मर्कूस 5 - नेपाली नयाँ संशोधित संस्करणभूत लागेको मानिसको छुटकारा मत्ती ८:२८-३४ ; लूका ८:२६-३९ 1 अनि उहाँहरू समुद्रको पारिपट्टि गेरासेनसको मुलुकमा आउनुभयो। 2 येशू डुङ्गाबाट बाहिर निस्कनेबित्तिकै चिहानबाट अशुद्ध आत्मा लागेको एक जना मानिसले उहाँलाई भेट्यो। 3 त्यो चिहानहरू हुँदो बस्दथ्यो। कसैले पनि त्यसलाई साङ्लाले समेत बाँध्न सक्दैनथ्यो। 4 किनकि त्यो धेरै पल्ट नेल र साङ्लाहरूले बाँधिएको थियो, र पनि त्यसले साङ्लाहरू टुक्रा-टुक्रा पारी छिनाल्थ्यो। कुनै मानिसले पनि त्यसलाई वशमा पार्न सकेको थिएन। 5 त्यो रात र दिन सधैँ चिहानहरू र डाँड़ाहरूमा कराउँदै आफूले आफैलाई ढुङ्गाले काट्दै हिँड्थ्यो। 6 अनि जब त्यसले येशूलाई टाढ़ैबाट देख्यो तब दौड़ेर आयो, र उहाँलाई दण्डवत् गर्यो। 7 अनि ठूलो सोरले चिच्च्याएर त्यसले भन्यो, “हे सर्वोच्च परमेश्वरका पुत्र येशू, तपाईंको मसँग के सरोकार? म परमेश्वरमा शपथ खाएर तपाईंलाई बिन्ती गर्दछु, कि मलाई दुःख नदिनुहोस्।” 8 किनकि उहाँले त्यसलाई भन्नुभएको थियो, “ए अशुद्ध आत्मा, त्यस मानिसबाट निस्किआइज।” 9 अनि उहाँले त्यसलाई सोध्नुभयो, “तेरो नाउँ के हो?” त्यसले उहाँलाई भन्यो, “मेरो नाउँ त फौज हो, किनकि हामी धेरै छौं।” 10 ती भूतात्माहरूलाई त्यस इलाकाबाहिर ननिकालिदिनुहोस् भनी त्यसले उहाँलाई आग्रहपूर्वक बिन्ती गर्यो। 11 त्यहाँ नजिकैको डाँडामा सुँगुरको एक ठूलो बगाल चरिरहेको थियो। 12 ती भूतात्माहरूले यसो भनी उहाँलाई बिन्ती गरे, “हामीलाई सुँगुरहरूकहाँ जान दिनुहोस्, र हामी तीभित्र पस्छौं।” 13 तब उहाँले तिनीहरूलाई अनुमति दिनुभयो, र अशुद्ध आत्माहरू बाहिर निस्केर सुँगुरहरूभित्र पसे, अनि करीब दुई हजार सुँगुरको त्यो बगाल भिरालोबाट समुद्रतिर हुर्रिदैगए, र समुद्रमा डुबेर मरे। 14 ती सुँगुर चराउनेहरू भागे, र सहर र गाउँ-गाउँमा खबर दिए। र के भएको हो सो हेर्न मानिसहरू त्यहाँ आए। 15 तब तिनीहरू येशूकहाँ आए, र देखे कि त्यो भूत लागेको मानिस ठीक मनको भएर लुगा लगाई बसिरहेको थियो। यो देखेर तिनीहरू डराए। 16 अनि जसले यो देखेका थिए, तिनीहरूले भूत लागेको मानिस र सुँगुरहरूलाई के भएको थियो सो बताइदिए। 17 अनि तिनीहरूको इलाकाबाट गइहाल्नुहोस् भनी मानिसहरूले येशूलाई बिन्ती गर्न लागे। 18 उहाँ डुङ्गामा पस्न लाग्नुहुँदा त्यो भूत लागेको मानिसले उहाँसँग रहनलाई बिन्ती गर्यो। 19 तर उहाँले त्यसलाई अनुमति दिनुभएन, तर त्यसलाई भन्नुभयो, “तिमी आफ्नो घरमा गएर तिम्रा मित्रहरूलाई प्रभुले तिम्रो निम्ति गर्नुभएको महान् काम र तिमीलाई देखाउनुभएको ठूलो दयाको वर्णन गरिदेऊ।” 20 अनि त्यो मानिस हिँड़िहाल्यो, र येशूले त्यसको निम्ति कति ठूलो काम गरिदिनुभएको थियो सो डेकापोलिसभरि प्रचार गर्न लाग्यो, र सबै मानिसहरूले अचम्म माने। मरेकी ठिटी र रोगी स्त्री मत्ती ९:१८-२६ ; लूका ८:४०-५६ 21 जब येशू फेरि डुङ्गामा समुद्रको पारिपट्टि जानुभयो, तब एउटा ठूलो भीड उहाँको वरिपरि भेला भयो। उहाँचाहिँ समुद्रको किनारमा हुनुहुन्थ्यो। 22 सभाघरका शासकहरूमध्ये याइरस नाउँका एक जना उहाँकहाँ आए, र उहाँलाई देखेर उहाँका पाउमा घोप्टो परे, 23 र यसो भनेर बिन्ती गरे, “मेरी सानी छोरी मर्न लागेकी छे, आएर त्यसमाथि तपाईंका हात राखिदिनुहोस्, र त्यो निको होस् र बाँचोस्।” 24 तब येशू तिनीसँग जानुभयो। एउटा ठूलो भीड उहाँको पछि लाग्यो, र मानिसहरू उहाँको वरिपरि ठेलमठेला गर्न लागे। 25 अनि बाह्र वर्ष अघिदेखि रगत बग्ने रोग भएकी एउटी स्त्री त्यहाँ थिई। 26 त्यसले धेरै वैद्यहरूका हातबाट अनेक कष्ट पाएर आफूसँग भएका सारा धनसम्पत्ति खर्च गरेर पनि निको नभई बरु झन् खराब हालतमा पुगेकी थिई। 27 येशूको विषयमा त्यसले सुनेकी थिई, र भीड़को पछिल्तिरबाट आएर उहाँको वस्त्र त्यसले छोई। 28 किनकि त्यसले मनमनै भनी, “मैले उहाँको वस्त्र मात्र छोएँ भने पनि म निको हुनेछु।” 29 अनि तुरुन्त त्यसको रगत बग्ने बन्द भइहाल्यो, र आफ्नो शरीरको रोग निको भएको त्यसले थाहा पाई। 30 आफूबाट शक्ति बाहिर निस्केको झट्टै येशूले थाहा पाएर भीड़मा पछिल्तिर फर्केर सोध्नुभयो, “कसले मेरो वस्त्र छोयो?” 31 चेलाहरूले उहाँलाई भने, “भीड़ले ठेलमठेला गरेको त तपाईंले देख्नुभएकै छ, र पनि तपाईं भन्नुहुन्छ “कसले मलाई छोयो?” 32 उहाँलाई छुने को हो भनी उहाँले चारैतिर हेर्न लाग्नुभयो। 33 तब आफूलाई जे भएको थियो सो थाहा पाएर त्यो स्त्री डरले काम्दै आएर येशूको अगि घोप्टो परी, र उहाँलाई सबै सत्य कुरा भनिदिई। 34 तब उहाँले त्यसलाई भन्नुभयो, “ए छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। शान्तिसाथ जाऊ। तिम्रो रोग निको होस्।” 35 उहाँ बोल्दैहुनुहुँदा, शासकको घरबाट मानिसहरू आएर भने, “तपाईंकी छोरी त मरी। गुरुज्यूलाई अब अरू कष्ट किन दिनुहुन्छ?” 36 तर तिनीहरूले गरेका कुराहरूलाई ध्यान नदिई येशूले सभाघरका शासकलाई भन्नुभयो, “नडराऊ, विश्वास मात्र गर।” 37 अनि उहाँले पत्रुस, याकूब र याकूबका भाइ यूहन्नालाई बाहेक अरू कसैलाई पनि आफ्नो साथ आउन अनुमति दिनुभएन। 38 उहाँहरू सभाघरका शासकको घरमा आउनुभयो, अनि उहाँले खैलाबैला गर्नेहरू, रुनेहरू र ठूलो सोरले बिलौना गर्नेहरूलाई देख्नुभयो। 39 भित्र पसेर उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन खैलाबैला गर्छौ र रुन्छौ? ठिटी मरेकी छैन, तर सुतिरहेकी छे।” 40 तर तिनीहरू उहाँको कुरामाथि हाँसे। तब उहाँले तिनीहरू सबैलाई बाहिर निकाल्नुभयो, र ठिटीका बुबा र आमा र उहाँसँग हुनेहरूलाई साथमा लिएर ठिटी भएको ठाउँभित्र जानुभयो। 41 अनि ठिटीको हात समातेर उहाँले त्यसलाई भन्नुभयो, “तालिता कूमी,” जसको अर्थ हो, “ए बालिका, म तिमीलाई भन्दछु, उठ।” 42 अनि ठिटी तुरुन्तै उठी, र हिँड्डुल गर्न लागी। त्यो बाह्र वर्षकी थिई। अनि त्यति नै बेला तिनीहरू आश्चर्यचकित भए। 43 उहाँले तिनीहरूलाई यो कसैले थाहा नपाओस् भन्ने कड़ा आज्ञा दिनुभयो। अनि बालिकालाई चाहिँ केही खान दिनू भनी तिनीहरूलाई भन्नुभयो। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society