गन्ती 23 - नेपाली नयाँ संशोधित संस्करणबालामको पहिलो ईश्वरवाणी 1 बालामले बालाकलाई भने, “मेरो निम्ति सात वटा वेदी बनाइदिनुहोस्, अनि सात वटा साँढ़े र सात वटा भेड़ा तयार पारिदिनुहोस्।” 2 बालामले भनेझैँ बालाकले गरे। बालाक र बालामले प्रत्येक वेदीमा एक-एक वटा साँढ़े र एक-एक वटा भेड़ा चढ़ाए। 3 बालामले बालाकलाई भने, “आफ्नो बलिनेर उभिनुहोस्। अब मचाहिँ उतातिर जानेछु, र शायद परमप्रभुले मलाई भेट गर्न आउनुहुन्छ होला। उहाँले मलाई जे-जस्तो देखाउनुहुन्छ, त्यो म तपाईंलाई बताउनेछु।” अनि तिनी उजाड़-स्थानतिर गए। 4 परमेश्वरले बालामसित भेट गर्नुभयो। अनि बालामले उहाँलाई भने, “मैले सात वटा वेदी बनाएर तिनमा एउटा साँढ़े र एउटा भेड़ा चढ़ाएको छु।” 5 परमप्रभुले बालामको मुखमा वचन हालिदिनुभयो, र भन्नुभयो, “बालाककहाँ फर्किगएर तैंले भन्नुपर्ने कुरा यही हो।” 6 अनि तिनी बालाककहाँ फर्केर गए। यस बेला बालाकचाहिँ मोआबका सारा मुख्य व्यक्तिहरूका साथ उनका बलिको सामुन्ने उभिरहेका थिए। 7 तब बालामले यसरी आफ्नो ईश्वरवाणी दिए: “‘आउनुहोस्, मेरो निम्ति याकूबलाई सराप्नुहोस्। आउनुहोस्, ‘इस्राएललाई धम्की दिनुहोस्’ भनी मोआबका राजा बालाकले मलाई अरामबाट पूर्वका डाँड़ाहरूदेखि ल्याए। 8 परमेश्वरले नै नसराप्नुभएकालाई मैले कसरी सराप्नु? परमप्रभुले नै धम्की नदिनुभएकालाई मैले कसरी धम्की दिनु? 9 चट्टानहरूका टुप्पाबाट म तिनीहरूलाई देख्तछु, र डाँड़ाहरूबाट म तिनीहरूलाई हेर्दछु। हेर्, त्यो त एकलै बस्ने जाति हो, जसले अरू जातिहरूका बीचमा आफैलाई गन्दैन। 10 याकूबको धूलो कसले गन्न सक्छ? अथवा इस्राएलको चौथो हिस्साका गन्ती पनि कसले गर्न सक्ने? मेरो मृत्यु धर्मात्माको जस्तो होस्, र मेरो अन्त तिनैको जस्तो होस्।” 11 तब बालाकले बालामलाई भने, “तपाईंले मलाई के गर्नुभयो? मेरा शत्रुहरूलाई सराप दिनलाई मैले तपाईंलाई ल्याएँ, तर तपाईंले त तिनीहरूलाई उल्टा आशिष् पो दिनुभयो।” 12 तिनले जवाफमा भने, “परमप्रभुले मलाई दिनुभएको वचन नै मैले बोल्नुपर्दैन र?” बालामको दोस्रो ईश्वरवाणी 13 तब बालाकले तिनलाई भने, “कृपा गरी मसित अर्को ठाउँमा आउनुहोस्। त्यहाँदेखि तपाईंले तिनीहरूलाई देख्नुहुनेछ। तपाईं तिनीहरूको केही भाग मात्र देख्नुहुन्छ, तर तिनीहरू सबैलाई देख्नुहुन्न। तिनीहरूलाई त्यहीँबाट मेरो निम्ति सराप दिनुहोस्।” 14 तब उनले तिनलाई पिसगाको टाकुरामा भएको सोफीमको खेतमा लगे, र सात वटा वेदी बनाएर प्रत्येक वेदीमा एक-एक वटा साँढ़े र एक-एक वटा भेड़ा चढ़ाए। 15 बालामले बालाकलाई भने, “म परमप्रभुलाई भेट गर्न जाँदा तपाईंचाहिँ यहाँ आफ्ना बलिनेर उभिरहनुहोस्।” 16 परमप्रभुले बालामलाई भेट गर्नुभयो, र तिनको मुखमा वचन हालिदिनुभयो, र भन्नुभयो, “बालाककहाँ फर्केर तैंले भन्नुपर्ने कुरा यही हो।” 17 तब तिनी बालाककहाँ गए। बालाक र उनीसँग भएका मोआबका मुख्य व्यक्तिहरू उनका बलिको नजिक उभिरहेका थिए। बालाकले तिनलाई सोधे, “परमप्रभुले के भन्नुभयो?” 18 तब बालामले यसरी आफ्नो ईश्वरवाणी दिए: “ए बालाक, उठेर सुन्, ए सिप्पोरको छोरो, मेरो कुरामा कान थाप्। 19 परमेश्वर ढाँट्नुहुन्न, कारण उहाँ मानिस हुनुहुन्न, उहाँले मन बद्लनुहुन्न, कारण उहाँ मान्छेको सन्तान हुनुहुन्न। उहाँले भन्नुभएपछि के त्यो गर्नुहुन्न र? अथवा उहाँले प्रतिज्ञा गर्नुभएपछि के त्यो पूरा गर्नुहुन्न र? 20 हेर्, मैले त आशिष् दिने आज्ञा पाएको छु। उहाँले आशिष् दिनुभएको छ, र म त्यसलाई उल्टाउन सक्दिनँ। 21 “याकूबमा दुर्भाग्य देखिएको छैन। इस्राएलमा विपद् देखिएको छैन। परमप्रभु, तिनीहरूका परमेश्वर तिनीहरूका साथ हुनुहुन्छ, र राजाको जय-ध्वनि तिनीहरूका बीचमा छ। 22 परमेश्वरले तिनीहरूलाई मिश्रबाट निकालेर ल्याउनुभएको छ। तिनीहरूको बल जङ्गली साँढ़ेको जस्तो छ। 23 निश्चय नै याकूबलाई लाग्ने कुनै टुनामुना छँदैछैन, इस्राएलको विरुद्धमा कुनै जोखना छैन। ‘परमेश्वरले कस्तो विचित्रको कार्य गर्नुभएको छ’ भनी याकूब र इस्राएलको विषयमा अब भनिनेछ। 24 हेर, त्यो जाति सिंहनीझैँ उठ्छ, झम्टन लागेको सिंहजस्तै त्यो जुरुक्क उठ्छ, जसले शिकार नखाउञ्जेल र शिकारको रगत नपिउञ्जेल आराम गर्नेछैन।” 25 तब बालाकले बालामलाई भने, “तिनीहरूलाई सराप पनि नदिनुहोस्, र आशिष् पनि नदिनुहोस्।” 26 तर बालामले बालाकलाई भने, “परमप्रभु जे भन्नुहुन्छ त्यो मैले अवश्य गर्नुपर्छ भनेर मैले तपाईंलाई अघि नै भनेको थिइनँ?” 27 तब बालाकले बालामलाई भने, “आउनुहोस्, अब म तपाईंलाई अर्को ठाउँमा लैजानेछु। शायद त्यहाँबाट मेरो निम्ति तपाईंले तिनीहरूलाई सराप दिने परमेश्वरको इच्छा हुन्छ कि?” 28 अनि बालाकले बालामलाई पोरको टाकुरामा लगे, जहाँबाट उजाड़-स्थान देखियो। 29 तब बालामले बालाकलाई भने, “मेरो निम्ति यहाँ सात वटा वेदी बनाएर सात वटा साँढ़े र सात वटा भेड़ाहरू तयार गरिदिनुहोस्।” 30 बालामले भनेझैँ बालाकले गरे, र प्रत्येक वेदीमा एक-एक वटा साँढ़े र एक-एक वटा भेड़ा उनले चढ़ाए। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society