Online Bible

- Reklamy -

गन्‍ती 8 - नेपाली नयाँ संशोधित संस्करण


बत्ती बाल्ने रीति

1 परमप्रभुले मोशालाई भन्‍नुभयो,

2 “हारूनलाई भन्‌: ‘तैंले सात बत्तीहरू स्‍थापना गर्दा तिनले सामदानका अगिल्‍तिरको क्षेत्रलाई प्रकाश देऊन्’।”

3 अनि हारूनले त्‍यसै गरे। परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ सामदानको अगिल्‍तिर प्रकाश दिने गरी तिनले बत्ती बाले।

4 सामदान पिटेको सुनको थियो— त्‍यसको आधारदेखि त्‍यसका फूलहरूसम्‍म। परमप्रभुले मोशालाई नमूना देखाउनुभएबमोजिम त्‍यो सामदान बनाइयो।


लेवीहरूको शुद्धि र सेवा

5 परमप्रभुले मोशालाई भन्‍नुभयो,

6 “इस्राएलीहरूमध्‍ये लेवीहरूलाई लिएर तिनीहरूलाई विधिवत्‌ रूपमा शुद्ध पार्‌।

7 तिनीहरूलाई शुद्ध पार्नलाई तैंले यसो गर्‌: तिनीहरूमाथि शुद्धीकरणको पानी छर्किदे, र तिनीहरूले आफ्‍नो शरीरका जम्‍मै रौँ काटेर आ-आफ्‍ना लुगा धोई आफूलाई शुद्ध तुल्‍याऊन्‌।

8 तिनीहरूले एउटा बाछो र तेलसँग मुछेको मसिनो पीठोको अन्‍नबलि ल्‍याऊन्, र पापबलिको निम्‍ति चाहिँ तैंले अर्को एउटा बाछो ल्‍याउनू।

9 तैंले लेवीहरूलाई भेट हुने पालको सामुन्‍ने ल्‍याएर इस्राएलीहरूका सारा समुदायलाई भेला गर्।

10 तैंले लेवीहरूलाई परमप्रभुको सामु हाजिर गर्, र इस्राएलीहरूले आ-आफ्‍ना हात लेवीहरूमाथि राखून्‌।

11 परमप्रभुको सेवा गर्न लेवीहरू तयार होऊन्‌ भनेर इस्राएलीहरूबाट डोलाइने बलि स्‍वरूप लेवीहरूलाई परमप्रभुको सामु हारूनले चढ़ाओस्‌।

12 “अनि लेवीहरूले साँढ़ेहरूका शिरमा आ-आफ्‍ना हात राखून्‌। लेवीहरूका निम्‍ति प्रायश्‍चित गर्न एउटा साँढ़े पापबलि र अर्कोचाहिँ होमबलिको रूपमा तैंले परमप्रभुलाई चढ़ा।

13 तैंले लेवीहरूलाई हारून र त्‍यसका छोराहरूका सामुन्‍ने खड़ा गराएर परमप्रभुको निम्‍ति डोलाइने बलिको रूपमा तिनीहरूलाई अर्पण गर्‌।

14 यसरी तैंले लेवीहरूलाई अरू इस्राएलीहरूबाट अलग गर्, र लेवीहरू मेरा हुनेछन्‌।

15 “तैंले लेवीहरूलाई शुद्ध पारेर डोलाइने बलिको निम्‍ति तिनीहरूलाई अर्पण गरेपछि भेट हुने पालमा सेवा गर्न लेवीहरू भित्र जाऊन्‌।

16 इस्राएलीहरूमध्‍येबाट तिनीहरू बिलकुलै मलाई अर्पण गरिएका हुन्‌। गर्भको प्रथम फल, अर्थात्‌ इस्राएलीहरूका जेठा-जेठाको सट्टामा मैले तिनीहरूलाई नै लिएको छु।

17 इस्राएलमा, चाहे मानिस होस्, चाहे पशु होस्, पहिले जन्‍मेका सबै मेरै हुन्‌। मिश्रीहरूका सबै जेठा-जेठालाई मैले मारेको दिन यिनीहरूलाई मेरो निम्‍ति अलग गरें।

18 अनि इस्राएलीहरूका जेठा-जेठा जम्‍मैका सट्टामा मैले लेवीहरूलाई लिएको छु।

19 भेट हुने पालमा इस्राएलीहरूका निम्‍ति सेवा गर्न र इस्राएलीहरू पवित्रस्‍थानको नजिक आउँदा तिनीहरूमाथि कुनै विपत्ति नआओस्‌ भनी तिनीहरूको प्रायश्‍चित गर्नलाई मैले लेवीहरूलाई दानको रूपमा हारून र त्‍यसका छोराहरूलाई दिएको छु।”

20 लेवीहरूका विषयमा परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम मोशा, हारून र इस्राएलका जम्‍मै समुदायले तिनीहरूलाई त्‍यसै गरे।

21 लेवीहरूले आ-आफूलाई शुद्ध गरेर आफ्‍ना लुगा धोए। तब हारूनले तिनीहरूलाई डोलाइने बलिको रूपमा परमप्रभुको सामुन्‍ने अर्पण गरे, र तिनले तिनीहरूलाई शुद्ध पार्नलाई तिनीहरूका निम्‍ति प्रायश्‍चित गरे।

22 त्‍यसपछि भेट हुने पालमा हारून र तिनका छोराहरूको अधीनमा आ-आफ्‍नो काम गर्नलाई लेवीहरू भित्र गए। लेवीहरूका विषयमा परमप्रभुले आज्ञा गर्नुभएझैँ तिनीहरूले गरे।

23 परमप्रभुले मोशालाई भन्‍नुभयो,

24 “लेवीहरूका कामबारे नियम यही हो: पच्‍चीस वर्ष र त्‍यसभन्‍दा माथिकाहरू भेट हुने पालमा काम गर्नलाई प्रवेश गरून्‌।

25 तर पचास वर्ष पुगेपछि तिनीहरूले काम नगरून्, र कामबाट अवकाश पाऊन्, र फेरि काम नगरून्‌।

26 तर कामकाज कायम राख्‍नलाई आफ्‍ना दाजुभाइलाई भेट हुने पालमा सहायता गर्दैरहून्, तर कामचाहिँ नगरून्‌। लेवीहरूका कामको जिम्‍माको विषयमा तैंले यसै गर्नू।”

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy