गन्ती 12 - नेपाली नयाँ संशोधित संस्करणमोशाप्रति हारून र मिरियमको विरोध 1 मोशाकी कूशी पत्नीको कारणले मिरियम र हारून मोशाको विरुद्धमा बोल्न लागे, किनभने तिनले कूशी पत्नी ल्याएका थिए। 2 तिनीहरूले भने, “के परमप्रभुले केवल मोशाद्वारा मात्र कुरा गर्नुभएको छ र? के उहाँले हामीद्वारा पनि कुरा गर्नुभएको छैन र?” अनि परमप्रभुले यो कुरा सुन्नभयो। 3 मोशाचाहिँ पृथ्वीभरिमा सबैभन्दा विनम्र व्यक्ति थिए। 4 परमप्रभुले तुरुन्तै मोशा, हारून र मिरियमलाई भन्नुभयो, “तिमीहरू तीनै जना भेट हुने पालमा आओ।” अनि ती तीनै जना आए। 5 तब परमप्रभु बादलको खामोमा आई भेट हुने पालको ढोकामा उभिएर हारून र मिरियमलाई बोलाउनुभयो। जब ती दुवै अगि आए, 6 तब उहाँले भन्नुभयो, “अब मेरो कुरा सुन: “जब तिमीहरूका बीचमा परमप्रभुको कुनै अगमवक्ता छ, तब म त्यससँग दर्शनमा आफैलाई प्रकट गर्छु, त्यससँग सपनामा कुरा गर्छु। 7 तर मेरो दास मोशासित त म त्यसो गर्दिनँ। त्यो त मेरा सबै घरानामा विश्वासी छ। 8 त्यससँग म गुप्त रीतिले होइन, तर आमनेसामने प्रष्टसँग कुरा गर्छु, र मेरो स्वरूप त्यसले हेर्छ। यसैकारण मेरो दास मोशाको विरुद्धमा बोल्न तिमीहरूलाई किन डर लागेन?” 9 अनि तिनीहरूका विरुद्धमा परमप्रभुको क्रोध दन्क्यो, र उहाँ त्यहाँबाट गइहाल्नुभयो। 10 पालमाथिबाट बादल हट्दा मिरियम कुष्ठरोग लागेर हिउँजस्तै सेती भइसकेकी थिइन्। हारूनले मिरियमलाई हेर्दा तिनी कुष्ठरोगी भइसकेकी देखे। 11 हारूनले मोशालाई भने, “मेरा प्रभु, बिन्ती छ, हामीले मूर्खता गरेर पाप गरेका छौं, तर यसको दण्ड हामीले भोग्नु नपरोस्। 12 आमाको गर्भबाट निस्कँदै आधा कुहेर मरिसकेको जस्तो यसलाई हुन नदिनुहोस्।” 13 तब मोशाले यसो भनेर परमप्रभुमा पुकारा गरे, “हे परमेश्वर, म आग्रहपूर्वक बिन्ती गर्दछु, त्यसलाई निको पारिदिनुहोस्।” 14 तब परमप्रभुले मोशालाई भन्नुभयो, “त्यसको बुबाले त्यसको मुखमा थुकिदिएको भए, के त्यो सात दिनसम्म शर्ममा पर्ने थिइन र? त्यसलाई सात दिनसम्म छाउनीबाहिरै थुनिराख्, त्यसपछि मात्र त्यसलाई भित्र ल्याउनू।” 15 तब मिरियम सात दिनसम्म छाउनीबाहिर थुनिइन्, र मिरियमलाई भित्र नल्याउञ्जेल मानिसहरू पनि अगाड़ि बढ़ेनन्। 16 त्यसपछि हसेरोतबाट बढ़ेर तिनीहरूले पारानको मरुभूमिमा पाल टाँगे। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society