Online Bible

- Reklamy -

गन्‍ती 27 - नेपाली नयाँ संशोधित संस्करण


सलोफादका छोरीहरू

1 योसेफका छोरा मनश्‍शेका वंशहरूमा भएका मनश्‍शेका जनाति, माकीरका पनाति, गिलादका नाति, हेपेरका छोरा सलोफादका छोरीहरू महला, नोआह, होग्‍ला, मिल्‍का र तिर्सा थिए।

2 तिनीहरू भेट हुने पालको ढोकामा मोशा, एलाजार पूजाहारी, नायकहरू र सबै समुदायको सामुन्‍ने उभिएर यसो भन्‍न लागे,

3 “हाम्रा बुबा उजाड़-स्‍थानमा मरे, तर तिनी परमप्रभुको विरुद्धमा उठ्‌ने कोरहको दलमा थिएनन्, तर तिनी आफ्‍नै पापमा मरे। तिनका छोराहरू पनि थिएनन्‌।

4 छोराहरू नहुँदैमा हाम्रा बुबाको आफ्‍नो वंशको नाउँ किन मासिने। हाम्रा बुबाका दाजुभाइहरूमा हामीलाई पनि सम्‍पत्ति दिनुहोस्‌।”

5 मोशाले तिनीहरूको मामिला परमप्रभुकहाँ ल्‍याए।

6 अनि परमप्रभुले मोशालाई भन्‍नुभयो,

7 “सलोफादका छोरीहरूले उठाएको कुरा ठीकै हो। तैंले तिनीहरूलाई तिनका बुबाका दाजुभाइहरूसँग अधिकार दिनू। तैंले तिनीहरूलाई बुबाको उत्तराधिकारी बनाइदिनू।

8 “तैंले इस्राएलीहरूलाई भन्, ‘कुनै मानिस छोरा नभई मर्‍यो भने छोरीलाई नै उत्तराधिकारी बनाइदिनू।

9 त्‍यसकी छोरी पनि छैन भने त्‍यसको अधिकार त्‍यसका दाजुभाइहरूलाई जाओस्‌।

10 त्‍यसको दाजुभाइ पनि छैन भने त्‍यसको बाबुका दाजुभाइहरूलाई जाओस्‌।

11 त्‍यसको बुबाका कुनै दाजुभाइ पनि छैन भने परिवारमा सबैभन्‍दा नजिकको साइनो पर्नेलाई त्‍यसको उत्तराधिकारी बनाइदिनू, र त्‍यसले त्‍यो आफ्‍नो हकमा लेओस्‌। परमप्रभुले मोशालाई आज्ञा दिनुभएबमोजिम यो इस्राएलको निम्‍ति धर्म-विधान होस्‌’।”


मोशाको मृत्‍यु अनि यहोशूको नियुक्ति

12 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “तँ यो अबीराम पहाड़मा उक्‍ली, र मैले इस्राएलीहरूलाई दिएको देश हेर्‌।

13 तैंले त्‍यो देखेपछि तँ पनि तेरो दाजु हारूनझैँ आफ्‍ना मानिसहरूसँग मिल्‍न जानेछस्‌।

14 किनभने जब सीनको उजाड़-स्‍थानमा भएका पानीहरूमा समुदाय मेरो विरुद्धमा उठेको थियो, तब तिमीहरू दुवैले तिनीहरूका सामु मेरो पवित्रताको कदर नगरेर मेरो आज्ञा भङ्ग गरेका थियौ।” (यो घटना सीनको उजाड़-स्‍थानमा भएको मेरीबा-कादेशका पानीहरूमा भएको थियो।)

15 मोशाले परमप्रभुलाई भने,

16 “सारा मानव-जातिका आत्‍माका परमप्रभु परमेश्‍वरबाट नै यस समुदायमाथि एक जना मानिस नियुक्त होस्,

17 जो तिनीहरूका अगिअगि बाहिर जाने र भित्र आउने होस्, जसले तिनीहरूलाई अगुवाइ गरेर लैजानेछ, र तिनीहरूलाई भित्र ल्‍याउनेछ। यसरी परमप्रभुका मानिसहरू गोठालो नभएका भेड़ाहरूझैँ नहोऊन्‌।”

18 परमप्रभुले मोशालाई भन्‍नुभयो, “आत्‍मा भएको नूनको छोरो यहोशूलाई तैंले लिएर त्‍यसमाथि तेरो हात राख्,

19 र त्‍यसलाई एलाजार पूजाहारी र सारा समुदायको सामुन्‍ने खड़ा गर्‌। तिनीहरूको नजरकै सामु त्‍यसलाई यो दायित्‍व सुम्‍पिदे।

20 तैंले त्‍यसलाई तेरो अख्‍तियारबाट केही दे, र सारा इस्राएली समुदायले त्‍यसको हुकुम पालन गरोस्‌।

21 त्‍यो एलाजार पूजाहारीकहाँ आउने गरोस्, र एलाजारले चाहिँ परमप्रभुको सामु “ऊरीम” द्वारा फैसला लिएर त्‍यसलाई बताउने गरोस्‌। यहोशूकै हुकुमबमोजिम सारा इस्राएलीहरू त्‍यससँगै आउने र जाने गरून्‌।”

22 तब परमप्रभुले तिनलाई आज्ञा गर्नुभएअनुसार मोशाले गरे। तिनले यहोशूलाई लिएर एलाजार पूजाहारी र सारा समुदायको सामुन्‍ने खड़ा गराए।

23 परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएझैँ तिनले आफ्‍नो हात उनीमाथि राखे र उनलाई आफ्‍नो कामको दायित्‍व सुम्‍पे।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy