ओबदिया 1 - नेपाली नयाँ संशोधित संस्करणओबदियाको दर्शन 1 परमप्रभु परमेश्वर एदोमको बारे यसो भन्नुहुन्छ— हामीले परमप्रभुबाट यो सन्देश सुनेका छौं: एक जना राजदूत जाति-जातिका बीचमा यसो भन्न पठाइएको थियो, “उठ् हामी त्यसको विरुद्ध लड़ाइँ गर्न जाऔं”— 2 “हेर्, म तँलाई जाति-जातिहरूका बीचमा छुद्र तुल्याउनेछु। तँ अति नै तुच्छ हुनेछस्। 3 तेरो हृदयको घमण्डले तँलाई धोका दिएको छ। तँ चट्टानका ध्वान्द्राहरू र अल्गा-अल्गा ठाउँमा बस्ने, ‘मलाई तल जमिनमा खसाल्न कसले सक्छ?’ भनी तँ आफ्नो मनमा भन्छस्। 4 तर गरुडहरूजस्तै तँ माथि उड़े पनि र ताराहरूका बीचमा तेरो गुँड़ बनाए तापनि त्यहाँबाट म तँलाई तल खसाल्नेछु” परमप्रभु घोषणा गर्नुहुन्छ। 5 “यदि चोरहरू तँकहाँ आए, यदि डाँकूहरू राती आए भने— तेरो कस्तो सर्वनाश हुनेछ— के तिनीहरूले आफूलाई चाहिने जति मात्र लुटेर लैजाँदैनन् र? यदि दाख टिप्नेहरू तँकहाँ आए भने, के तिनीहरूले अलि-अलि दाखहरू फाटफुट छोड्दैनन्? 6 तर एसावका धन-सम्पत्तिहरू कसरी लुटिनेछन्! त्यसका लुकाइएका धनहरूको कसरी अपहरण गरिनेछ! 7 तेरा सबै मित्रराष्ट्रहरूले तँलाई सिमानासम्म धपाइदिनेछन्। तेरा मित्रहरूले तँलाई धोका दिएर दमन गर्नेछन्। तेरो रोटी खानेहरूले नै तँलाई पासो थाप्नेछन्, तर यस कुराको तँलाई केही पत्तै हुनेछैन। 8 “त्यो दिन के म एदोमका बुद्धिमान् मानिसहरूलाई र एसावका डाँड़ामा भएका समझदार मानिसहरूलाई नष्ट पार्नेछैनँ र?” परमप्रभु भन्नुहुन्छ। 9 “हे तेमान, तेरा योद्धाहरू त्रासमा पर्नेछन्, र एसावका डाँड़ामा भएका हरेक मानिस मारकाटमा परेर मारिनेछ। 10 तेरो भाइ याकूबको विरुद्धमा गरेको उपद्रवको कारण तँलाई शर्मले ढाक्नेछ, र तँ सदाको निम्ति नष्ट हुनेछस्। 11 जुन दिन तँ टाढ़ै उभिइस्, जुन दिन परदेशीहरूले त्यसका धन-सम्पत्ति खोसेर लगे, र विदेशीहरूले त्यसका ढोकाहरूबाट भित्र पसेर यरूशलेमको निम्ति चिट्ठा हालेथे, तँ तिनीहरूजस्तै थिइस्। 12 तैंले तेरा भाइको दुर्भाग्यको दिनमा उसलाई हेला गर्नु हुँदैनथ्यो, न त यहूदाका सन्तानका सर्वनाशको दिनमा रमाउनु हुन्थ्यो, न त तिनीहरूका सङ्कष्टको दिनमा तैंले घमण्ड गर्नु हुन्थ्यो। 13 मेरो प्रजाका विपत्तिको दिनमा तँ तिनीहरूका ढोकाहरूबाट भित्र पस्नु हुँदैनथ्यो, न त तैंले तिनीहरूका विपत्तिको दिनमा हेला गर्नु हुन्थ्यो, न त तिनीहरूका विपत्तिको दिनमा तिनीहरूको धन-सम्पत्ति खोसेर लानु हुन्थ्यो। 14 त्यसका भागेर गएकाहरूलाई मार्न तँ दोबाटोमा पर्खिरहनु हुँदैनथ्यो, न त त्यसका दु:खको दिनमा त्यसका बाँचेकाहरूलाई तैंले पक्राइदिनु हुन्थ्यो। 15 “सबै जाति-जातिहरूका निम्ति परमप्रभुको दिन नजिकै आइपुगेको छ। तैंले जस्तो गरेको छस्, तँलाई पनि त्यस्तै गरिनेछ। तेरा कार्यहरू तेरो आफ्नै थाप्लोमा फर्केर आउनेछन्। 16 जसरी तैंले मेरो पवित्र डाँड़ामा पिइस्, त्यसरी नै सबै जाति-जातिहरूले पनि सधैँभरि पिउनेछन्। तिनीहरूले पिइरहनेछन्, र कहिल्यै नभएजस्तै हुनेछन्। 17 तर सियोन पर्वतमा चाहिँ उद्धार हुनेछ, त्यो पवित्र रहनेछ। याकूबको घरानाले आफ्नै उत्तराधिकारको अधिकार गर्नेछ। 18 याकूबको घराना आगो हुनेछ र योसेफको घराना एक ज्वाला बन्नेछ, र एसावको घरानाचाहिँ ठोसा-मोसा हुनेछ। यिनीहरूले त्यसलाई आगोमा सल्काएर भस्म पार्नेछन्। एसावको घरानाबाट बाँचेको एउटै पनि हुनेछैन।” परमप्रभुले यसै भन्नुभएको छ। 19 नेगेवका मानिसहरूले एसावका डाँड़ाहरू अधिकार गर्नेछन्, र डाँड़ाका फेदीका मानिसहरूले पलिश्तीहरूको देश अधिकार गर्नेछन्। तिनीहरूले एफ्राइम र सामरियाका खेतबारीहरू पनि अधिकार गर्नेछन्, र बेन्यामीनले चाहिँ गिलाद अधिकार गर्नेछ। 20 इस्राएलको यस समूहले, जो निर्वासनमा भएर कनानमा छन्, सारपतसम्मको देश अधिकार गर्नेछ। सपारादमा भएका यरूशलेमका निर्वासितहरूले नेगेवका नगरहरू अधिकार गर्नेछन्। 21 एसावका डाँड़ाहरूको राज्य गर्नलाई उद्धार गर्नेहरू सियोन पर्वतमा उक्लेर आउनेछन्, र राज्यचाहिँ परमप्रभुको हुनेछ। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society