मर्कूस 4 - नेपाली नयाँ संशोधित संस्करणबीउ छर्नेको दृष्टान्त मत्ती १३:१-२३ ; लूका ८:४-१५ 1 पछिबाट फेरि समुद्रको किनारमा उहाँले शिक्षा दिन लाग्नुभयो। उहाँका चारैपट्टि भीड यति ठूलो भयो कि उहाँ समुद्रमा भएको एउटा डुङ्गामा चढ्नुभयो र त्यसैमा बस्नुभयो। मानिसहरूचाहिँ समुद्रको किनारका पाखामा बसेका थिए। 2 अनि उहाँले तिनीहरूलाई दृष्टान्तहरूमा धेरै कुरा सिकाउनुभयो। उहाँले आफ्नो शिक्षामा तिनीहरूलाई यसो भन्नुभयो: 3 “सुन! हेर, एक जना बीउ छर्ने मानिस बीउ छर्नलाई निस्क्यो। 4 अनि छर्दाखेरि केही बीउ बाटोतिर परे, र ती बीउ चराचुरुङ्गीले आएर खाइहाले। 5 केही बीउ ढुङ्गेनी ठाउँमा परे, जहाँ धेरै माटो थिएन, र माटोको गहिराइ नहुनाले ती छिट्टै उम्रे। 6 घाम निकै चर्केपछि टुसाहरू डढ़िहाले, जरा नलागेकोले ती ओइलिहाले। 7 केही बीउचाहिँ काँढ़ाहरूका बीचमा परे। काँढ़ाहरू बढ़े, र बोट निसासिए, अनि तिनमा फल लागेनन्। 8 तर केही बीउ असल जमिनमा परे, र उम्रँदै र बढ्दैगएर तीस गुणा, साठी गुणा र सय गुणा फल दिए।” 9 अनि उहाँले भन्नुभयो, “जसको सुन्ने कान छ, त्यसले सुनोस्।” 10 जब उहाँ एकलै हुनुभयो, तब बाह्र जना चेलाहरू र उहाँको वरिपरि भएकाहरूले उहाँलाई दृष्टान्तको विषयमा सोधे। 11 उहाँले तिनीहरूलाई भन्नुभयो, “परमेश्वरका राज्यको रहस्य तिमीहरूलाई दिइएको छ, तर बाहिरकाहरूलाई भने सबै कुरा दृष्टान्तमा भनिन्छ, 12 कि तिनीहरू हेर्न त हेर्छन्, तर देख्दैनन्, सुन्न त सुन्छन्, तर बुझ्दैनन्, नत्रता तिनीहरूले पश्चात्ताप गर्नेथिए, र तिनीहरूको पाप क्षमा हुनेथियो।” 13 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू यस दृष्टान्तको अर्थ बुझ्दैनौ? त्यसो भए अरू सब दृष्टान्तहरूका अर्थ कसरी बुझ्नेछौ? 14 बीउ छर्नेले वचन छर्दछ। 15 कोही मानिसहरू बाटोतिर छरिएका बीउजस्तै छन्। जब तिनीहरूले वचन सुन्छन्, तब तुरुन्तै शैतान आउँछ, र तिनीहरूमा छरिएको वचन लगिहाल्छ। 16 त्यसै गरी ढुङ्गेनी ठाउँमा छरिएकाहरू यी नै हुन्, जसले जब वचन सुन्छन् तब खुसीसाथ तुरुन्तै त्यो ग्रहण गर्छन्। 17 तर तिनीहरूको आफ्नो जरा नलागेकोले ती थोरै बेर मात्र टिक्छन्। तर जब वचनको कारण सङ्कष्ट वा सतावट आउँछ, तिनीहरू तुरुन्तै लड़िहाल्छन्। 18 काँढ़ाहरूका बीचमा छरिएका ती नै हुन्, जसले वचन सुन्छन्, 19 तर यस संसारको फिक्री र धनको मोह र अरू थोकको लालच आएर वचनलाई निसासिदिन्छन्। ती फलवन्त हुँदैनन्। 20 तर असल जमिनमा छरिएकाहरू ती हुन्, जसले वचन सुन्छन्, र ग्रहण गर्छन्, र फल दिन्छन् तीस गुणा, साठी गुणा र सय गुणा।” सामदानमाथि बत्ती 21 उहाँले तिनीहरूलाई भन्नुभयो, “के कसैले बत्ती बालेर पाथीमुनि वा खाटमुनि राख्न भनेर भित्र ल्याउँछ? के सामदानमाथि राख्न भनेर होइन र? 22 कुनै थोक लुकाएर राख्न सकिँदैन जो प्रकट गरिनेछैन, अनि कुनै थोक गुप्त छैन जो प्रकाशमा ल्याइनेछैन। 23 यदि कुनै मानिसको सुन्ने कान छ भने त्यसले सुनोस्।” 24 उहाँले तिनीहरूलाई फेरि भन्नुभयो, “तिमीहरू जे सुन्छौ, त्यसमा ध्यान देओ। किनकि जुन नापले तिमीहरू दिन्छौ त्यही नापमा तिमीहरूले पाउँछौ। र तिमीहरूलाई झन् बढ़ी दिइनेछ। 25 किनभने जससँग छ त्यसलाई दिइनेछ, र जससँग छैन त्यससँग भएको पनि त्यसबाट खोसिनेछ।” मौलाउने बीउको दृष्टान्त 26 उहाँले भन्नुभयो, “परमेश्वरको राज्य यस्तो हो— कुनै एक जना मानिसले जमिनमा बीउ छर्छ, 27 र ऊ सुते पनि, जागा रहे पनि रातदिन त्यो बीउचाहिँ टुसाउँछ र बढ्छ, तर त्यो कसरी बढ्छ, सो उसले जान्दैन। 28 जमिन आफैले उमार्छ, पहिले टुसा, त्यसपछि बाला, तब बालामा पूरा दाना लाग्छ। 29 तर जब अन्न पाक्छ, तब तुरुन्तै उसले हँसिया लगाउन थाल्छ, किनभने फसलको बेला आइपुगेको हुन्छ।” रायोको बीउको दृष्टान्त मत्ती १३:३१-३२ ; लूका १३:१८-१९ 30 उहाँले फेरि भन्नुभयो, “परमेश्वरका राज्यको तुलना केसँग गरौं? अथवा कुन दृष्टान्तमा यसको व्याख्या गरौं? 31 यो त रायोको बीउको दाना जस्तो छ, जो जमिनमा छरिन्छ। पृथ्वीभरिमा सबै बीउहरूमा साना भए तापनि 32 जब त्यो छरिन्छ, तब त्यो बढ्छ, र सबै सागपातहरूभन्दा त्यो ठूलो हुन्छ, र त्यसले ठूला-ठूला हाँगाहरू हाल्छ, र आकाशका पक्षीहरूले त्यसका छहारीमा गुँड़ लाउँछन्।” 33 तिनीहरूले बुझ्न सकेसम्म उहाँले यस्तै धेरै दृष्टान्तहरू भनेर तिनीहरूलाई वचन सुनाउनुभयो। 34 दृष्टान्तविना उहाँ तिनीहरूसँग बोल्नुभएन, तर आफ्ना निज चेलाहरूलाई उहाँले गुप्तमा सबैको अर्थ खोलिदिनुहुन्थ्यो। येशूले आँधीलाई शान्त पार्नुभएको मत्ती ८:१८ , २३-२७ ; लूका ८:२२-२५ 35 त्यो दिन साँझ परेपछि उहाँले चेलाहरूलाई भन्नुभयो, “आओ, हामी पारिपट्टि जाऔं।” 36 अनि भीड़सँग बिदा लिएपछि, उहाँ जुन डुङ्गामा बस्नुभएको थियो त्यसैमा उहाँलाई चेलाहरूले आफ्नासाथ लगे। र अरू-अरू डुङ्गाहरू पनि उहाँको साथमा थिए। 37 अनि त्यहाँ ठूलो हुरी-बतास चल्यो, र छालहरू डुङ्गामा बज्रन लागे, यहाँसम्म कि डुङ्गा पानीले भरिन लाग्यो। 38 उहाँ आफैचाहिँ डुङ्गाको पछिल्लो भागमा एउटा सिरानी लाएर निदाइरहनुभएको थियो। तिनीहरूले उहाँलाई यसो भन्दै बिउँझाए, “गुरुज्यू, हामी डुब्न लाग्यौं भन्ने के तपाईंलाई वास्ता छैन?” 39 तब उहाँ बिउँझनुभयो, र बतासलाई हप्काउनुभयो, र समुद्रका छालहरूलाई भन्नुभयो, “शान्त हो! रोकिजा!” अनि बतास थामियो र ठूलो सन्नाटा छायो। 40 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन यसरी भयभीत हुन्छौ? तिमीहरूमा विश्वास छैन?” 41 तिनीहरू साह्रै भयभीत भए र आपसमा भन्न लागे, “यिनी को हुन्? बतास र समुद्रले पनि यिनको हुकुम मान्छन्।” |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society