Online Bible

- Reklamy -

हितोपदेश 14 - नेपाली नयाँ संशोधित संस्करण

1 बुद्धिमान्‌ स्‍त्रीले आफ्‍नो घर निर्माण गर्छे, तर निर्बुद्धि स्‍त्रीले आफ्‍नै हातले आफ्‍नो घर भत्‍काउँछे।

2 ईमानसँग हिँड्‌नेले परमप्रभुको भय मान्‍छ, तर कुटिल मार्गमा हिँड्‌नेले उहाँलाई तुच्‍छ ठान्‍छ।

3 मूर्खको बोलीले आफ्‍नै पीठमाथि लाठो ल्‍याउँछ, तर बुद्धिमान्‌का ओठले त्‍यसको सुरक्षा गर्छन्‌।

4 जहाँ गोरुहरू छैनन्, त्‍यहाँ भकारी खाली रहन्‍छ, तर गोरुको बलले प्रशस्‍त फसल कटनी हुन्‍छ।

5 साँचो साक्षीले छल गर्दैन, तर झूटो साक्षीले झूटा कुराहरूको ओइरो लाउँछ।

6 खिल्‍ली उड़ाउने व्‍यक्तिले बुद्धिको खोजी गर्छ तर पाउँदैन, तर विवेकशील व्‍यक्तिलाई ज्ञान सजिलैसित आउँछ।

7 मूर्ख मानिसदेखि टाढ़ै बस्, किनभने त्‍यसका ओठमा ज्ञानको कुरो पाइँदैन।

8 समझदार मानिसको बुद्धिले त्‍यसलाई सही बाटो दिन्‍छ, तर मूर्खहरूको मूर्खताचाहिँ धोका हो।

9 पापको क्षतिपूर्ति गर्ने कुरामा मूर्खले खिल्‍ली उड़ाउँछ, तर ईमानसँग चल्‍नेहरूका माझमा सद्‌भाव पाइन्‍छ।

10 मनको तीतोपन मनले नै जान्‍दछ, र त्‍यसको आनन्‍द अरू कसैले भोग गर्न सक्‍दैन।

11 दुष्‍टको घर भत्‍काइनेछ, तर ईमानदारको पालमा फलिफाप हुनेछ।

12 कुनै बाटो मानिसको नजरमा ठीक देखिएला, तर अन्‍त्‍यमा त्‍यसले मृत्‍युमा पुर्‍याउँछ।

13 मुखमा हाँसो भए पनि हृदयमा वेदना हुन सक्‍छ, र हर्षको अन्‍तचाहिँ शोकमा हुन सक्‍छ।

14 बेईमानहरूले आफ्‍नो चालको फल पूरै भोग्‍नुपर्छ, र भला मानिसलाई आफ्‍नो कामको प्रतिफल दिइनेछ।

15 बेवकूफ मानिसले जुनसुकै कुरा पत्‍याउँछ, तर समझदार मानिसले आफ्‍ना पाइलाहरू सतर्कसाथ चाल्‍छ।

16 बुद्धिमान्‌ मानिसले परमप्रभुको भय राख्‍छ र खराबीदेखि टाढ़ै रहन्‍छ, तर मूर्खचाहिँ गरम मिजासको र असावधानी हुन्‍छ।

17 रिसाहा मानिसले मूर्ख कामहरू गर्छ, र धूर्त मानिस घृणित हुन्‍छ।

18 अज्ञानीले मूर्खता कमाउँछ, तर समझदारहरूले ज्ञानको मुकुट लगाउँछन्‌।

19 खराब मानिसहरू असल मानिसहरूका सामु र दुष्‍टहरू धर्मीहरूको ढोका अघि झुक्‍नुपर्छ।

20 आफ्‍नै छिमेकीहरूबाट समेत गरीबहरू त्‍यागिन्‍छन्, तर धनीका त धेरै मित्रहरू हुन्‍छन्‌।

21 आफ्‍नो छिमेकीलाई हेला गर्नेले पाप गर्छ, तर त्‍यो मानिस धन्‍य हो, जसले दरिद्रलाई दया गर्छ।

22 के खराब योजना रच्‍नेहरू बरालिँदैनन्‌ र? तर असल योजना बनाउनेहरूले प्रेम र ईमानदारी प्राप्‍त गर्छन्‌।

23 सबै कठोर परिश्रमले लाभ हुन्‍छ, तर कुरै मात्र गर्नेचाहिँ दरिद्रतामा पुग्‍छ।

24 बुद्धिमान्‌को सम्‍पत्ति तिनीहरूको मुकुट हो, तर मूर्खहरूको मूर्खताले मूर्खता नै उत्‍पन्‍न गराउँछ।

25 साँचो साक्षीले जीवन बचाउँछ, तर झूटो साक्षी छली हुन्‍छ।

26 जसले परमप्रभुको भय मान्‍छ, त्‍यसको सुरक्षित किल्‍ला हुन्‍छ, र त्‍यसका छोराछोरीका निम्‍ति यो एक शरणस्‍थान हुनेछ।

27 परमप्रभुको भय जीवनको मूल हो, जसद्वारा मानिस मृत्‍युको पासोहरूबाट उम्‍कन्‍छ।

28 प्रजाको ठूलो सङ्‌ख्‍याले राजा गौरवान्‍वित हुन्‍छ, तर प्रजाविनाको शासक नष्‍ट हुन्‍छ।

29 धैर्यवान्‌ मानिसको समझशक्ति अपार हुन्‍छ, तर गरम मिजासको मानिसले आफ्‍नो मूर्खता प्रदर्शन गर्छ।

30 शान्‍त हृदयले शरीरलाई जीवन दिन्‍छ, तर डाहले हड्डी मकाउँछ।

31 गरीबलाई थिचोमिचो गर्नेले तिनीहरूका सृष्‍टिकर्ताप्रति अवहेलना देखाउँछ, तर दरिद्रलाई दया देखाउनेले परमेश्‍वरको आदर गरेको हुन्‍छ।

32 आपत्ति आइपर्दा दुष्‍टहरूको पतन हुन्‍छ, तर धर्मीले चाहिँ मृत्‍युमा समेत आश्रय पाउँछ।

33 विवेकीको हृदयमा बुद्धिले वास गर्छ, मूर्खहरूका माझमा समेत बुद्धिले आफूलाई प्रकट गराउँछ।

34 धार्मिकताले देशलाई उचाल्‍छ, तर पाप गर्नुचाहिँ कुनै पनि जातिको लागि बेइज्‍जती हो।

35 राजा बुद्धिमान्‌ दाससँग प्रसन्‍न रहन्‍छ, तर लाजमर्दो दासले तिनको क्रोध बेहोर्नुपर्छ।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy