Online Bible

- Reklamy -

गन्‍ती 11 - नेपाली नयाँ संशोधित संस्करण


इस्राएलीहरूको गनगन

1 यतिखेर परमप्रभुको कानमा पुग्‍ने गरी ती मानिसहरू आफ्‍ना कष्‍टहरूका विषयमा गनगनाउन लागे। जब परमप्रभुले यो सुन्‍नुभयो, तब उहाँको क्रोध दन्‍क्‍यो, र परमप्रभुको अग्‍नि सल्‍केर छाउनीको पल्‍लो भाग भस्‍म पारिदियो।

2 अनि मानिसहरू मोशाकहाँ आएर विलाप गरे। तब मोशाले परमप्रभुलाई प्रार्थना गरे, र आगो निभ्‍यो।

3 यसकारण त्‍यस ठाउँको नाउँ तबेरा राखियो, किनभने परमप्रभुको आगो तिनीहरूका बीचमा दन्‍केको थियो।

4 अनि तिनीहरूसँग भएको एक हुल्‍याहा समूह साह्रै लालची भयो, र इस्राएलीहरूले फेरि रोएर भन्‍न लागे, “हामीले मासु खान पाए त हुन्‍थ्‍यो!

5 हामीले मिश्रदेशमा सित्तैमा खान पाएका माछा हामी सम्‍झन्‍छौं— अनि काँक्रा, खरबूजा, कन्दहरू, प्‍याज र लसुन पनि।

6 तर अब त हाम्रो रुचि हराएको छ। यो मन्‍न छोड़ी अरू केही कुरा देखिँदैन।”

7 मन्‍नचाहिँ धनियाँजस्‍तो थियो, र हेर्दा खोटोजस्‍तै देखिन्‍थ्‍यो।

8 मानिसहरू गएर त्‍यो जम्‍मा गर्थे, जाँतोमा पिँध्‍थे वा ओखलीमा कुट्‌थे, र भाँड़ामा पकाएर फुरौला बनाउँथे। त्‍यसको स्‍वाद भद्राक्षको तेलले पकाएको कुरोजस्‍तो थियो।

9 छाउनीमा राती शीत झर्दा मन्‍न पनि सँगै झर्थ्‍यो।

10 आ-आफ्‍नो पालको ढोकामा उभिएर हरेक परिवारका मानिसहरू रोइरहेका मोशाले सुने। परमप्रभु ज्‍यादै क्रोधित हुनुभयो, र मोशा दु:खित भए।

11 मोशाले परमप्रभुलाई भने, “तपाईंले किन आफ्‍नो दासलाई यो दु:ख दिनुभएको छ? अनि किन मैले तपाईंको दृष्‍टिमा अनुग्रह पाएको छैनँ, र तपाईं मलाई यी सब मानिसहरूको भार बोकाउनुहुन्‍छ?

12 के यी मानिसहरूलाई मैले कोखमा राखेर जन्‍माएको हुँ? के तिनीहरूका पुर्खाहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशमा दूधे-बालकलाई धाईले बोकेझैँ यिनीहरूलाई बोकेर लैजान मलाई लगाउनुहुन्‍छ?

13 यी सब मानिसले खाने मासु म कहाँ पाऊँ? ‘हामीलाई मासु खान देऊ’ भनी तिनीहरू मकहाँ आएर रुन्‍छन्‌।

14 म एकलै यी मानिसहरूको भार सहन सक्‍दिनँ, किनभने यो भार मलाई साह्रै चर्को छ।

15 तपाईं मसित यस्‍तै व्‍यवहार गर्नुहुन्‍छ भने, र मैले तपाईंको निगाह पाएको छु भने, बिन्‍ती छ, बरु मलाई मारिदिनुहोस्, र मैले आफ्‍नो विनाश आफै हेर्नु नपरोस्‌।”

16 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलका धर्म-गुरुमा सत्तरी जना जम्‍मा गर्, जो मानिसहरूमा नायक र अधिकारीहरू छन्‌ भन्‍ने तँलाई थाहा छ, अनि तिनीहरूलाई भेट हुने पालमा ले, र तिनीहरू त्‍यहाँ तेरो साथमा उभिऊन्‌।

17 म तल आएर त्‍यहाँ तँसँग कुरा गर्नेछु। तँमाथि भएका आत्‍माबाट केही लिएर तिनीहरूमाथि राखिदिनेछु। तिनीहरूले तँसँगसँगै ती मानिसहरूको भार बोक्‍नेछन्, र तैंले एकलै बोक्‍नु नपरोस्‌।

18 “तैंले मानिसहरूलाई भन्‌: ‘भोलिको निम्‍ति तिमीहरूले आफूलाई चोख्‍याउनू, जब तिमीहरूले मासु खानेछौ। तिमीहरूले परमप्रभुको कानमा यसो भनेर रोएका छौ, “हामीले मासु खान पाए त हुन्‍थ्‍यो! हामीलाई मिश्रदेश नै असल थियो।” अब परमप्रभुले तिमीहरूलाई मासु दिनुहुन्‍छ, र तिमीहरूले त्‍यो खानेछौ।

19 दुई-चार या दश-बीस दिन मात्र होइन,

20 तर नाकबाट निस्‍केर वाक्‍क लागेसम्‍म तिमीहरूले महिनाभरि त्‍यो खानेछौ। किनभने तिमीहरूले आफ्‍ना बीचमा हुनुहुने परमप्रभुलाई अस्‍वीकार गरेर उहाँकै सामुन्‍ने “हामी किन मिश्रबाट निस्‍केर आयौं नि?” भनी रोएका छौ’।”

21 तर मोशाले भने, “मसँग यस यात्रामा पैदल हिँड्‌ने छ लाख छन्, तापनि महिनाभरि म तिनीहरूलाई मासु दिनेछु भनी तपाईं भन्‍नुहुन्‍छ।

22 के यी सबै भेड़ाबाख्राका बगालहरू र गाईबस्‍तुका बथानहरू मारेर यतिका मान्‍छेलाई पुग्‍छ र? अथवा समुद्रका सारा माछाहरू पक्रेर पनि तिनीहरूलाई पुग्‍छ र?”

23 परमप्रभुले मोशालाई भन्‍नुभयो, “के परमप्रभुको शक्ति कम भएको छ र? अब मैले तँलाई भनेको कुरा हुन आउँछ कि आउँदैन त्‍यो तैंले देख्‍नेछस्‌।”

24 यसकारण मोशाले बाहिर गएर परमप्रभुले भन्‍नुभएको वचन मानिसहरूलाई सुनाइदिए। तिनले धर्म-गुरुहरूबाट सत्तरी जनालाई पालको वरिपरि उभ्‍याए।

25 तब परमप्रभु बादलमा तल आउनुभएर तिनीसित कुरा गर्नुभयो, र तिनले आफूसित भएका आत्‍माबाट केही लिएर ती सत्तरी जना धर्म-गुरुहरूमाथि राखे। अनि तिनीहरूमाथि आत्‍मा आएपछि तिनीहरूले अगमवाणी गरे। तर पछिपछि त तिनीहरूले त्‍यसो गरेनन्‌।

26 तर त्‍यहाँ छाउनीमा एल्‍दाद र मेदाद नाउँ भएका दुई जना मानिस थिए। तिनीहरूको नाउँ पनि दर्ता भएको थियो, तर तिनीहरू पालमा भने गएका थिएनन्‌। तर आत्‍मा तिनीहरूमाथि पनि आए, र तिनीहरूले छाउनीमा नै अगमवाणी गरे।

27 तब एउटा जवान मोशाकहाँ दौड़ेर गई भने, “एल्‍दाद र मेदादले छाउनीमा अगमवाणी गर्दैछन्‌।”

28 युवावस्‍थादेखि मोशाका सहायक, नूनका छोरा यहोशूले मोशालाई भने, “हजूर, तिनीहरूलाई रोक्‍नुहोस्‌।”

29 तर मोशाले तिनलाई भने, “के मेरो खातिर तिमी डाह गर्ने भयौ? परमप्रभुले आफ्‍ना आत्‍मा आफ्‍ना सबै मानिसमाथि राखिदिएर ती सबै अगमवक्ता भइदिए त कति असल हुनेथियो।”

30 तब मोशा र इस्राएलका धर्म-गुरुहरू छाउनीमा फर्के।


इस्राएलीहरूले बट्टाई चरा खाएका

31 अनि परमप्रभुले चलाउनुभएको बतासले समुद्रबाट बट्टाई चराहरू ल्‍यायो, र छाउनीको वरिपरि एक-एक दिनको बाटोभरि जमिनमा दुई हात बाक्‍लो हुने गरी ती बसे।

32 मानिसहरूले त्‍यस दिनभरि, रातभरि र भोलिपल्‍ट दिनभरि पनि ती समाते। थोरैभन्‍दा थोरै बटुल्‍नेले पनि पच्‍चीस मुरी बटुले। तिनीहरूले आफ्‍ना निम्‍ति छाउनीका चारैतिर ती फिँजाए।

33 तर मासु तिनीहरूका दाँतैमा हुँदा र त्‍यसलाई चपाउनै नपाउँदा, परमप्रभुको क्रोध ती मानिसहरूमाथि दन्‍क्‍यो, र उहाँले ती मानिसहरूलाई भयङ्कर विपत्तिले प्रहार गर्नुभयो।

34 यसकारण त्‍यस ठाउँको नाउँ किब्रोथ-हत्तावा राखियो, किनभने अरू खानाको लालच गर्ने मानिसहरूलाई त्‍यहीँ नै तिनीहरूले गाड़ेका थिए।

35 किब्रोथ-हत्तावाबाट हिँड़ेर मानिसहरू हसेरोततिर लागे, र तिनीहरू त्‍यहाँ वास बसे।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy