Online Bible

- Reklamy -

गन्‍ती 36 - नेपाली नयाँ संशोधित संस्करण


उत्तराधिकारिणी सम्बन्धी विधिहरू

1 योसेफका पनाति, मनश्‍शेका नाति, माकीरका छोरा गिलादको वंशका मुखियाहरू‍ले मोशा र इस्राएली नायकहरूका सामुन्‍ने आएर भने,

2 “परमप्रभुले इस्राएलीहरूलाई चिट्ठा हालेर देश अधिकारमा दिन हजूरलाई आज्ञा गर्नुभएको थियो, अनि हाम्रा भाइ सलोफादको अधिकार तिनका छोरीहरूलाई दिनू भनी परमप्रभुबाट हजूरलाई आज्ञा भएको थियो।

3 अब यदि तिनीहरूले इस्राएलीहरूका अरू कुलका पुरुषहरूसित विवाह गरे भने, तिनीहरूको अधिकार पुरुषहरूको अधिकारमा थपिनेछ। यसरी हाम्रो पैतृक-सम्‍पत्ति हराएर जानेछ।

4 इस्राएलीहरूका पुनर्स्‍थापनाको वर्ष आउँदा ती स्‍त्रीहरूको पैतृक-सम्‍पत्ति पनि विवाह गरेर गएको कुलकै सम्‍पत्तिमा थपिनेछ। यसरी हाम्रा पुर्खाको कुलको पैतृक-सम्‍पत्ति हामी गुमाउनेछौं।”

5 तब परमप्रभुको आज्ञाअनुसार मोशाले इस्राएलीहरूलाई यसो भनेर आदेश दिए: “योसेफका छोराहरूको कुलले भनेको कुरा ठीकै हो।

6 सलोफादका छोरीहरूका विषयमा परमप्रभुले यो आज्ञा दिनुभएको छ: ‘आफ्‍नो बुबापट्टिका कुलका परिवारसँगको जससँग मन लाग्‍छ त्‍यससँग मात्र तिनीहरूले विवाह गरून्‌।

7 यसो गर्नाले इस्राएलीहरूको कुनै उत्तराधिकार एक कुलबाट अर्को कुलमा जान पाउनेछैन। हरेक इस्राएली आफ्‍नै पैतृक-सम्‍पत्तिभित्रै बसोस्‌।

8 इस्राएलीहरूको कुनै पनि कुलमा उत्तराधिकारको हिस्‍सा पाउने युवतीले त्‍यसकै बुबापट्टिको कुलमा विवाह गरोस्, र हरेक इस्राएलीले आफ्‍नै पैतृक-सम्‍पत्तिको हिस्‍सा पाओस्‌।

9 कुनै पनि पैतृकसम्‍पत्ति एउटा कुलबाट अर्को कुलमा नसारिओस्, तर हरेक इस्राएली आफ्‍नै पुर्खाका कुलको पैतृक-सम्‍पत्तिभित्रै बसोस्‌।”

10 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ सलोफादका छोरीहरूले गरे।

11 सलोफादका छोरीहरू महला, तिर्सा, होग्‍ला, मिल्‍का र नोआहले आफ्‍ना बुबाका दाजुभाइका छोराहरूसित विवाह गरे।

12 तिनीहरूको विवाह योसेफका छोरा मनश्‍शेका सन्‍तानका वंशहरूमा नै भए। यसरी तिनीहरूको पैतृक-सम्‍पत्ति तिनकै पुर्खाहरूका कुलभित्रै रह्यो।

13 यरीहोदेखि पारि यर्दन नदीको किनारनेर मोआबको मैदानमा परमप्रभुले मोशाद्वारा इस्राएलीहरूलाई दिनुभएका आज्ञा र विधिहरू यी नै हुन्‌।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy