गन्ती 28 - नेपाली नयाँ संशोधित संस्करणदैनिक बलिहरू 1 परमप्रभुले मोशालाई भन्नुभयो, 2 “इस्राएलीहरूलाई यसो भनेर आज्ञा गर्: ‘आगोद्वारा चढ़ाइने मलाई मन पर्ने मीठो बास्ना हुने मेरा बलिहरूको भोजन तोकिएको समयमा चढ़ाउन तिमीहरूले याद राख्नू’। 3 तैंले तिनीहरूलाई यसो भन्: ‘तिमीहरूले परमप्रभुको निम्ति आगोद्वारा चढ़ाउने बलि यही हो: दुई वटा एक वर्षे निष्खोट थुमाहरू नित्यको होमबलिको निम्ति दिनहुँ चढ़ाउनू, 4 एउटा बिहान र अर्को बेलुकी। 5 अन्नबलिको निम्ति एक लिटर कुटेको भद्राक्षको तेलमा मुछेको आधा पाथी मसिनो पीठो पनि सँगै चढ़ाउनू। 6 यो निरन्तरको होमबलि आगोद्वारा चढ़ाइएको परमप्रभुको निम्ति मीठो बास्ना हुनलाई सीनै पर्वतमा ठहराइएको थियो। 7 त्यसको अर्घ-बलिचाहिँ एउटा थुमाको निम्ति एक लिटर मद्य होस्। त्यो अर्घ-बलि पवित्रस्थानमा परमप्रभुको निम्ति चढ़ाउनू। 8 दोस्रो थुमा बेलुकी चढ़ाउनू। बिहानजस्तो गरी अन्नबलि र त्यसको अर्घ-बलि चढ़ाउनू। यो परमप्रभुलाई मन पर्ने मीठो बास्ना, आगोद्वारा चढ़ाइएको बलि हो। शबाथका अरू बलिहरू 9 “‘शबाथमा दुई वटा एक वर्षे निष्खोट थुमा, तेलमा मुछेको एक पाथी मसिनो पीठो अन्नबलिको निम्ति र त्यसको अर्घ-बलिसमेत चढ़ाउनू। 10 नित्यको होमबलि र त्यसको अर्घ-बलिबाहेक हरेक शबाथको होमबलि यही हो। 11 “‘हरेक महिनाको पहिलो दिनमा तिमीहरूले परमप्रभुको निम्ति होमबलिको लागि दुई वटा बाछा, एउटा भेड़ा र सात वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्खोट हुनुपर्छ। 12 हरेक बाछासित तेलमा मुछेको डेढ़ पाथी मसिनो पीठो अन्नबलिको निम्ति, भेड़ासित तेलमा मुछेको एक पाथी मसिनो पीठो अन्नबलिको निम्ति, 13 र हरेक थुमासित अन्नबलिको निम्ति तेलमा मुछेको आधा पाथी मसिनो पीठो चढ़ाउनू। यो परमप्रभुको निम्ति मीठो बास्ना, आगोद्वारा चढ़ाइएको बलि, अर्थात् होमबलिको लागि हो। 14 तिनका अर्घ-बलि, एउटा बाछाको निम्ति दुई लिटर दाखमद्य, भेड़ाको निम्ति डेढ़ लिटर दाखमद्य, र हरेक थुमाको निम्ति एक लिटर दाखमद्य होस्। वर्षभरिका सबै महिनाहरूमा हरेक औंसीमा चढ़ाउने होमबलि यही हो। 15 पापबलिको लागि परमप्रभुको निम्ति एउटा बोकाचाहिँ नित्यको होमबलि र अर्घ-बलिबाहेक चढ़ाउनू। निस्तार-चाड़ 16 “‘पहिलो महिनाको चौधौँ दिनमा परमप्रभुको निस्तार-चाड़ मनाउनुपर्छ। 17 त्यस महिनाको पन्ध्रौँ दिनमा एउटा उत्सव होस्। त्यस उत्सवमा सात दिनसम्म अखमिरी रोटी खानुपर्छ। 18 पहिलो दिनचाहिँ पवित्र सभा होस्। त्यस दिनमा तिमीहरूले कुनै दैनिक काम नगर्नू। 19 परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइने बलिको लागि दुई वटा बाछा, एउटा भेड़ा र सात वटा एक वर्षे थुमा होमबलिको रूपमा चढ़ाउनू। यी सब निष्खोट हुनुपर्छ। 20 तिनका अन्नबलिको निम्ति हरेक बाछासित तेलमा मुछेको डेढ़ पाथी मसिनो पीठो, भेड़ासित एक पाथी, 21 र सात वटा थुमामा हरेक थुमासित आधा पाथी चढ़ाउनू। 22 साथै तिमीहरूको प्रायश्चित गर्नलाई पापबलिको निम्ति एउटा बोका पनि चढ़ाउनू। 23 योचाहिँ बिहानको नित्यको होमबलिबाहेक चढ़ाउनू। 24 यही किसिमले तिमीहरूले सात दिनसम्मै परमप्रभुको निम्ति मीठो बास्ना हुनलाई आगोद्वारा चढ़ाइने बलिहरूको भोजन प्रतिदिन चढ़ाउनू। योचाहिँ नित्यको होमबलि र त्यसको अर्घ-बलिबाहेक चढ़ाउनू। 25 सातौँ दिनमा तिमीहरूको एउटा पवित्र सभा होस्, र तिमीहरूले त्यस दिन कुनै दैनिक काम नगर्नू। साताहरूको चाड़ 26 “‘अगौटे फलको दिनमा तिमीहरूले परमप्रभुको निम्ति साताहरूको चाड़मा नयाँ अन्नको बलि चढ़ाउँदा तिमीहरूको एउटा पवित्र सभा होस्। त्यस दिन तिमीहरूले कुनै दैनिक काम नगर्नू। 27 तिमीहरूले परमप्रभुको निम्ति मीठो बास्ना हुनलाई बलिको लागि दुई वटा बाछा, एउटा भेड़ा र सात वटा एक वर्षे थुमा 28 तिनका अन्नबलिको निम्ति हरेक बाछासित तेलमा मुछेको डेढ़ पाथी मसिनो पीठो, भेड़ासित एक पाथी, 29 र सात वटा थुमामा हरेक थुमासित आधा पाथी चढ़ाउनू। 30 साथै तिमीहरूको प्रायश्चित गर्नलाई एउटा बोका पनि चढ़ाउनू। 31 नित्यको होमबलि र त्यसको अन्नबलिबाहेक तिमीहरूले तिनका अर्घ-बलि चढ़ाउनू। ती पशुहरूचाहिँ निष्खोट हुनुपर्छ’।” |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society