Online Bible

- Reklamy -

हितोपदेश 11 - नेपाली नयाँ संशोधित संस्करण

1 छलको तराजूलाई परमप्रभु घृणा गर्नुहुन्‍छ, तर ठीक तौलदेखि उहाँ प्रसन्‍न हुनुहुन्‍छ।

2 जब अहङ्कार आउँछ, तब अपमान पनि आइलाग्‍छ, तर नम्रताले बुद्धि ल्‍याउँछ।

3 ईमानदारी नै सोझाहरूको पथ-प्रदर्शक हो, तर विश्‍वासघातीहरू आफ्‍नै कपटले नष्‍ट हुन्‍छन्‌।

4 क्रोधको दिनमा धन-सम्‍पत्ति केही मोलको हुँदैन, तर धार्मिकताले मृत्‍युबाट छुटाउँछ।

5 निर्दोषहरूको धार्मिकताले तिनीहरूको बाटो सोझो हुन्‍छ, तर दुष्‍टहरूको आफ्‍नै दुष्‍टताले गर्दा तिनीहरू होच्‍याइन्‍छन्‌।

6 सोझाहरूको धार्मिकताले तिनीहरूलाई छुटाउँछ, तर अविश्‍वासीहरू खराब अभिलाषाहरूको कारण पासोमा पर्छन्‌।

7 जब दुष्‍ट मानिस मर्छ, त्‍यसको आशा पनि नष्‍ट हुन्‍छ, आफ्‍नो सामर्थ्‍यमा त्‍यसले इच्‍छा गरेका सबै कुराहरू निरर्थक हुन्‍छन्‌।

8 धर्मी मानिस सङ्कष्‍टबाट बचाइन्‍छ, अनि त्‍यसको साटो दुष्‍टमाथि नै त्‍यो आइपर्छ।

9 ईश्‍वरहीनको आफ्‍नै मुखले आफ्‍नो छिमेकीको बरबादी गर्छ, तर ज्ञानले धर्मीलाई छुटकारा मिल्‍छ।

10 जब धर्मीको उन्‍नति हुन्‍छ, तब सहरै आनन्‍दित हुन्‍छ। जब दुष्‍टको नाश हुन्‍छ, तब रमाहट हुन्‍छ।

11 धर्मात्‍माको आशीर्वादले सहरको उन्‍नति हुन्‍छ, तर दुष्‍टहरूको मुखले त्‍यसको भताभुङ्ग हुन्‍छ।

12 समझ नभएको मानिसले आफ्‍नो छिमेकीको खिल्‍ली उड़ाउँछ, तर समझदार मानिसले आफ्‍नो जिब्रोमा लगाम लगाउँछ।

13 कुरौटेले गोप्‍य भरोसामा आघात पुर्‍याउँछ, तर विश्‍वसनीय मानिसले कुरा गुप्‍तमै राख्‍छ।

14 पथप्रदर्शनको अभावले देशको पतन हुन्‍छ, तर धेरै सल्‍लाहकारहरूको कारण विजय निश्‍चित हुन्‍छ।

15 अरूहरूको जमानी बस्‍नेले निश्‍चय नै नोक्‍सानी भोग्‍नुपर्नेछ, तर अर्काको नासोमा हात हाल्‍न इन्‍कार गर्ने व्‍यक्ति सुरक्षित रहनेछ।

16 दयालु स्‍त्रीले आदर पाउँछिन्, तर निर्दयी मानिसले केवल सम्‍पत्ति कमाउँछ।

17 दयालु हुनाले मानिसको आफ्‍नै हित हुन्‍छ, तर निर्दयी मानिसले आफैमाथि सङ्कष्‍ट ल्‍याउँछ।

18 दुष्‍ट मानिसले ठगाइको ज्‍याला कमाउँछ, तर जसले धार्मिकता छर्छ, उसले निश्‍चित इनाम कटनी गर्छ।

19 साँच्‍चैको धार्मिक मानिसले जीवन पाउँछ, तर दुष्‍टताको पछि लाग्‍ने मानिस मृत्‍युमा पर्छ।

20 कुटिल हृदय भएको मानिसलाई परमप्रभु घृणा गर्नुहुन्‍छ, तर तिनीहरूसँग उहाँ प्रसन्‍न हुनुहुन्‍छ, जसका चालहरू निर्दोष छन्‌।

21 यो कुरा निश्‍चित छ: दुष्‍टहरू दण्‍डविना उम्‍कनेछैनन्, तर धर्मीहरूले छुटकारा पाउनेछन्‌।

22 सुँगुरको नाकमा सुनको नत्‍थ भएझैँ एक विवेकहीन सुन्‍दरी स्‍त्री पनि हो।

23 धर्मात्‍माका इच्‍छाको अन्‍त्‍य केवल असलै हुन्‍छ, तर दुष्‍टका आशाको अन्‍त केवल क्रोधमा हुन्‍छ।

24 कोही मानिसले उदार हातले दिन्‍छ र अझ बढ़ी पाउँछ, अर्कोले दिन सक्‍ने पनि दिँदैन, र दरिद्रतामा पर्छ।

25 उदार मानिसको फलिफाप हुन्‍छ, अरूलाई उत्‍साह दिने व्‍यक्तिले आफू पनि नयाँ उत्‍साह प्राप्‍त गर्नेछ।

26 अन्‍न लुकाएर भण्‍डार भर्नेलाई मानिसहरूले सराप्‍छन्, तर स्‍वेच्‍छाले बिक्री गर्ने व्‍यक्ति आशिष्‌ले भरपूर हुनेछ।

27 जसले भलाइको खोजी गर्छ, उसले सद्‌भाव पाउँछ, तर खराबीको खोजी गर्नेमाथि खराबी नै आइलाग्‍छ।

28 जसले आफ्‍नो सम्‍पत्तिमा भरोसा राख्‍छ, त्‍यसको पतन हुनेछ, तर धर्मीचाहिँ हरियो पातझैँ मौलाउनेछ।

29 आफ्‍नो सन्‍तानमाथि सङ्कष्‍ट ल्‍याउनेको भाग बतास मात्रै हुनेछ, र मूर्खचाहिँ बुद्धिमान्‌को सेवक हुनेछ।

30 धर्मात्‍माको फल जीवनको रूख हो, अनि जसले मानिसहरू उद्धारमा ल्‍याउँछ, त्‍यो बुद्धिमान्‌ हो।

31 यदि धर्मीहरूले पृथ्‍वीमा आफ्‍नो प्रतिफल पाउँछन्‌ भने, ईश्‍वरहीन र पापीहरूले झन्‌ कति बढ़ी पाउलान्‌?

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy