गन्ती 34 - नेपाली नयाँ संशोधित संस्करणकनान देशका सिमानाहरू 1 परमप्रभुले मोशालाई भन्नुभयो, 2 “इस्राएलीहरूलाई भन्, ‘जब तिमीहरू कनान देश प्रवेश गर्छौ, तिमीहरूलाई सम्पत्तिको रूपमा दिएको भूमिको सिमाना यस प्रकार हुनेछ: 3 “‘तिमीहरूको दक्षिण प्रान्तमा एदोमनेरका सीनको उजाड़-स्थानको केही भाग होस्। तिमीहरूको दक्षिण सिमाना पूर्वतिर खारा समुद्रको टुङ्गोदेखि लागेर 4 अक्रब्बीमको उकालोको दक्षिणतिर निस्केर जीनसम्म र कादेश-बर्नेको दक्षिणतिर पुगोस्। त्यहाँबाट हसर-अद्दर भएर अज्मोनसम्म पुगोस्। 5 तब सिमाना अज्मोनबाट घुमेर मिश्रका खोलासम्म पुगी महासमुद्रमा टुँगिओस्। 6 “‘फेरि पश्चिमी सिमानाचाहिँ महासमुद्र र त्यसको किनारै-किनार होस्। तिमीहरूको पश्चिमी सिमाना यही होस्। 7 “‘तिमीहरूको उत्तरको सिमाना यो होस्: महासमुद्रबाट होर पर्वतसम्म तिमीहरूले सिमाना बाँध्नू, 8 र होर पर्वतबाट लेबो-हमातसम्म सिमाना बाँध्नू। तब त्यस सिमाना सदाद भएर 9 सिप्रोनसम्म पुगोस्। त्यसको टुङ्गोचाहिँ हसर-एनान होस्। तिमीहरूको उत्तरको सिमाना यही होस्। 10 “‘तिमीहरूले आफ्नो पूर्वीय सिमानाचाहिँ हसर-एनानदेखि सपामसम्म बाँध्नू, 11 र त्यो सिमाना सपामदेखि तल झरेर ऐनको पूर्वपट्टिको रिब्लासम्म पुगोस्। त्यो सिमाना फेरि तल झरेर किन्नरेत झीलको किनारसम्म पुगोस्। 12 तब त्यो सिमाना यर्दन नदीको किनारै-किनार भएर खारा समुद्रमा निस्कोस्। “ ‘चारैतिरका सिमानासमेत तिमीहरूको देश यही हो’।” 13 मोशाले इस्राएलीहरूलाई यसो भनेर आज्ञा गरे, “परमप्रभुको आज्ञाबमोजिम चिट्ठा हालेर साढ़े नौ कुलले अधिकार गर्ने देश यही हो, 14 किनकि रूबेन र गादका कुलहरू र मनश्शेको आधा कुलका परिवारहरूले आफ्ना हिस्सा पाइसकेका छन्। 15 ती अढ़ाइ कुलले यरीहोका नजिकको यर्दन नदीको पूर्वपट्टि आ-आफ्नो अधिकार पाइसकेका छन्।” 16 परमप्रभुले मोशालाई भन्नुभयो, 17 “तिमीहरूलाई अधिकारको निम्ति देश बाँड़िदिने मानिसहरूका नाउँ यी नै हुन्: एलाजार पूजाहारी र नूनको छोरो यहोशू। 18 अधिकारको निम्ति देश बाँड्नलाई तिमीहरूका कुलैपिच्छे एक-एक वटा नायक छुट्ट्याउनू। 19 तिनीहरूका नाउँ यस प्रकार छन्: यहूदाको कुलका, यपुन्नेको छोरो कालेब 20 शिमियोनको कुलका, अम्मीहूदको छोरो शेमुएल 21 बेन्यामीनको कुलका किसलोनको छोरो एलीदाद, 22 दानको कुलका नायक योगलीको छोरो बुक्की, 23 योसेफको छोरो मनश्शेको कुलका नायक एपोदको छोरो हन्नीएल, 24 योसेफको छोरो एफ्राइमको कुलका नायक शिप्तानको छोरो कमूएल, 25 जबूलूनको कुलका नायक पर्नाकको छोरो एलीजापान, 26 इस्साखारको कुलका नायक अजानको छोरो पल्तिएल, 27 आशेरको कुलका नायक शलोमीको छोरो अहीहूद, 28 नप्तालीको कुलका नायक अम्मीहूदको छोरा पदहेल।” 29 कनान देशमा इस्राएलीहरूका बीच तिनीहरूका हिस्सा बाँड़िदिनलाई परमप्रभुले नियुक्त गर्नुभएका मानिसहरू यी नै हुन्। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society