्रहण गरिस्, र मेरा आज्ञाहरू तेरो मनभित्र राखिस्‌ भने,

2 बुद्धिका कुराहरू ध्यान दिइस्‌ र तेरो हृदयलाई समझशक्तितिर लगाइस्‌ भने,

3 अन्‍तर्दृष्‍टिको लागि पुकारा गरिस्, र समझशक्ति पाउनलाई चर्को सोरले पुकारिस्‌ भने,

4 यदि तैंले चाँदीझैँ त्‍यसलाई खोजिस्, र गाड़धनझैँ त्‍यो खनिस्‌ भने,

5 तैंले परमप्रभुको भय बुझ्‍नेछस्, र परमेश्‍वरको ज्ञान प्राप्‍त गर्नेछस्‌।

6 किनभने परमप्रभुले बुद्धि दिनुहुन्‍छ, र उहाँको मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्‍कन्‍छन्‌।

7 उहाँले ईमानदारको लागि आफ्‍नो भण्‍डारमा विजय साँचेर राख्‍नुभएको छ, जसको चाल निर्दोष छ तिनीहरूका लागि उहाँ ढाल हुनुहुन्‍छ,

8 किनभने उहाँले न्‍यायको मार्ग रक्षा गर्नुहुन्‍छ, र आफ्‍ना विश्‍वासयोग्‍य भक्तजनहरूको बाटो सुरक्षित राख्‍नुहुन्‍छ।

9 तब धार्मिकता न्‍यायसङ्गत र उचित के हो— साथै हरेक असल मार्ग के हो तैंले बुझ्‍नेछस्‌।

10 किनभने बुद्धिले तेरो हृदयमा प्रवेश गर्नेछ, र ज्ञानचाहिँ तेरो प्राणको लागि आनन्‍ददायक हुनेछ।

11 विवेकले तँमाथि हेरचाह गर्नेछ, समझशक्तिले तेरो रक्षा गर्नेछ।

12 बुद्धिले तँलाई दुष्‍ट चालबाट, र छली कुरा गर्ने मानिसहरूबाट जोगाउनेछ।

13 त्‍यस्‍ताहरू ईमानदारीको चाल त्‍यागेर अन्‍धकारमा हिँड्‌डुल गर्छन्,

14 तिनीहरू खराब काम गर्नमा प्रसन्‍न हुन्‍छन्, र दुष्‍टको बदमाशीमा रमाउँछन्,

15 जसका बाटाहरू बाङ्गोटिङ्गो, र जसका आफ्‍नै चालहरू कुटिल छन्‌।

16 बुद्धिले तँलाई व्‍यभिचारिणी, र अनैतिक स्‍त्रीका लोभ्‍याउने कुराहरूबाट जोगाउनेछ,

17 जसले आफ्‍नो यौवनको पतिलाई त्‍यागेकी छे, र परमेश्‍वरको सामु आफूले बाँधेको करारको बेवास्‍ता गरेकी छे।

18 त्‍यसको घरभित्र पस्‍नेलाई मृत्‍युले ओह्रालो लैजान्‍छ, र त्‍यसको बाटोमा लाग्‍नेहरू मृतकहरूको देशमा पुग्‍छन्‌।

19 त्‍यस स्‍त्रीकहाँ जानेहरू कोही पनि फर्केर आउनेछैन, न त त्‍यस्‍ताहरूले जीवनको मार्ग नै भेट्टाउनेछन्‌।

20 यसैकारण भला मानिसहरूको अनुसरण गर्, र धर्मी मानिसको चालमा लागिबस्‌।

21 किनभने धर्मीहरू देशमा वास गर्नेछन्, र निर्दोष मानिसहरू त्‍यहाँ रहनेछन्‌।

22 तर दुष्‍टहरू देशबाट जरैसमेत उखेलिनेछन्, र विश्‍वासघातीहरू झारझैँ फ्‍याँकिनेछन्‌।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy