मर्कूस 6 - नेपाली नयाँ संशोधित संस्करणनासरतमा येशूलाई इन्कार मत्ती १३:५३-५८ 1 त्यहाँबाट निस्केर उहाँ आफ्नै नगरमा फर्कनुभयो। उहाँका चेलाहरू उहाँको पछि लागे। 2 शबाथ-दिनमा उहाँले सभाघरमा शिक्षा दिन लाग्नुभयो। धेरै जना सुन्नेहरूले छक्क परेर भने, “यस मानिसले यी सब कहाँबाट पायो? यिनलाई दिइएको यो ज्ञान कस्तो हो? यिनका हातबाट भएका कार्यहरू कति शक्तिशाली? 3 के यिनी त्यही सिकर्मी होइनन् र? के यिनी त मरियमका छोरा तथा याकूब, योसेफ, यहूदा र सिमोनका दाजु होइनन् र? के यिनका बहिनीहरू पनि हामीसँगै छैनन् र?” अनि तिनीहरू उहाँसँग चिढ़िए। 4 तब येशूले तिनीहरूलाई भन्नुभयो, “अगमवक्तालाई आफ्नो देश र आफ्नो नातादारहरूका बीचमा र आफ्नै घरमा बाहेक अन्त कहीँ अनादर हुँदैन।” 5 र उहाँले त्यहाँ कुनै-कुनै रोगीहरूमाथि आफ्ना हात राखेर तिनीहरूलाई निको पार्ने कामबाहेक अरू कुनै शक्तिशाली काम गर्न सक्नुभएन। 6 तिनीहरूको अविश्वास देखेर उहाँ छक्क पर्नुभयो। अनि उहाँ गाउँ-गाउँमा शिक्षा दिँदैजानुभयो। येशूले बाह्र चेलाहरूलाई पठाउनुभएको मत्ती १०:१ , ५-१५ ; लूका ९:१-६ 7 उहाँले बाह्र जनालाई आफूकहाँ बोलाउनुभयो, र तिनीहरूलाई दुई-दुई गरी पठाउनुभयो। तिनीहरूलाई अशुद्ध आत्माहरूमाथि अधिकार पनि दिनुभयो। 8 तिनीहरूलाई उहाँले यस्तो आज्ञा दिनुभयो: “यात्राको निम्ति साथमा केही नबोक्नू, न त रोटी, न झोला, न खल्तीमा पैसा, तर एउटा लट्ठी मात्र बोक्नू। 9 जुत्ता लाउनू, तर अरू बढ़ी दौरा नबोक्नू।” 10 उहाँले तिनीहरूलाई भन्नुभयो, “जब कुनै घरमा पसौला, जबसम्म त्यस गाउँबाट निस्कँदैनौ तबसम्म त्यहीँ नै बस। 11 यदि कुनै ठाउँमा तिमीहरूको स्वागत भएन भने, र मानिसहरूले तिमीहरूको वचन सुन्न इन्कार गरे भने, त्यस ठाउँबाट तिमीहरू निस्कँदा तिनीहरूका विरुद्धमा गवाहीको लागि आफ्नो पैतालाको धुलो टकटक्याइदिनू।” 12 तब तिनीहरू निस्केर गई मानिसहरूले पश्चात्ताप गरून् भनी प्रचार गरे। 13 तिनीहरूले धेरै भूतहरूलाई निकाले, र धेरै रोगीहरूलाई तेलले अभिषेक गरेर निको पारे। बप्तिस्मा-दिने यूहन्नाको मृत्यु मत्ती १४:१-१२ ; लूका ९:७-९ 14 हेरोद राजाले येशूको कीर्ति सुने, किनकि उहाँको नाउँ प्रचलित भएको थियो। कतिले भन्थे, “बप्तिस्मा-दिने यूहन्ना मरेकाबाट जीवित भएछन्, यसैले त तिनीद्वारा यस्ता शक्तिका काम भइरहेछन्।” 15 तर अरूहरूले भने, “यिनी एलिया हुन्।” र अझै अरूहरूले भने, “यिनी त प्राचीन समयका अगमवक्ताहरूजस्तै एक अगमवक्ता हुन्।” 16 तर जब हेरोदले यो सुने तब उनले भने, “यूहन्ना, जसको शिर मैले काट्न लगाएँ, त्यही बौरिउठेछ।” 17 किनभने हेरोदले आफ्नो भाइ फिलिपकी पत्नी हेरोदियासको खातिर यूहन्नालाई पक्रन लाएर तिनलाई बाँधी झ्यालखानमा हालेका थिए, किनभने उनले हेरोदियासलाई विवाह गरेका थिए। 18 किनकि यूहन्नाले हेरोदलाई यसो भनेका थिए, “आफ्नो भाइकी श्रीमती राख्नु तपाईंलाई न्यायसङ्गत छैन।” 19 यसैले हेरोदियासले तिनीमाथि ईख राखेकी थिइन्, र तिनलाई मार्न चाहन्थिन्, तर सकेकी थिइनन्। 20 किनकि यूहन्नालाई एक धर्मात्मा र पवित्र मानिस भनी ठानेर हेरोद तिनीसँग डराउँथे, र तिनलाई सुरक्षित राखेका थिए। यूहन्नाको शिक्षा सुन्दा उनी साह्रै विचलित हुन्थे, तापनि खुसीसित सुन्थे। 21 तर अनुकूल मौका त्यस बेला आयो, जब हेरोदले आफ्नो जन्मोत्सवमा आफ्ना उच्च पदाधिकारीहरू, अधिकृतहरू र गालीलका मुख्य-मुख्य मानिसहरूलाई ठूलो भोज दिए। 22 किनकि जब हेरोदियासकी आफ्नै छोरी भित्र आएर नाची, तब तिनले हेरोद र उनका अतिथिहरूलाई खुसी तुल्याई। अनि राजाले त्यस केटीलाई भने, “तिमीलाई जे इच्छा लाग्छ सो माग, र म तिमीलाई दिनेछु।” 23 तिनले शपथ खाएर त्यसलाई भने, “तिमी मसँग जे माग्छ्यौ म मेरो आधा राज्यसम्म पनि तिमीलाई दिनेछु।” 24 अनि त्यसले बाहिर निस्केर आफ्नी आमालाई सोधी, “म के मागूँ?” तिनले भनिन्, “बप्तिस्मा-दिने यूहन्नाको शिर।” 25 त्यो झट्टै आतुरीसाथ भित्र राजाकहाँ गई, र यसो भनेर मागी, “हजूरले अहिले मलाई बप्तिस्मा-दिने यूहन्नाको शिर थालमा दिनुहोस् भन्ने म इच्छा गर्दछु।” 26 राजा अत्यन्तै दुःखित भए, तर उनले आफ्नो शपथ र भोजमा बस्ने अतिथिहरूका खातिर त्यस केटीलाई दिएको वचन तोड्न चाहेनन्। 27 राजाले तुरुन्तै गारदको एक जना सिपाहीलाई पठाएर यूहन्नाको शिर ल्याउने हुकुम दिए। अनि त्यसले झ्यालखानमा गएर यूहन्नाको शिर काट्यो, 28 र तिनको शिर थालमा ल्याएर केटीलाई दियो, र केटीले त्यो त्यसकी आमालाई दिई। 29 यूहन्नाका चेलाहरूले जब यो कुरा सुने तब तिनीहरू आएर तिनको लाश उठाएर चिहानमा लगेर राखे। येशूले पाँच हजारलाई खुवाउनुभएको मत्ती १४:१३-२१ ; लूका ९:१०-१७ ; यूहन्ना ६:५-१३ 30 अनि प्रेरितहरू येशूकहाँ भेला भए, र तिनीहरूले जे-जे गरेका थिए र सिकाएका थिए, ती सबै उहाँलाई बयान गरे। 31 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू आफै पनि मसँग एकान्त ठाउँमा आओ, र केही थकाइ मार।” किनकि त्यहाँ आउनेजानेहरू धेरै थिए, र उहाँहरूलाई खानसम्म पनि फुर्सद थिएन। 32 अनि उहाँहरू डुङ्गामा सुटुक्क एउटा एकान्त ठाउँमा जानुभयो। 33 धेरै मानिसहरूले उहाँहरू गइरहनुभएको देखे, र धेरैले चिने, अनि सबै सहरहरूबाट पैदलै दौड़ेर त्यता गए, र उहाँहरूलाई उछिनेर अगाडि पुगे। 34 जब उहाँ किनारमा उत्रनुभयो तब उहाँले एउटा ठूलो भीड देख्नुभयो, र उहाँले तिनीहरूलाई टिठ्याउनुभयो। किनकि तिनीहरू गोठालो नभएका भेड़ाहरूजस्ता थिए। र उहाँले तिनीहरूलाई धेरै कुरा सिकाउन लाग्नुभयो। 35 अनि जब दिन धेरै ढल्क्यो तब उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, “यो एकान्त ठाउँ छ, र अब दिन धेरै ढल्किसक्यो। 36 मानिसहरूलाई बिदा दिनुहोस्, र तिनीहरूले वरपरका बस्ती र गाउँहरूमा गएर आफ्ना लागि केही खानेकुरा किनून्।” 37 तर उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।” तर तिनीहरूले उहाँलाई भने, “के हामीले गएर दुई सय दिनारको रोटी किनेर तिनीहरूलाई खान दिने र?” 38 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूसँग कति वटा रोटी छन्? गएर हेर।” अनि पत्ता लाएपछि तिनीहरूले भने, “पाँच रोटी र दुई वटा माछा।” 39 अनि उहाँले मानिसहरूलाई हरियो चउरमा दल बाँधेर बस्ने हुकुम गर्नुभयो। 40 तिनीहरू सय-सय र पचास-पचासका ताँती लागेर बसे। 41 उहाँले ती पाँच रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेरी आशीर्वाद दिनुभयो, र ती रोटीहरू भाँच्नुभयो अनि मानिसहरूका अगाडि राखिदेऊन् भनेर चेलाहरूलाई दिनुभयो, र ती दुई माछा पनि उहाँले सबैलाई बाँड़िदिनुभयो। 42 अनि सबैले खाए, र तृप्त भए। 43 पछिबाट चेलाहरूले रोटी र माछाका उब्रेका टुक्राहरू बाह्र डालाभरि उठाए। 44 रोटी खाने पुरुषहरू पाँच हजार थिए। येशू पानीमाथि हिँड्नुभएको मत्ती १४:२२-३६ ; यूहन्ना ६:१६-२१ 45 अनि उहाँले तुरुन्तै आफ्ना चेलाहरूलाई डुङ्गामा चढ़ेर पारि बेथसेदामा उहाँभन्दा अघि जान अह्राउनुभयो, र त्यतिञ्जेल उहाँले चाहिँ भीड़लाई बिदा दिनुभयो। 46 तिनीहरूसँग बिदा भएपछि उहाँचाहिँ डाँड़ामा प्रार्थना गर्न जानुभयो। 47 साँझ पर्दा डुङ्गा समुद्रको बीचमा थियो, र उहाँचाहिँ एकलै पाखामा हुनुहुन्थ्यो। 48 चेलाहरूलाई डुङ्गा ख्याउन कष्ट भइरहेको उहाँले देख्नुभयो, किनभने बतास तिनीहरूका विपरीत थियो। तीन बजे बिहानतिर उहाँ तिनीहरूकहाँ समुद्रमाथि हिँड्दैआउनुभयो, र तिनीहरूलाई उछिनेर जान लाग्नुहुँदा 49 तिनीहरूले उहाँलाई समुद्रमाथि हिँड़िरहनुभएको देखेर प्रेत हो भन्ठाने, र तिनीहरू चिच्च्याए। 50 किनकि उहाँलाई देखेर सबै डराएका थिए। तर झट्टै उहाँले तिनीहरूलाई भन्नुभयो, “ढाड़स गर, म हुँ, नडराओ।” 51 अनि उहाँ तिनीहरूकहाँ डुङ्गाभित्र चढ्नुभयो, र बतास थामिहाल्यो। अनि तिनीहरू अत्यन्त अचम्मित भए, 52 किनकि तिनीहरूले रोटीका विषयको कुरा बुझेकै थिएनन्, तर तिनीहरूको हृदय कठोर भएको थियो। 53 समुद्र पार भएपछि उहाँहरू गनेसरेतको मुलुकमा आइपुग्नुभयो, र तिनीहरूले डुङ्गा किनारमा लगाए। 54 जब उहाँहरू डुङ्गाबाट निस्कनुभयो तब उत्तिखेरै मानिसहरूले येशूलाई चिनिहाले, 55 र छेउछाउका समस्त गाउँ हुँदो तिनीहरू दगुरिगए, र जहाँ येशू हुनुहुन्छ भनी सुने त्यहाँ बिरामीहरूलाई बिछ्याउनामा राखेर ल्याउन लागे। 56 अनि गाउँहरूमा वा सहरहरूमा वा बस्तीहरूमा जहाँ-जहाँ उहाँ पस्नुभयो, मानिसहरूले रोगीहरूलाई बजार-बजारमा राखिदिए, र उहाँका वस्त्रको छेउ मात्र पनि छुन पाऔं भनी तिनीहरूले उहाँलाई बिन्ती गरे, र जतिले छोए तिनीहरू सबै निको भए। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society