हितोपदेश 12 - नेपाली नयाँ संशोधित संस्करण1 ताड़नालाई प्रेम गर्नेले ज्ञानलाई प्रेम गर्छ, तर सुधारलाई घृणा गर्ने व्यक्ति अबूझ हो। 2 असल मानिसले परमप्रभुको निगाह प्राप्त गर्छ, तर धूर्तलाई चाहिँ परमप्रभुले दोषी ठहराउनुहुनेछ। 3 दुष्टताले मानिस स्थापित हुन सक्दैन, तर धर्मीको जरा भने उखेल्न सकिनेछैन। 4 चरित्रवान् पत्नी आफ्ना पतिको मुकुट हो, तर अपमान ल्याउने पत्नीचाहिँ तिनका हड्डी सड़ेको जस्तै हो। 5 धर्मीका योजनाहरू न्यायसङ्गत हुन्छन्, तर दुष्टका सल्लाहहरू छलपूर्ण हुन्छन्। 6 दुष्टको वचनले कसैको रगत बगाउन ढुकिरहन्छ, तर धर्मीको वचनले तिनीहरूलाई छुटकारा दिन्छ। 7 दुष्ट मानिसहरू फालिन्छन् र तिनीहरू रहनेछैनन्, तर धर्मीको घर दृढ़तासाथ खड़ा रहन्छ। 8 मानिसलाई त्यसको बुद्धिअनुसार प्रशंसा गरिन्छ, तर बाङ्गो-टेढ़ो मन भएको मानिस तुच्छ ठहरिन्छ। 9 आफू प्रतिष्ठित व्यक्ति भइटोपलेर आहार नै नहुनुभन्दा, आफू केही नभएर पनि आफ्नो एक जना दास हुनु बेस हो। 10 धर्मी मानिसले आफ्नो पशुको वास्ता गर्छ, तर दुष्टको सबैभन्दा दयालु काम पनि निर्दयी हुन्छ। 11 आफ्नो खेतबारी खनजोत गर्नेको प्रशस्त खानेकुरा हुन्छ, तर कल्पनाका पछि लाग्ने विनासमझको हुन्छ। 12 दुष्टले खराब मानिसहरूले लुटेको सामानको अभिलाषा गर्छ, तर धर्मीचाहिँ जरा गाड़ेर बस्छ। 13 खराब मानिस आफ्नै पापी कुराले पासोमा पर्छ, तर धर्मी मानिस सङ्कष्टबाट उम्कन्छ। 14 मानिस आफ्ना ओठको फलद्वारा नै असल थोकहरूले परिपूर्ण हुन्छ, आफ्नो हातका कामको इनाम त्यसले निश्चय नै पाउनेछ। 15 मूर्खको बाटो आफ्नो नजरमा ठीकै देखिन्छ, तर समझदार मानिसले अरूको सल्लाह सुन्छ। 16 मूर्खले आफ्नो रीस झट्टै पोखाउँछ, तर एक विवेकी मानिसले आफू अपमानित हुँदा, आँखा चिम्लिदिन्छ। 17 एक सत्यवादी साक्षीले ईमानदार गवाही दिन्छ, तर झूटो साक्षीले झूटो कुरा बोल्छ। 18 असावधान वचनले मानिसलाई तरवारले झैँ घोच्छ, तर बुद्धिमान्को बोलीले निको पार्छ। 19 सत्य बोल्ने ओठ सधैँ स्थिर रहन्छन्, तर झूट बोल्ने जिब्रो केही क्षण मात्रै टिक्छ। 20 खराब युक्ति रच्नेहरूको हृदय छली हुन्छ, तर शान्तिको बढौती गर्नेलाई रमाहट हुन्छ। 21 धर्मीमाथि हानि आइपर्दैन, तर दुष्टहरू दु:ख-कष्टले भरिएका हुन्छन्। 22 परमप्रभु झूटा ओठलाई घिनाउनुहुन्छ, तर उहाँ सत्यवादी मानिससँग प्रसन्न हुनुहुन्छ। 23 एक समझदार मानिसले आफ्नो ज्ञान आफूसँगै राख्छ, तर मूर्खको हृदयले आफ्नो मूर्खता झ्वाट्टै प्रकट गर्छ। 24 लगनशील हातले शासन गर्नेछ, तर आलस्यको अन्त्यचाहिँ कमारोपन हो। 25 चिन्तित हृदयले मानिसलाई कमजोर तुल्याउँछ, तर दयालु वचनले त्यसलाई हर्षित तुल्याउँछ। 26 धर्मी मानिस आफ्नो मित्रतामा सचेत रहन्छ, तर दुष्टको बाटोले तिनीहरूलाई बरालिदिन्छ। 27 अल्छे शिकारीले शिकार फेला पार्दैन, तर लगनशील मानिसले धन-सम्पत्ति पाउँछ। 28 धार्मिकताको मार्गमा जीवन हुन्छ, त्यस मार्गको सँगसँगै अमरत्व छ। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society