Online Bible

- Reklamy -

गन्‍ती 16 - नेपाली नयाँ संशोधित संस्करण


कोरह, दातान र अबीरामको विरोध

1 लेवीका पनाति, कहातका नाति, यिसहारका छोरा कोरह, र साथै रूबेनको कुलका एलीआबका छोराहरू दातान र अबीराम, अनि पेलेथका छोरा ओन अटेरी भए।

2 अनि उनीहरू इस्राएलीहरूका केही मानिसहरू, अर्थात्‌ सभामा बोलाइएका, समुदायमा नाउँ चलेका दुई सय पचास नेताहरूसित मोशाको विरुद्धमा खड़ा भए।

3 उनीहरू मोशा र हारूनका विरुद्धमा जम्‍मा भई तिनीहरूलाई भने, “तपाईंहरूले अति गर्नुभयो! समुदायका सबै जना पवित्र छन्, र परमप्रभु तिनीहरूका बीचमा हुनुहुन्‍छ। तपाईंहरू किन आफूलाई सबैभन्‍दा उच्‍च तुल्‍याउनुहुन्‍छ?”

4 यो कुरा सुन्‍ने बित्तिकै मोशा घोप्‍टो परे।

5 अनि तिनले कोरह र उनका सब दललाई यसो भने, “भोलि बिहान को उहाँको हो, को पवित्र छ, र कसलाई उहाँले आफ्‍नो नजिक आउन दिनुहुन्‍छ सो परमप्रभुले नै देखाइदिनुहुन्‍छ। जसलाई उहाँले चुन्‍नुहुन्‍छ, त्‍यसलाई आफ्‍नो नजिक आउन दिनुहुन्‍छ।

6 ए कोरह, यसो गर, तिमी र तिम्रा सबै दलले धुपौराहरू लेओ।

7 भोलि परमप्रभुको सामुन्‍ने तिनमा आगो र धूप राखून्‌। जसलाई परमप्रभुले चुन्‍नुहुन्‍छ, त्‍यही पवित्र हुनेछ। हे लेवीहरू हो, तिमीहरू बढ्‌ता भयौ!”

8 तब मोशाले कोरहलाई भने, “ए लेवीहरू हो, सुन।

9 इस्राएलका परमेश्‍वरले आफ्‍नो पवित्र वासस्‍थानमा काम गर्न र समुदायको अगि सेवा गर्न तिमीहरूलाई उहाँको नजिकै ल्‍याउनुभएर इस्राएलको समुदायबाट तिमीहरूलाई नै चुन्‍नुभएको के तिमीहरूले ठट्टा सम्‍झेका छौ?

10 उहाँले तिमीसँगै तिम्रा दाजुभाइ लेवीहरूलाई नजिक ल्‍याउनुभएको छ। अब के तिमीहरूले पूजाहारीपद पनि खोज्‍छौ?

11 तिम्रा सबै साथीहरूसहित तिमी परमप्रभुको विरुद्धमा भेला भएका छौ? हारूनचाहिँ को हो, र तिमीहरू तिनको विरुद्धमा गनगनाउँछौ?”

12 तब मोशाले एलीआबका छोराहरू दातान र अबीरामलाई बोलाउन पठाए। तर उनीहरूले भने, “हामी आउँदैनौं।

13 हामीहरूलाई दूध र मह बग्‍ने देशबाट उजाड़-स्‍थानमा मर्न ल्‍याउनुभएको के तपाईंलाई पुगेन र? फेरि तपाईं हामीमाथि प्रभुत्‍व पनि गर्न खोज्‍नुहुन्‍छ?

14 तपाईंले हामीलाई न त दूध र मह बग्‍ने देशमै ल्‍याउनुभयो, न हामीलाई खेत र दाखबारीहरूको अधिकार दिनुभयो। के तपाईं यी मानिसहरूका आँखा निकाल्‍न चाहनुहुन्‍छ? हामी पटक्‍कै आउँदैनौं।”

15 तब मोशाले ज्‍यादै रिसाएर परमप्रभुलाई भने, “उनीहरूको बलि ग्रहण नगर्नुहोस्‌। मैले उनीहरूको एउटा गधासम्‍म पनि लिएको छैनँ। उनीहरू कसैको हानि पनि गरेको छैनँ।”

16 मोशाले कोरहलाई भने, “तिमी र तिम्रा सबै दल र हारून पनि भोलि परमप्रभुको सामुन्‍ने आओ।

17 तिमीहरू हरेकले आ-आफ्‍नो धुपौरो लिएर त्‍यसमा धूप हाल, र हरेकले आ-आफ्‍नो धुपौरो, अर्थात्‌ दुई सय पचास धुपौरा परमप्रभुको सामु ल्‍याओ। हारून र तिमीले पनि आ-आफ्‍नो धुपौरो ल्‍याउनू।”

18 यसैकारण उनीहरू हरेकले आ-आफ्‍नो धुपौरो लिएर तिनमा आगो सल्‍काएर धूप हाले। अनि उनीहरू मोशा र हारूनका साथमा भेट हुने पालको ढोकामा खड़ा भए।

19 जब कोरहले आफ्‍ना सबै दल तिनीहरूका विरुद्धमा भेट हुने पालको ढोकामा जम्‍मा गरे, तब परमप्रभुको महिमा सिङ्गै समुदायकहाँ देखा पर्‍यो।

20 परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,

21 “यस समुदायबाट तिमीहरू अलग होओ, र म एक पलमा यिनीहरूलाई भस्‍म पार्नेछु।”

22 तब घोप्‍टो परेर मोशा र हारूनले भने, “हे परमेश्‍वर, सारा मानव-जातिका आत्‍माका परमेश्‍वर, एक जना मानिसले पाप गरेकोमा के तपाईं सारा समुदायसित क्रोधित हुनुहुन्‍छ?”

23 तब परमप्रभुले मोशालाई भन्‍नुभयो,

24 “यस समुदायलाई यसो भन्, ‘कोरह, दातान र अबीरामका पालका छेउछाउबाट पर हट’।”

25 मोशा उठेर दातान र अबीरामकहाँ गए, र इस्राएलका धर्म-गुरुहरू पनि तिनको पछि लागे।

26 समुदायलाई तिनले सावधान गराए, “यी दुष्‍ट मानिसहरूका पालबाट दूर हट, र यिनीहरूका केही कुरा पनि नछोओ, नत्रता यिनीहरूका सब पापले गर्दा तिमीहरू पनि भस्‍म हुनेछौ।”

27 यसैले कोरह, दातान र अबीरामका पालका छेउछाउबाट तिनीहरू निस्‍के। दातान र अबीराम उनीहरूका जहान र बालबच्‍चाका साथमा आ-आफ्‍नो पालका ढोकामा उभिए।

28 तब मोशाले भने, “यसबाट तिमीहरूले थाहा पाउनेछौ, कि यी सबै काम गर्नलाई परमप्रभुले मलाई पठाउनुभएको हो, र मैले यी आफ्‍नै राजीखुशीले गरेको होइनँ।

29 यदि यी मानिसहरू पनि सबै अन्‍य मानिसझैँ स्‍वाभाविक मृत्‍युले मर्छन्‌ भने, परमप्रभुले मलाई पठाउनुभएको होइन।

30 तर यदि परमप्रभुले अनौठो काम गर्नुहुन्‍छ र धरती फाटेर यिनीहरूका सबै थोकसमेत यिनीहरू जिउँदै चिहानमा पुरिन्‍छन्‌ भने, यी मानिसहरूले परमप्रभुलाई तुच्‍छ ठानेका नै रहेछन्‌ भनी तिमीहरूले थाहा पाउनेछौ।”

31 तिनले यी सबै कुरा भनिसकेका मात्र थिए, उनीहरूमुनिको धरती फाट्यो।

32 अनि धरतीले आफ्‍नो मुख बाएर उनीहरू र उनीहरूका घरानाहरू— कोरहतर्फका सबै मानिसहरू— उनीहरूका मालतालसमेतलाई निलिहाल्‍यो।

33 आफ्‍ना सबै कुरासमेत उनीहरू जिउँदै चिहानमा पुरिए। धरती उनीहरूमाथि बन्‍द भयो, र समुदायको बीचबाट उनीहरू नष्‍ट भए।

34 उनीहरू चिच्‍च्‍याएका सुनेर वरिपरिका सबै इस्राएलीहरूले भाग्‍दै यसो भन्‍न लागे, “हामीलाई पनि धरतीले अब निल्‍छ होला।”

35 अनि परमप्रभुकहाँबाट आगो निस्‍केर धूप चढ़ाउने ती दुई सय पचास जनालाई भस्‍म पार्‍यो।

36 परमप्रभुले मोशालाई भन्‍नुभयो,

37 “हारून पूजाहारीको छोरा एलाजारलाई जलिरहेको ज्‍वालाबाट धुपौराहरू निकाल्‍न र फिलिङ्गा निकै टाढ़ा लगेर छरिदिनलाई अह्रा। किनभने ती धुपौराहरू पवित्र छन्‌—

38 ती आफ्‍नै प्राणको हानि गरुञ्‍जेल पाप गर्नेहरूका धुपौराहरू। ती धुपौराहरूबाट वेदी मोहोर्ने पाताहरू पिटेर बनाउनू, किनभने ती परमप्रभुको सामु चढ़ाएका हुनाले पवित्र छन्‌। ती पाताहरूचाहिँ इस्राएलीहरूका निम्‍ति चिन्‍ह होऊन्‌।”

39 तब एलाजार पूजाहारीले ती भस्‍म हुनेहरूले चढ़ाएका काँसाका धुपौराहरू लिए, र पिटेर वेदी मोहोर्ने पाता बनाए,

40 जस्‍तो परमप्रभुले एलाजारलाई मोशाद्वारा भन्‍नुभएको थियो। हारूनका सन्‍तानबाहेक कोही अन्‍य मानिस धूप बाल्‍न नजिक नआओस्‌ भनी होशियार गराउन इस्राएलीहरूलाई यो सब भएको थियो, नत्रता त्‍यो पनि कोरह र उनको दलजस्‍तै हुनेछ।

41 भोलिपल्‍ट इस्राएलीहरूका जम्‍मै समुदायले मोशा र हारूनका विरुद्धमा यसो भनेर गनगनाए, “तपाईंहरूले नै परमप्रभुका मानिसहरूलाई मार्नुभएको हो।”

42 तर जब समुदायले मोशा र हारूनका विरुद्धमा भेला भई भेट हुने पालतिर हेरे, तब अचानक बादलले त्‍यसलाई ढाक्‍यो, र परमप्रभुको महिमा देखा पर्‍यो।

43 मोशा र हारून भेट हुने पालको अगि गए,

44 अनि परमप्रभुले मोशालाई भन्‍नुभयो,

45 “तिमीहरूचाहिँ यस समुदायबाट पर हटिजाओ, र म यिनीहरूलाई पलभरमा भस्‍म पार्नेछु।” तब तिनीहरू घोप्‍टो परे।

46 अनि मोशाले हारूनलाई भने, “तपाईंको धुपौरो लिनुहोस्, र त्‍यसमा वेदीबाट आगो राखेर धूप हाल्‍नुहोस्, र तुरुन्‍तै त्‍यस समुदायकहाँ लगेर तिनीहरूका निम्‍ति प्रायश्‍चित गर्नुहोस्, किनकि परमप्रभुको क्रोध दन्‍किसकेको छ— विपत्ति सुरु भएको छ।”

47 तब मोशाले भनेझैँ हारून धुपौरो लिएर समुदायको माझमा दौड़ेर गए। विपत्ति मानिसहरूका बीचमा आइसकेको थियो, तर तिनले धूप हालेर मानिसहरूका निम्‍ति प्रायश्‍चित गरे।

48 तिनी मरेका र जिउँदाहरूका बीचमा खड़ा भए, र विपत्ति थामियो।

49 कोरहको घटनामा मरेकाबाहेक त्‍यस बेला विपत्तिले मरेकाहरू चौध हजार सात सय थिए।

50 विपत्ति थामिएपछि हारून भेट हुने पालमा मोशाकहाँ फर्के।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy