Online Bible

- Reklamy -

मर्कूस 11 - नेपाली नयाँ संशोधित संस्करण


यरूशलेममा येशूको प्रवेश
मत्ती २१:१-११ ; लूका १९:२९-३८ ; यूहन्‍ना १२:१२-१५

1 जब उहाँहरू यरूशलेमको नजिक जैतून डाँड़ाको छेउमा बेथफागे र बेथानिया भन्‍ने ठाउँमा आइपुग्‍नुभयो, तब उहाँले आफ्‍ना चेलाहरूमध्‍ये दुई जनालाई यसो भनेर पठाउनुभयो,

2 “तिमीहरूका सामुन्‍नेको गाउँमा जाओ, र पस्‍दापस्‍दै तिमीहरूले अहिलेसम्‍म कोही मानिस नचढ़ेको एउटा गधाको बछेड़ो भेट्टाउनेछौ। त्‍यसलाई फुकाएर यहाँ ल्‍याओ।

3 कसैले तिमीहरूलाई ‘यो के गरेको?’ भन्‍यो भने, ‘प्रभुलाई यसको खाँचो परेको छ, र उहाँले चाँड़ै फर्काइदिनुहुनेछ’ भन।”

4 तब तिनीहरू गए, र त्‍यो बछेड़ो खुला गल्‍लीमा एउटा घरको बाहिरपट्टि ढोकानेर बाँधिएको भेट्टाए, र त्‍यसलाई फुकाए।

5 त्‍यहाँ उभिएकाहरूमध्‍ये कसै-कसैले तिनीहरूलाई सोधे, “बछेड़ोलाई फुकाएर तिमीहरू के गर्दैछौ?”

6 येशूले तिनीहरूलाई अह्राउनुभएजस्‍तै तिनीहरूले भने, र उनीहरूले तिनीहरूलाई जान दिए।

7 तिनीहरूले बछेड़ो येशूकहाँ ल्‍याए, र आफ्‍ना वस्‍त्रहरू त्‍यसमाथि राखिदिए, र उहाँ त्‍यसमाथि सवार हुनुभयो।

8 धेरैले आफ्‍ना वस्‍त्रहरू र अरूहरूले मैदानबाट स्‍याउलाहरू काटेर बाटोमा ओछ्याए।

9 अनि उहाँको अगि-अगि हिड्‌ने र पछिपछि आउनेहरूले यसो भन्‍दै जय-ध्‍वनि लगाए, “होसन्‍ना! धन्‍य उहाँ, जो परमप्रभुको नाउँमा आउनुहुन्‍छ!

10 धन्‍य होस्, हाम्रा पिता दाऊदको त्‍यो आउने राज्‍य, परमधाममा होसन्‍ना!”

11 उहाँ यरूशलेममा आएर मन्‍दिरभित्र पस्‍नुभयो। अनि उहाँले वरिपरिका सब थोकमाथि नजर गर्नुभएपछि अबेला भएको हुनाले बाह्रै जनाका साथमा उहाँ बेथानिया जानुभयो।


येशूले मन्‍दिर शुद्ध गर्नुभएको
मत्ती २१:१२-१७ , १८-२२ ; लूका १९:४५-४७ ; यूहन्‍ना २:१३-१६

12 भोलिपल्‍ट उहाँहरू बेथानियाबाट आउनुहुँदा उहाँ भोकाउनुभयो।

13 अनि टाढ़ामा पातले भरिएको एउटा अञ्‍जीरको रूख देखेर कतै त्‍यसमा केही फल पाउँछु कि भनेर उहाँ जानुभयो, तर त्‍यहाँ पुग्‍नुभएपछि उहाँले रूखमा पातबाहेक केही पाउनुभएन, किनकि त्‍यस बेला अञ्‍जीरको फल फल्‍ने समय भएको थिएन।

14 तब उहाँले त्‍यस रूखलाई भन्‍नुभयो, “अब उसो कसैले पनि तँबाट फल नखाओस्‌।” अनि यो भनेको उहाँका चेलाहरूले सुने।

15 अनि यरूशलेममा पुग्‍नुभएपछि उहाँ मन्‍दिरभित्र पस्‍नुभयो, अनि मन्‍दिरमा किनबेच गर्नेहरूलाई बाहिर निकाल्‍नुभयो र पैसा साट्‌नेका टेबिलहरू र परेवा बेच्‍नेका बस्‍ने ठाउँहरू पल्‍टाइदिनुभयो।

16 उहाँले कसैलाई कुनै थोक मन्‍दिरबाट लैजान दिनुभएन।

17 अनि उहाँले शिक्षा दिँदै भन्‍नुभयो, “के यसो लेखिएको छैन, ‘मेरो घर सब जातिहरूका निम्‍ति प्रार्थनाको घर कहलाइनेछ’? तर तिमीहरूले त यसलाई डाँकूहरूको अड्डा बनाएका छौ।”

18 अनि मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरूले यो सुनेर उहाँलाई कसरी नाश पारौं भनी उपाय खोज्‍न लागे। किनभने तिनीहरू उहाँसँग डराउँथे, किनकि सारा भीड़ले उहाँको शिक्षामा अचम्‍म मानेका थिए।

19 साँझ पर्दा उहाँ सहर बाहिर निस्‍केर जानुभयो।


विश्‍वासको शक्ति
मत्ती २१:१८-२२

20 बिहान त्‍यहाँबाट पहिलेकै बाटो जानुहुँदा उहाँहरूले त्‍यस अञ्‍जीरको रूखलाई जरैबाट सुकेको देख्‍नुभयो।

21 अनि पत्रुसलाई यो सम्‍झना भयो, र तिनले उहाँलाई भने, “रब्‍बी, हेर्नुहोस्, तपाईंले सराप दिनुभएको अञ्‍जीरको रूख त सुकेछ।”

22 येशूले तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो, “परमेश्‍वरमा विश्‍वास राख।

23 साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, यदि कसैले आफ्‍नो हृदयमा शङ्का गर्दैन तर आफूले भनेका कुरा पूरा हुन्‍छ भनी विश्‍वास गरेर यस पहाड़लाई ‘उखेलिएर तँ समुद्रमा खस्’ भन्‍यो भने, त्‍यसको निम्‍ति त्‍यस्‍तै हुनेछ।

24 यसकारण म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले प्रार्थनामा जेसुकै माग्‍छौ सो पाएका छौं भन्‍ने विश्‍वास राख, र त्‍यो तिमीहरूको हुनेछ।

25 जब तिमीहरू प्रार्थना गर्न खड़ा हुन्‍छौ, तब कसैको विरुद्धमा तिमीहरूको केही छ भने क्षमा गर, ताकि स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गरिदेऊन्‌।

26 [तर क्षमा गरेनौ भने, स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गर्नुहुनेछैन।”]


येशूको अधिकारबारे प्रश्‍न
मत्ती २१:२३-२७ ; लूका २०:१-८

27 उहाँहरू फेरि यरूशलेममा आउनुभयो। अनि येशू मन्‍दिरमा यताउता हिँड़िरहनुहुँदा मुख्‍य पूजाहारीहरू, शास्‍त्रीहरू, धर्म-गुरुहरू उहाँकहाँ आए।

28 तिनीहरूले उहाँलाई प्रश्‍न गरे, “कुन अधिकारले तिमी यी कामहरू गर्दछौ? यी कामहरू गर्ने अधिकार तिमीलाई कसले दियो?”

29 येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई एउटा प्रश्‍न सोध्‍छु, र तिमीहरूले त्‍यसको जवाफ देओ, र कुन अधिकारले म यी काम गर्दछु, सो तिमीहरूलाई भन्‍नेछु।

30 यूहन्‍नाले दिएको बप्‍तिस्‍मा स्‍वर्गबाट हो कि मानिसबाट, मलाई जवाफ देओ।”

31 तब तिनीहरू यसो भन्‍दै आपसमा बहस गर्न लागे, “‘स्‍वर्गबाट’ भनौं भनेता ‘तिमीहरूले उनीमाथि किन विश्‍वास गरेनौ’ भनी तिनले भन्‍नेछन्‌।

32 ‘मानिसहरूबाट’ भनौं कि” तर यसो भन्‍न उनीहरू जनतादेखि डराए। किनकि सबैले यूहन्‍नालाई साँचो अगमवक्ता भनी ठान्‍थे।

33 तब तिनीहरूले येशूलाई जवाफ दिएर भने, “हामीलाई थाहा छैन।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “म पनि कुन अधिकारद्वारा यी काम गर्दछु, सो तिमीहरूलाई भन्‍दिनँ।”

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy