Online Bible

- Reklamy -

नहेम्याह 1 - नेपाली नयाँ संशोधित संस्करण


यरूशलेमको लागि नहेम्याहको प्रार्थना

1 हकल्‍याहका छोरा नहेम्‍याहको विवरण: बीसौँ वर्षको किसलेव महिनामा जब म राजधानी शूशनमा थिएँ,

2 तब मेरा दाजुहरूमध्‍येका एक जना हनानी अरू कोही मानिससँग यहूदाबाट आइपुगे। मैले यरूशलेमको र कैदबाट अरू बाँचेका यहूदीहरूको विषयमा तिनीहरूसित सोधपूछ गरें।

3 तिनीहरूले मलाई भने, “निर्वासनबाट बाँचेर प्रदेशमा आएकाहरूले साह्रै दु:ख र निन्‍दा सहनुपरिरहेको छ। यरूशलेमको पर्खाल भत्‍काइएको छ र त्‍यसका मूल ढोकाहरू आगोले नष्‍ट पारिएका छन्‌।”

4 यो समाचार सुनेपछि बसेर म रोएँ। म केही दिनसम्‍म विलाप गर्दैरहें, र उपवास बसें अनि स्‍वर्गका परमेश्‍वरसित प्रार्थना गरें।

5 तब मैले भनें: “हे परमप्रभु, स्‍वर्गका परमेश्‍वर, महान्‌ र भययोग्‍य परमेश्‍वर, तपाईंलाई प्रेम गर्नेहरू र तपाईंका आज्ञा पालन गर्नेहरूसँग तपाईंले आफ्‍नो करार विश्‍वाससित राख्‍नुहुन्‍छ।

6 इस्राएलका मानिसहरू, तपाईंका दासहरूका पक्षमा रातदिन तपाईंलाई गरेको मेरो विनम्र प्रार्थना सुन्‍न तपाईंले आफ्‍नो कान थाप्‍नुहोस्‌ र आँखा खोल्‍नुहोस्‌। तपाईंको विरुद्धमा हामी सबै इस्राएलीहरूले गरेका पाप म स्‍वीकार गर्दछु। म र मेरा पिताको घराना पनि त्‍यसमा दोषी छौं।

7 तपाईंले आफ्‍ना दास मोशालाई दिनुभएका आज्ञा, धर्म-विधि र नियमहरूलाई पालन नगरेर हामीले तपाईंको विरुद्धमा घोर अपराध गरेका छौं।

8 “आफ्‍ना दास मोशालाई यसो भनेर आज्ञा गर्नुभएको वचन सम्‍झनुहोस्,

9 ‘यदि तिमीहरू अविश्‍वासी भयौ भने म तिमीहरूलाई जाति-जातिहरूका बीचमा तितरबितर पार्नेछु, तर तिमीहरू मतिर फर्क्‍यौ र मेरा आज्ञाहरू पालन गर्‍यौ भने पृथ्‍वीको पल्‍लो छेउसम्‍म पनि कैदमा रहेका तिमीहरूका निर्वासित मानिसहरूलाई म भेला गर्नेछु, र मेरो नाउँको वासस्‍थान हुन मैले छानेको ठाउँमा म तिनीहरूलाई फर्काएर ल्‍याउनेछु’।

10 “तपाईंले आफ्‍नो महाबल र शक्तिशाली हातद्वारा उद्धार गर्नुभएका तिनीहरू तपाईंका दासहरू र तपाईंका प्रजा हुन्‌।

11 हे परमप्रभु, तपाईंको दासको विनम्र प्रार्थनामा ध्‍यानसित कान थाप्‍नुहोस्, र तपाईंका नाउँको सम्‍मान गर्न प्रसन्‍न हुने तपाईंका दासहरूको प्रार्थना सुन्‍नुहोस्‌। आज यस मानिसको उपस्‍थितिमा आफ्‍नो सेवकमाथि कृपा देखाई उसलाई सफलता दिनुहोस्‌।” त्‍यस बेला म राजाको मद्य टक्र्याउनेहरूका अधिकृत थिएँ।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy