Online Bible

- Reklamy -

गन्‍ती 24 - नेपाली नयाँ संशोधित संस्करण


बालामको तेस्रो ईश्‍वरवाणी

1 इस्राएलीहरूलाई आशिष्‌ दिने परमप्रभुको इच्‍छा छ भन्‍ने जब बालामले देखे, तब तिनी अरू बेलाजस्‍तै टुनामुना गर्न गएनन्, तर तिनले आफ्‍नो मुख उजाड़-स्‍थानतिर फर्काए।

2 जब बालामले आफ्‍ना आँखा उचालेर हेरे, र इस्राएलीहरूलाई आफ्‍नो कुल-कुल गरी बसेका तिनले देखे, तब परमेश्‍वरका आत्‍मा तिनीमाथि आउनुभयो।

3 अनि तिनले आफ्‍नो ईश्‍वरवाणी दिए: “बओरको छोरो बालामले भन्‍छ, जुन मानिसको आँखा खुला छ, त्‍यसको वाणी।

4 परमेश्‍वरका वचन सुन्‍नेले यसो भन्‍छ, जसले सर्वशक्तिमान्‌बाट दर्शन पाउँछ, जसले साष्‍टाङ्ग दण्‍डवत्‌ गर्दछ, र जसका आँखा खोलिएका छन्‌।

5 “हे याकूब, तिम्रा पालहरू, हे इस्राएल, तिम्रा वासस्‍थानहरू कति राम्रा!

6 “ती उपत्‍यकाझैँ फैलिएका छन्, खोलाका किनारका बगैँचाझैँ, परमप्रभुले रोप्‍नुभएका एलवाहरूजस्‍ता, पानीनेरका देवदारुहरूजस्‍ता फैलिएका छन्‌।

7 तिनका गाग्राहरूबाट पानी भरिएर पोखिनेछ, अनि तिनको बीउले प्रचुर पानी पाउनेछ। “तिनीहरूका राजा अगागभन्‍दा पनि महान्‌ हुनेछन्, अनि तिनीहरूको राज्‍य समृद्ध बनाइनेछ।

8 “परमेश्‍वरले तिनीहरूलाई मिश्रबाट निकालेर ल्‍याउनुभयो। तिनीहरूको शक्ति जङ्गली साँढ़ेको जस्‍तै छ। तिनीहरूले आफ्‍ना विरोधी जातिहरूलाई निल्‍नेछन्, र उनीहरूको हड्डी चूर पारेर फोर्नेछन्, आफ्‍ना बाणहरूले उनीहरूलाई छेड़ेर मार्नेछन्‌।

9 तिनीहरू सिंहझैँ लेटिरहन्‍छन्, अनि सिंहनीझैँ— तिनीहरूलाई कसले उठाउने? “तिमीहरूलाई आशिष्‌ दिने हरेक आशिषित होस्‌। तिमीहरूलाई सराप दिने हरेक श्रापित होस्‌।”

10 तब बालाकलाई बालामसित रीस उठ्यो। उनले जोडले आफ्‍ना हात ठटाएर बालामलाई भने, “मेरा शत्रुहरूलाई सराप दिनलाई मैले तपाईंलाई डाकेथें, तर हेर्नुहोस्, तपाईंले तीन पल्‍ट तिनीहरूलाई आशिष्‌ दिनुभयो।

11 यसकारण अब तपाईं आफ्‍नो ठाउँमा फर्किहाल्‍नुहोस्‌। तपाईंलाई ठूलो सम्‍मान दिने मैले विचार गरेको थिएँ, तर परमप्रभुले तपाईंलाई सम्‍मान प्राप्‍त गर्नदेखि रोक्‍नुभएको छ।”

12 बालामले बालाकलाई भने, “तपाईंले मकहाँ पठाउनुभएका दूतहरूलाई मैले भनेकै थिइनँ र?

13 ‘बालाकले मलाई सुन र चाँदीले भरिएको आफ्‍नो महल दिए पनि परमप्रभुको वचन नाघेर मेरो आफ्‍नो खुशीले असल वा खराब गर्न सक्‍दिनँ। परमप्रभुले मलाई जे भन्‍नुहुन्‍छ, त्‍यही म बोल्‍नेछु’।

14 अब म आफ्‍ना मानिसहरूकहाँ जान्‍छु, तर इस्राएलीहरूले तपाईंका मानिसहरूलाई पछि के गर्नेछन्, त्‍यो म तपाईंलाई बताउँछु।”


बालामको चौथो ईश्‍वरवाणी

15 तब तिनले यसरी आफ्‍नो ईश्‍वरवाणी दिए: “बओरको छोरो बालाम भन्‍छ, जुन मानिसको आँखा खुला छ, त्‍यसको वाणी।

16 परमेश्‍वरका वचन सुन्‍नेले यसो भन्‍छ, जसले सर्वोच्‍चको ज्ञान जान्‍नेको, जसले सर्वशक्तिमान्‌बाट दर्शन पाउँछ, जसले साष्‍टाङ्ग दण्‍डवत्‌ गर्दछ, र जसका आँखा खोलिएका छन्‌।

17 “म उहाँलाई देख्‍छु, तर अहिले त होइन। म उहाँलाई हेर्छु, तर नजिकै त होइन। याकूबबाट एउटा तारा आउनेछ, र इस्राएलबाट एउटा राजदण्‍ड उदय हुनेछ। उहाँले मोआबका टाउको किच्‍च्‍याउनुहुनेछ, अनि शेथका सन्‍तानलाई ध्‍वंस पार्नुहुनेछ।

18 एदोम पराजित हुनेछ, र त्‍यसको शत्रु सेइर पनि पराजित हुनेछ, तर इस्राएलचाहिँ बलियो हुनेछ।

19 याकूबबाट एउटा शासक उत्‍पन्‍न हुनेछन्, र सहरका बाँचेकाहरूलाई नाश गर्नेछन्‌।”


बालामका अन्‍तिम ईश्‍वरवाणी

20 तब तिनले अमालेकीहरूतिर हेरेर आफ्‍नो ईश्‍वरवाणी दिए: “सबै जातिहरूमा अमालेक पहिलो थियो, तर विनाश नै त्‍यसको अन्‍त हुनेछ।”

21 अनि तिनले केनीहरूलाई हेरेर आफ्‍नो ईश्‍वरवाणी दिए: “तिमीहरूको बस्‍ने ठाउँ सुरक्षित छ, र तिमीहरूको गुँड़ चट्टानमा बसालिएको छ।

22 तर तिमी केनीहरू ध्‍वंस पारिनेछौ, जब अश्‍शूरले तिमीहरूलाई कैद गरेर लैजानेछ।”

23 फेरि तिनले आफ्‍नो ईश्‍वरवाणी दिए: “हाय! परमेश्‍वरले यसो गर्नुहुँदा को बाँच्‍न सक्‍छ?

24 कित्तीमको किनारबाट जहाजहरू आउनेछन्, र उनीहरूले अश्‍शूर र एबेरलाई कष्‍ट दिनेछन्, तर तिनीहरू पनि नष्‍ट हुनेछन्‌।”

25 तब बालाम उठेर आफ्‍नो घरमा फर्के, र बालाक पनि आफ्‍नो बाटो लागे।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy