Online Bible

- Reklamy -

गन्‍ती 20 - नेपाली नयाँ संशोधित संस्करण


चट्टानबाटको पानी

1 इस्राएलीहरूका सारा समुदाय पहिलो महिनामा जीनको उजाड़-स्‍थानमा आइपुगे, र कादेशमा वास बसे। अनि मिरियम त्‍यहीँ मरिन्, र तिनीहरूले तिनलाई त्‍यहीँ नै गाड़े।

2 समुदायको निम्‍ति त्‍यहाँ पानी थिएन, अनि मानिसहरू मोशा र हारूनका विरुद्धमा जम्‍मा भए।

3 तिनीहरूले मोशासित झगड़ा गरेर यसो भने, “हाम्रा दाजुभाइहरू परमप्रभुको सामु मर्दा हामी पनि मरेको भए असल हुनेथियो,

4 किनभने अब हाम्रा गाईबस्‍तुसमेत हामी सब यहाँ मर्नेछौं। किन परमप्रभुको समुदायलाई तपाईंले यस उजाड़-स्‍थानमा ल्‍याउनुभयो?

5 मिश्रबाट किन हामीलाई यस खराब ठाउँमा ल्‍याउनुभयो? यस ठाउँमा अन्‍न, अथवा नेभारा वा दाख वा अनारहरू केही छैनन्‌। यहाँ पिउने पानी पनि छैन।”

6 तब मोशा र हारून समुदायको सामुबाट भेट हुने पालको ढोकामा गएर घोप्‍टो परे, र परमप्रभुको महिमा तिनीहरूकहाँ देखा पर्‍यो।

7 परमप्रभुले मोशालाई भन्‍नुभयो,

8 “यो लहुरो लिएर तँ र तेरो दाजु हारून गएर समुदायलाई जम्‍मा गर। तिनीहरूका आँखाकै सामुन्‍ने यस चट्टानलाई हुकुम गर्‌ र चट्टानबाट पानी निस्‍कनेछ, र तैंले यस चट्टानबाट तिनीहरूका निम्‍ति पानी निकाल्‍नेछस्‌। यसरी तैंले समुदाय र तिनका गाईबस्‍तुहरूलाई पानी दिनेछस्‌।”

9 तब परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशा लहुरो लिएर उहाँको सामुन्‍नेबाट गए,

10 अनि मोशा र हारूनले चट्टानको सामुन्‍ने समुदायलाई जम्‍मा गरे। तब मोशाले तिनीहरूलाई भने, “सुन, ए विद्रोही मानिस हो! के यही चट्टानबाट हामी तिमीहरूका निम्‍ति पानी निकालिदिऔँ?”

11 अनि मोशाले आफ्‍नो हात उठाएर दुई पल्‍ट आफ्‍नो लहुरोले चट्टान हिर्काए। तब त्‍यहाँबाट प्रशस्‍त पानी फुटेर निस्‍क्‍यो, अनि समुदाय र तिनीहरूका गाईबस्‍तुले पिए।

12 तर परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो, “मलाई इस्राएलीहरूका सामु पवित्र तुल्‍याउनलाई तिमीहरूले ममाथि विश्‍वास नगरेको हुनाले मैले तिनीहरूलाई दिने देशमा तिमीहरूले यस समुदायलाई पुर्‍याउन पाउनेछैनौ।”

13 यसैलाई मेरीबाका पानी भनिन्‍छ। यहीँ नै इस्राएलीहरूले परमप्रभुसँग झगड़ा गरे, र तिनीहरूका बीचमा उहाँ पवित्र प्रकट हुनुभयो।


एदोमले इस्राएललाई जान नदिएका

14 मोशाले कादेशबाट एदोमका राजाकहाँ यसो भनेर दूतहरू पठाए: “तपाईंको भाइ इस्राएल यो भन्‍छ, हामीलाई परिआएका विपत्ति तपाईंलाई थाहै छ।

15 हाम्रा पुर्खाहरू मिश्रदेशमा गएका थिए, र हामी धेरै समयसम्‍म मिश्रदेशमा रह्यौं, अनि मिश्रीहरूले हामी र हाम्रा पुर्खाहरूलाई कुव्‍यवहार गरे।

16 जब हामीले परमप्रभुमा पुकारा गर्‍यौं, तब उहाँले हाम्रो बिन्‍ती सुन्‍नुभयो, र एउटा स्‍वर्गदूत पठाउनु भएर हामीलाई मिश्रदेशबाट निकालेर ल्‍याउनुभयो। “अहिले तपाईंका देशको सिमानानेरको कादेश सहरमा हामी छौं।

17 बिन्‍ती छ, हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्‌। हामी खेत अथवा दाखबारी भएर जानेछैनौं। हामी तपाईंको कुनै कूवाबाट पानी खानेछैनौं। हामी मूलबाटो भएर जानेछौं। तपाईंको सिमाना नकाटेसम्‍म हामी दाहिने-देब्रे लाग्‍नेछैनौं।”

18 तर एदोमले तिनीहरूलाई भने, “यस देश भएर तिमीहरू जान पाउँदैनौ, नत्रता तरवार लिएर हामी तिमीहरूमाथि आक्रमण गर्नेछौं।”

19 इस्राएलीहरूले उत्तर दिए, “हामी मूलबाटै भएर जानेछौं। हामी र हाम्रा गाईबस्‍तुले तपाईंको पानी पियौं भने त्‍यसको मोल हामी तिर्नेछौं। केवल हामीलाई तपाईंको देश भएर जान दिनुहोस्‌।”

20 फेरि एदोमले भने, “तिमीहरू जान पाउँदैनौ” तब एदोम तिनीहरूका विरुद्धमा ठूलो सेना लिएर आए।

21 यसरी इस्राएलीहरूलाई आफ्‍नो सिमाना छिचलेर जान दिन एदोमले इन्‍कार गरे। यसकारण इस्राएलीहरू त्‍यहाँबाट फर्के।


हारूनको मृत्‍यु

22 सारा समुदाय कादेशबाट यात्रा गरेर होर पर्वतमा आइपुगे।

23 परमप्रभुले एदोम देशको सिमानानेर होर पर्वतमा मोशा र हारूनलाई यसो भन्‍नुभयो,

24 “हारून आफ्‍ना पुर्खाहरूकहाँ गएर मिल्‍नेछ। तिमीहरू दुवै मेरीबाका पानीमा मेरो वचनको विरुद्धमा गएका हुनाले, मैले इस्राएलीहरूलाई दिने देशमा त्‍यो पस्‍न पाउनेछैन।

25 हारून र त्‍यसको छोरा एलाजारलाई होर पर्वतमा लिएर जा।

26 हारूनका पोशाक फुकालेर त्‍यसको छोरा एलाजारलाई लगाइदे। त्‍यसपछि हारून आफ्‍ना पुर्खाहरूकहाँ गएर मिल्‍नेछ, र त्‍यहीँ मर्नेछ।”

27 परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशाले गरे, र सबै समुदायका आँखाको अगि तिनीहरू होर पर्वतमा उक्‍ले।

28 मोशाले हारूनका पोशाक फुकालेर तिनको छोरा एलाजारलाई लगाइदिए, र त्‍यहीँ नै पर्वतको टाकुरामा हारूनको देहान्‍त भयो। तब मोशा र एलाजार पर्वतबाट तल ओर्ले।

29 जब समुदायलाई हारूनको मृत्‍यु भएको थाहा भयो, तब सबै इस्राएलीहरूले तीस दिनसम्‍म शोक मनाए।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy