गन्ती 9 - नेपाली नयाँ संशोधित संस्करणनिस्तार-चाड 1 इस्राएलीहरू मिश्रबाट निस्किआएका दोस्रो वर्षको पहिलो महिनामा सीनैको उजाड़-स्थानमा परमप्रभुले मोशासित यसो भनेर बोल्नुभयो: 2 “इस्राएलीहरूले तोकिएको समयमा निस्तार-चाड़ मानून्। 3 यसै महिनाको चौधौँ दिनमा साँझमा तोकिएको समयमा तिमीहरूले यो मान्नू। त्यसका सबै नियम र विधिबमोजिम तिमीहरूले मान्नू।” 4 तब तिनीहरूले निस्तार-चाड़ मान्नुपर्छ भनेर मोशाले इस्राएलीहरूलाई बताइदिए। 5 तिनीहरूले सीनैको उजाड़-स्थानमा पहिलो महिनाको चौधौँ दिनको साँझमा निस्तार-चाड़ माने। परमप्रभुले मोशालाई दिनुभएका सबै आज्ञाबमोजिम इस्राएलीहरूले गरे। 6 तर मान्छेको लाश छोएर अशुद्ध भएका कतिपय मानिसहरू थिए, जसले त्यस दिन निस्तार-चाड़ मान्न सकेका थिएनन्। तिनीहरू त्यसै दिन मोशा र हारूनको सामुन्ने आए। 7 ती मानिसहरूले तिनलाई भने, “मान्छेको लाश छोएर हामी अशुद्ध भएका छौं। तोकिएको समयमा हामीले इस्राएलीहरूका साथसाथै परमप्रभुमा आफ्ना बलि किन चढ़ाउन नपाउने?” 8 मोशाले तिनीहरूलाई भने, “पर्ख, परमप्रभुले तिमीहरूका विषयमा के आज्ञा गर्नुहुन्छ, म थाहा पाऊँ।” 9 तब परमप्रभुले मोशालाई भन्नुभयो, 10 “इस्राएलीहरूलाई यसो भन्: ‘तिमीहरूका परिवारमा मुर्दा छोएर कोही अशुद्ध भएको छ, अथवा टाढ़ा-टाढ़ा परदेश गएको छ भने पनि त्यसले परमप्रभुको निस्तार-चाड़ मानोस्। 11 दोस्रो महिनाको चौधौँ दिन साँझमा तिनीहरूले यो मानून्। तिनीहरूले थुमा, अखमिरी रोटी र तीतो सागसमेत खाऊन्। 12 तिनीहरूले भोलिपल्ट बिहानसम्म त्यसबाट केही पनि बाँकी नराखून्। त्यसको कुनै हाड़ पनि नभाँचून्। निस्तार-चाड़को सबै नियमअनुसार तिनीहरूले मानून्। 13 तर जो मान्छे शुद्ध छ, र यात्रामा पनि छैन, त्यसले निस्तार-चाड़ मानेन भने त्यस्तो व्यक्ति आफ्ना मानिसहरूबाट बहिष्कार गरिओस्, किनभने त्यसले तोकिएको समयमा परमप्रभुको निम्ति आफ्नो बलि चढ़ाएन। त्यस मानिसले आफ्नो पापको दण्ड भोगोस्। 14 “‘यदि तिमीहरूका बीचमा कुनै विदेशीले प्रवास गरेको छ, र त्यसले परमप्रभुको निम्ति निस्तार-चाड़ मान्न खोज्छ भने, त्यसले निस्तार-चाड़का नियम र विधिअनुसार त्यो मनाओस्। विदेशी र स्वदेशीको निम्ति तिमीहरूको एउटै नियम होस्’।” पवित्र वासस्थानमाथि भएको बादल 15 पवित्र वासस्थान, गवाही-पाटीको पाल खड़ा गरेको दिन बादलले त्यसलाई ढाक्यो। पवित्र वासस्थानमाथिको त्यो बादल साँझ परेदेखि बिहानसम्मै आगोको जस्तै रूप देखा पर्यो। 16 यो सधैँ यस्तै हुन्थ्यो— दिनमा बादलले ढाक्थ्यो, र राती आगोजस्तो देखा पर्थ्यो। 17 जब-जब पालमाथिबाट बादल हट्थ्यो, तब-तब इस्राएलीहरू प्रस्थान गर्थे, र जुन ठाउँमा बादल अड़िन्थ्यो, त्यहीँ नै इस्राएलीहरूले पाल टाँग्थे। 18 परमप्रभुको आज्ञामा इस्राएलीहरू प्रस्थान गर्थे, र परमप्रभुकै आज्ञामा तिनीहरूले पाल टाँग्थे। पवित्र वासस्थानमाथि बादल रहुञ्जेल तिनीहरू छाउनीमा नै वास बस्थे। 19 धेरै दिनसम्म बादल पवित्र वासस्थानमाथि रहिरह्यो भने, इस्राएलीहरू परमप्रभुको आज्ञा मानेर प्रस्थान गर्दैनथे। 20 कहिलेकहीँ पवित्र वासस्थानमाथि थोरै दिनसम्म मात्र बादल रहन्थ्यो। परमप्रभुको आज्ञाअनुसार तिनीहरू वास बस्थे, र परमप्रभुको आज्ञाअनुसार तिनीहरू प्रस्थान गर्थे। 21 अनि कहिलेकहीँ साँझदेखि बिहानसम्मै मात्र बादल रहन्थ्यो, र बिहान बादल हटेपछि तिनीहरू प्रस्थान गर्थे। दिन होस् वा रात होस्, बादल उठ्ने बित्तिकै तिनीहरू प्रस्थान गर्थे। 22 दुई दिन वा एक महिना अथवा एक वर्ष भए पनि पवित्र वासस्थानमाथि बादल रहुञ्जेल इस्राएलीहरू प्रस्थान गर्दैनथे, तर बादल हट्ने बित्तिकै तिनीहरू प्रस्थान गर्थे। 23 परमप्रभुको आज्ञामा तिनीहरूले पाल टाँग्थे, र परमप्रभुकै आज्ञामा तिनीहरू प्रस्थान गर्थे। परमप्रभुले मोशाद्वारा जस्तो आज्ञा गर्नुभयो, तिनीहरूले त्यही पालन गर्थे। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society