Online Bible

- Reklamy -

हितोपदेश 13 - नेपाली नयाँ संशोधित संस्करण

1 बुद्धिमान्‌ छोराले आफ्‍ना बुबाको अर्तीमा ध्‍यान दिन्‍छ, तर खिल्‍ली उड़ाउनेले हप्‍की सुन्‍दैन।

2 मानिस आफ्‍ना ओठको फलद्वारा नै असल थोकहरूको भोग गर्दछ। तर बेईमानले हिंसाको लालसा गर्दछ।

3 आफ्‍ना ओठको रखवाली गर्नेले आफ्‍नै जीवन सुरक्षित पार्छ। तर असावधान बोलीले सर्वनाश ल्‍याउनेछ।

4 अल्‍छेले लालसा गर्छ र त्‍यसलाई केही पनि मिल्‍दैन, तर लगनशीलका इच्‍छाहरू पर्याप्‍त रूपले पूरा गरिन्‍छ।

5 धर्मीले झूटलाई घृणा गर्दछ, तर दुष्‍टले लाज र बेइज्‍जत ल्‍याउँछ।

6 ईमानदार मानिसलाई धार्मिकताले सुरक्षा गर्छ, तर दुष्‍टताले पापीको संहार गर्छ।

7 कोही मानिस धनी भइटोपल्‍छ, तापनि त्‍यससँग केही हुँदैन, कोहीचाहिँ कङ्गाली भइटोपल्‍छ, तापनि त्‍यससँग प्रशस्‍तै सम्‍पत्ति हुन्‍छ।

8 सम्‍पत्तिले मानिसको जीवन शत्रुबाट छुटाउन सक्‍ला, तर गरीब मानिसले धम्‍की सुन्‍नुपर्दैन।

9 धर्मी मानिसको बत्ती चहकिलो भएर बल्‍छ, तर दुष्‍टको बत्ती निभाइन्‍छ।

10 घमण्‍डले केवल झगड़ा पोस्‍दछ, तर सरसल्‍लाह लिनेहरूमा बुद्धि पाइन्‍छ।

11 बेईमानीसँग कमाइएको धन घट्‌दैजान्‍छ, तर अलि-अलि गर्दै जम्‍मा गरेको धन बढ्‌दैजान्‍छ।

12 आशा विलम्‍ब हुँदा मन मर्छ, तर इच्‍छा पूरा हुनु जीवनको रूख हो।

13 अर्तीलाई तिरस्‍कार गर्नेले त्‍यसको मूल्‍य चुकाउनुपर्नेछ, तर आज्ञालाई आदर गर्नेले इनाम पाउनेछ।

14 बुद्धिमान्‌को शिक्षा जीवनको फुहारा हो, जसद्वारा मानिस मृत्‍युको पासोबाट उम्‍कन्‍छ।

15 असल समझदारीले निगाह प्राप्‍त गर्छ, तर बेईमानको मार्गचाहिँ कठिन हुन्‍छ।

16 प्रत्‍येक समझदार मानिस आफ्‍नो ज्ञानद्वारा काम गर्छ। तर मूर्खले आफ्‍नो मूर्खताको तमाशा देखाउँछ।

17 दुष्‍ट सन्‍देशवाहक दु:खमा पर्छ, तर विश्‍वसनीय दूतले चङ्गाइ लिएर आउँछ।

18 अनुशासनलाई अवहेलना गर्नेमाथि दरिद्रता र लाज आइपर्छ। तर सुधार गर्दा ध्‍यान दिने व्‍यक्ति सम्‍मानित हुन्‍छ।

19 आफ्‍नो चाहना पूरा हुँदा प्राणलाई तृप्‍ति मिल्‍दछ, तर मूर्खहरू खराबीबाट फर्कन मन पराउँदैनन्‌।

20 बुद्धिमान्‌सँग हिँड्‌ने बुद्धिमान्‌ नै बन्‍छ, तर मूर्खहरूको सङ्गत गर्नेले नोक्‍सानी भोग्‍छ।

21 पापीहरूलाई दुर्भाग्‍यले लखेट्‌छ, तर धर्मीको इनाम नै समुन्‍नति हो।

22 असल मानिसले आफ्‍ना नाति-नातिनाहरूका निम्‍ति पैतृक-सम्‍पत्ति छोडिराख्‍छ, तर पापीहरूको धन धर्मीहरूका लागि थुपारिन्‍छ।

23 गरीब मानिसको खेतबारीले प्रशस्‍तै अन्‍न उब्‍जाउला, तर अन्‍यायले त्‍यो खोसेर लैजान्‍छ।

24 छड़ी नचलाउने बुबाले आफ्‍नो छोरालाई घृणा गर्छ, तर त्‍यसलाई प्रेम गर्ने बुबाले होशियारीसाथ त्‍यसलाई अनुशासन दिन्छ।

25 धर्मीले पेटभरि मस्‍तीसँग खान्‍छ, तर दुष्‍टको पेट भोकभोकै हुन्‍छ।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy