Online Bible

- Reklamy -

मर्कूस 8 - नेपाली नयाँ संशोधित संस्करण


येशूले चार हजारलाई खुवाउनुभएको
मत्ती १५:२९-३९

1 ती दिनमा फेरि एउटा ठूलो भीड जम्‍मा भयो, तर तिनीहरूसित खानेकुरो केही थिएन। तब येशूले चेलाहरूलाई आफूकहाँ बोलाएर भन्‍नुभयो,

2 “यस भीड़लाई म टिठ्याउँछु, किनभने यिनीहरू मसँग रहेका आज तीन दिन भयो, र यिनीहरूसित खानलाई केही छैन।

3 अनि यदि यिनीहरूलाई भोकै घर पठाएँ भने यिनीहरू बाटोमै मूर्च्‍छा पर्नेछन्‌। यिनीहरूमध्‍ये कोही-कोही टाढ़ाबाट आएका छन्‌।”

4 उहाँका चेलाहरूले उहाँलाई भने, “यस निर्जन स्‍थानमा यिनीहरूलाई कसरी रोटी खुवाउने?”

5 उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूसित कति वटा रोटी छन्‌?” तिनीहरूले भने, “सात वटा”

6 उहाँले भीड़लाई भूइँमा बस्‍ने हुकुम दिनु भएर, सात वटा रोटी हातमा लिई धन्‍यवाद दिनुभएपछि रोटी भाँच्‍नुभयो, र मानिसहरूका अगि राख्‍न भनी चेलाहरूलाई दिनुभयो, र तिनीहरूले मानिसहरूका अगि राखिदिए।

7 तिनीहरूसित केही ससाना माछाहरू पनि थिए, र उहाँले आशीर्वाद दिएर ती पनि तिनीहरूका अगाडि राख्‍न लाउनुभयो।

8 अनि मानिसहरूले खाए, र तृप्‍त भए। अनि उब्रेका टुक्राहरू तिनीहरूले सात डालाभरि उठाए।

9 त्‍यहाँ प्राय: चार हजार मानिसहरू थिए।

10 उहाँले तिनीहरूलाई बिदा गरी पठाउनुभयो, अनि उहाँचाहिँ आफ्‍ना चेलाहरूसँग तुरुन्‍तै डुङ्गामा चढ़ेर दलमनुथाको क्षेत्रमा जानुभयो।

11 फरिसीहरू उहाँकहाँ आएर उहाँसँग बहस गर्न लागे, र उहाँलाई परीक्षा गर्नलाई स्‍वर्गबाट एउटा चिन्‍ह मागे।

12 आफ्‍नो आत्‍मामा लामो सास लिएर उहाँले भन्‍नुभयो, “यस पुस्‍ताले किन चिन्‍ह खोज्‍छ? साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, यस पुस्‍तालाई कुनै चिन्‍ह दिइनेछैन।”

13 अनि तिनीहरूलाई छोडी उहाँ फेरि डुङ्गामा चढ़ेर पारिपट्टि जानुभयो।


फरिसीहरू र हेरोदको खमिर
मत्ती १६:५-१२

14 चेलाहरूले साथमा रोटी बोक्‍न बिर्सेका थिए, र डुङ्गामा तिनीहरूसित एउटै मात्र रोटी थियो।

15 येशूले चेलाहरूलाई यसो भनेर चेताउनी दिनुभयो, “तिमीहरू फरिसीहरूको खमिर र हेरोदको खमिरदेखि सतर्क रहो।”

16 तर तिनीहरूका साथमा रोटी नभएकोले येशूले यसो भन्‍नुभएको हो भनी तिनीहरूले आपसमा बहस गर्न लागे।

17 येशूले यो थाहा पाएर तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूसित रोटी छैन भनी किन तिमीहरू बहस गर्दछौ? के तिमीहरू अझै पनि देख्‍दैनौ वा बुझ्‍दैनौ? के तिमीहरूको मन कठोर भएको छ?

18 आँखा भए तापनि के तिमीहरू देख्‍दैनौ? कान भए तापनि के तिमीहरू सुन्‍दैनौ? के तिमीहरूलाई याद छैन,

19 जब मैले पाँच वटा रोटी ती पाँच हजारका बीचमा भाँचेथें, तब कति डालाभरि टुक्राटाक्रीहरू तिमीहरूले उठाएका थियौ?” तिनीहरूले उहाँलाई जवाफ दिए, “बाह्र।”

20 “अनि जब ती सात वटा रोटी चार हजारका बीचमा भाँचेको थिएँ, तब कति डालाभरि टुक्राटाक्रीहरू तिमीहरूले उठाएका थियौ?” तिनीहरूले उहाँलाई भने, “सात।”

21 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तब के तिमीहरू अझै बुझ्‍दैनौ?”


बेथसेदाको अन्‍धो मानिस

22 त्‍यसपछि उहाँ बेथसेदा आउनुभयो, र मानिसहरूले एउटा अन्‍धो मानिसलाई उहाँकहाँ ल्‍याए, र त्‍यसलाई छोइदिनुहोस्‌ भनी उहाँसँग बिन्‍ती गरे।

23 उहाँले त्‍यस अन्‍धो मानिसको हात समातेर त्‍यसलाई गाउँबाट बाहिर ल्‍याउनुभयो, र त्‍यसका आँखामा थुकेर त्‍यसमाथि आफ्‍ना हात राखी त्‍यसलाई सोध्‍नुभयो, “के तिमी केही देख्‍छौ?”

24 अनि माथितिर हेरेर त्‍यसले भन्‍यो, “म मानिसहरूलाई रूखहरूजस्‍तै हिँड़िरहेका देख्‍छु।”

25 तब उहाँले फेरि त्‍यसका आँखामा हात राख्‍नुभयो, र त्‍यसले एक टक लाएर हेर्‍यो। त्‍यसले आफ्‍नो दृष्‍टि प्राप्‍त गर्‍यो र सबै थोक छर्लङ्ग देख्‍न लाग्‍यो।

26 तब उहाँले त्‍यसलाई गाउँतिर नपस्‍ने हुकुम गरी त्‍यसको घरमा पठाउनुभयो।


पत्रुसको स्‍वीकार
मत्ती १६:१३-१६ ; लूका ९:१८-२१

27 येशू र उहाँका चेलाहरू कैसरिया फिलिप्‍पीका गाउँहरूमा जानुभयो। बाटोमा जाँदैगर्दा उहाँले आफ्‍ना चेलाहरूलाई यसो भनेर सोध्‍नुभयो, “मानिसहरूले के भन्‍छन्, म को हुँ?”

28 तिनीहरूले उहाँलाई भने, “कसैले भन्‍छन्, ‘बप्‍तिस्‍मा-दिने यूहन्‍ना।’ अरूहरूले ‘एलिया,’ अनि अरू कतिले भन्‍छन्, ‘अगमवक्ताहरूमध्‍ये एक जना’।”

29 तब उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तर तिमीहरूचाहिँ के भन्‍छौ, म को हुँ?” पत्रुसले उत्तर दिएर उहाँलाई भने, “तपाईं ख्रीष्‍ट हुनुहुन्‍छ।”

30 उहाँले तिनीहरूलाई उहाँको विषयमा कसैलाई केही नभन्‍नू भनी आज्ञा दिनुभयो!


आफ्‍नो मृत्‍युबारे येशूको भविष्‍यवाणी
मत्ती १६:२१-२८ ; लूका ९:२२-२७

31 “मानिसको पुत्रले धेरै दुःख भोग्‍नु, र धर्म-गुरुहरू, मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरूबाट इन्‍कार गरिनु र मारिनु अनि तीन दिनपछि जीवित भई उठ्‌नु आवश्‍यक छ” भनेर उहाँले तिनीहरूलाई सिकाउन लाग्‍नुभयो।

32 यसरी उहाँले यो कुरा प्रष्‍टै भन्‍नुभयो। तर यो सुनेर पत्रुसले उहाँलाई एकातिर लगेर हकार्न लागे।

33 तर फर्केर आफ्‍ना चेलाहरूलाई हेरी, पत्रुसलाई उहाँले यसो भनेर हप्‍काउनुभयो, “ए शैतान, मबाट हटिजा, किनकि तेरो मन परमेश्‍वरपट्टि छैन, तर मानिसपट्टि छ।”

34 तब उहाँले आफ्‍ना चेलाहरूका साथमा भीड़लाई आफूकहाँ बोलाएर तिनीहरूलाई भन्‍नुभयो, “कोही मानिस मपछि लाग्‍ने इच्‍छा गर्दछ भने त्‍यसले आफूलाई इन्‍कार गरोस्, र आफ्‍नो क्रूस उठाएर मेरो पछि लागोस्‌।

35 किनकि जसले आफ्‍नो प्राण बचाउने इच्‍छा गर्दछ, त्‍यसले त्‍यो गुमाउनेछ, तर मेरो र सुसमाचारको निम्‍ति आफ्‍नो प्राण गुमाउनेले त्‍यो बचाउनेछ।

36 किनभने मानिसले सारा जगत्‌ हात पारेर आफ्‍नो प्राण गुमायो भने त्‍यसलाई के फाइदा हुन्‍छ?

37 अथवा मानिसले आफ्‍नो प्राणको सट्टामा के दिन सक्‍छ?

38 अनि यस व्‍यभिचारी र पापी पुस्‍तामा जो मदेखि र मेरो वचनदेखि शर्माउँछ, मानिसको पुत्र पनि आफ्‍ना पिताको महिमामा पवित्र दूतहरूसँग आउँदा त्‍यसदेखि शर्माउनेछ।”

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy