गन्ती 17 - नेपाली नयाँ संशोधित संस्करणहारूनको लहुरोमा कोपिला लागेको 1 परमप्रभुले मोशालाई भन्नुभयो, 2 “इस्राएलीहरूलाई भनेर तिनीहरूका पुर्खाका कुल-कुलबाट एक-एक वटा गरी बाह्र वटा लौराहरू ले, र तिनीहरू हरेकको नाउँ तैंले तिनीहरूको आ-आफ्नो लहुरोमा लेख्। 3 लेवीका कुलको लहुरोमा तैंले हारूनको नाउँ लेख्, किनकि हरेक कुलको प्रमुख मानिसको निम्ति एउटा लहुरो हुनुपर्छ। 4 भेट हुने पालमा गवाही-पाटीको सामुन्ने मैले तिमीहरूसित भेट गर्ने ठाउँमा ती राखिदे। 5 जुन मानिसलाई म रोज्छु, त्यसको लहुरो टुसाउनेछ। यसरी इस्राएलीहरूले तेरो विरुद्धमा सुनाउने गनगन म बन्द गरिदिनेछु।” 6 तब मोशाले इस्राएलीहरूलाई यो कुरा सुनाए, र तिनीहरूका नायकहरूले आ-आफ्ना पुर्खाको कुलअनुसार हरेक कुलनायकको निम्ति एक-एक वटा गरी बाह्र वटा लौराहरू तिनलाई दिए। हारूनको लहुरो पनि तिनीहरूका लौराहरूका बीचमा थियो। 7 मोशाले ती लौराहरू लिएर गवाही-पाटीको पालमा परमप्रभुको सामुन्ने राखिदिए। 8 भोलिपल्ट मोशा गवाही-पाटीको पालमा गए। अनि लेवी घरानाको निम्ति राखेको हारूनको लहुरोमा कोपिला लागेको रहेछ, र कोपिला लागेर फूल फुलेको र हाड़े-बदाम पनि पाकिसकेको रहेछ। 9 तब मोशाले सबै लौराहरू परमप्रभुको सामुन्नेबाट इस्राएलीहरूकहाँ ल्याए र हेरेर हरेकले आ-आफ्नो लहुरो लिए। 10 परमप्रभुले मोशालाई भन्नुभयो, “विद्रोही पुस्ताको विरुद्धमा चिन्हको निम्ति हारूनको लहुरोलाई गवाही-पाटीको सामु फेरि लगेर राख्, र मेरो विरुद्ध तिनीहरूको गनगन तैंले अन्त गरिदे, नत्रता तिनीहरू मर्लान्।” 11 परमप्रभुले आज्ञा गर्नुभएअनुसार मोशाले सबै गरे। 12 इस्राएलीहरूले मोशालाई भने, “हेर्नुहोस्, हामी नष्ट भयौं, बरबाद भयौं, हामी सबै खतम भयौं 13 परमप्रभुको पवित्र स्थानको नजिक आउने हरेक मर्नेछ। के हामी पनि सबै नष्ट हुने?” |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society