Online Bible

- Reklamy -

हितोपदेश 1 - नेपाली नयाँ संशोधित संस्करण


प्रस्‍तावना: उद्देश्‍य र विषय

1 दाऊदका छोरा इस्राएलका राजा सोलोमनका हितोपदेश:

2 जसद्वारा मानिसहरूले बुद्धि र अनुशासन प्राप्‍त गर्नेछन्, अन्‍तर्दृष्‍टिका कुराहरू बुझ्‍नेछन्,

3 एक अनुशासित र विवेकी जीवन जिउनेछन्,

4 सोझाहरू विवेकशील बन्‍नेछन्, जवानहरूले ज्ञान र बुद्धि प्राप्‍त गर्नेछन्‌।

5 बुद्धिमान्‌ले सुनून्‌ र तिनीहरूको ज्ञान बढ़ोस्, र विवेकशील व्‍यक्तिलाई अगुवाइ मिलोस्,

6 जसद्वारा हितोपदेश र दृष्‍टान्‍तहरू, बुद्धिमान्‌को आहान र रहस्‍यका कुराहरू तिनीहरूले बुझून्‌।

7 परमप्रभुको भय नै ज्ञानको सुरु हो, तर मूर्खले बुद्धि र अनुशासनलाई तुच्‍छ ठान्‍दछ।


बहकाउको विरुद्ध चेताउनी

8 हे मेरो छोरा, आफ्‍नो बुबाको आदेश सुन्‌ र आफ्‍नी आमाको शिक्षा नत्‍याग्‌।

9 ती तेरो शिरमा शोभाको मुकुट, र तेरो गलामा सम्‍मानको हार हुनेछ।

10 हे मेरो छोरा, यदि पापीहरूले तँलाई बहकाउन खोजे भने, तिनीहरूको बहकाउमा नलाग्‌।

11 तिनीहरू भन्‍लान्, “आऊ हामीसँग, कसैको रक्तपात गर्न ढुकिबसौं, कुनै निर्दोषलाई लुट्‌न ढुकिबसौं,

12 चिहानले निलेझैँ, र गहिरो भड्‌खालोमा परी त्‍यसको पीँधमा पुग्‍नेहरूलाई झैँ, हामी तिनीहरूलाई पूरै जिउँदै निलौं।

13 हामी सबै किसिमका बहुमूल्‍य थोकहरू लिनेछौं, र लूटका मालसामानले हाम्रा घर भर्नेछौं,

14 तिमी हामीसँगै साझेदार होऊ, र हामी लूटको थैलोबाट बाँड्‌नेछौं।”

15 हे मेरो छोरा, तिनीहरूसँग नजा, तिनीहरूको मार्गमा पाइलै नराख्,

16 किनकि तिनीहरूका पाइला पाप गर्न हतारिन्‍छन्, तिनीहरू रक्तपात गर्न आतुरी गर्छन्‌।

17 सबै पक्षीहरूका नजरको सामु जाल फैलाउनु कति व्‍यर्थ!

18 यी मानिसहरू आफ्‍नै रगतको लागि ढुकिरहन्‍छन्, तिनीहरू आफै जाकिन ढुकिरहन्‍छन्‌!

19 बेईमानीसित कमाउनपट्टि लाग्‍नेहरू सबैको अन्‍त्‍य यस किसिमले हुन्‍छ, यसरी धन आर्जन गर्नेको जीवन त्‍यसैले छिनेर लैजान्‍छ।


बुद्धिको तिरस्‍कार विरुद्ध चेताउनी

20 बुद्धि सड़कहरूमा चर्को सोरले कराउँछ, त्‍यसले आफ्‍नो आवाज बजारहरूमा उचाल्‍छ,

21 होहल्‍लाले भरिएका गल्‍लीहरूका पर्खालमाथिबाट त्‍यो चिच्‍च्‍याउँछ, सहरका मूल ढोकाहरूमा यसरी त्‍यसले भाषण गर्छ:

22 “हे निर्बुद्धि हो, कहिलेसम्‍म तिमीहरू आफ्‍नो बुद्धिहीन मार्गलाई प्रेम गरिरहनेछौ? कहिलेसम्‍म खिल्‍ली उड़ाउनेहरू खिल्‍ली उड़ाइरहनमा मग्‍न भइरहने र मूर्खहरूले ज्ञानलाई घृणा गर्दैरहने?

23 यदि मेरो हप्‍की तिमीहरूले ग्रहण गरेका भए, म आफ्‍नो हृदयका कुराहरू तिमीहरूसँग पोख्‍नेथिएँ, र मेरा विचारहरू तिमीहरूलाई थाहा गराउनेथिएँ।

24 तर मैले बोलाउँदा तिमीहरूले इन्‍कार गरेका हुनाले र मैले आफ्‍नो हात फैलाउँदा कसैले ध्‍यान नदिएको हुनाले,

25 मेरा सबै अर्तीलाई तिमीहरूले बेवास्‍ता गरेका हुनाले र मेरो हप्‍की ग्रहण नगरेका हुनाले,

26 तिमीहरूलाई आपत्ति आइपर्दा म हाँस्‍नेछु, विपत्तिले तिमीहरूलाई छोप्‍दा म खिल्‍ली उड़ाउनेछु—

27 जब आँधीबेहरीझैँ तिमीहरूलाई विपत्तिले ढाक्‍छ, जब भुमरीझैँ आपत्ति तिमीहरूमाथि मड़ारिएर आउँछ, जब सङ्कष्‍ट र दु:खले तिमीहरूलाई डुबाउँछन्‌।

28 “तब तिनीहरू मलाई पुकार्नेछन्, तर म जवाफ दिनेछैन, तिनीहरूले मेरो खोजी गर्नेछन्, तर मलाई भेट्टाउनेछैनन्‌।

29 तिनीहरूले ज्ञानलाई घृणा गरेका हुनाले, र परमप्रभुको भय मान्‍न नचाहेका हुनाले,

30 तिनीहरूले मेरो अर्ती ग्रहण नगरेका हुनाले, र मेरो हप्‍की तिरस्‍कार गरेका हुनाले,

31 तिनीहरूले आफ्‍नो चालचलनको फल भोग्‍नेछन्, र आफ्‍ना कपट योजनाको फलले आफै लादिनेछन्‌।

32 आफ्‍नै मनमानीपनले गर्दा निर्बुद्धिहरू मर्नेछन्, र मूर्खहरूको आफ्‍नै निश्‍चिन्‍तताले तिनीहरूमाथि नाश आइपर्नेछ।

33 तर मैले भनेको कुरा जस-जसले सुन्‍छन्‌ तिनीहरू सुरक्षामा जिउनेछन्, र हानि-नोक्‍सानीको डरैविना ढुक्‍क रहनेछन्‌।”

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy