Online Bible

- Reklamy -

मीकाको पुस्तक 6 - नेपाली नयाँ संशोधित संस्करण


इस्राएलीहरूका विरुद्धमा परमप्रभुको गुनासो

1 परमप्रभु जे भन्‍नुहुन्‍छ, सो तिमीहरू ध्‍यानसित सुन: “खड़ा होओ, र पर्वतहरूका सामु तिमीहरूको उजूर पेश गर, र तिमीहरू के भन्‍छौ डाँड़ाहरूले सुनून्‌।

2 हे पर्वत हो, हे पृथ्‍वीका अनन्‍त जग हो, परमप्रभुको आरोप ध्‍यानसित सुन। किनकि आफ्‍नो प्रजासित उहाँको गुनासो छ, उहाँले इस्राएलमाथि एक अपराधको दोष लाउँदैहुनुहुन्‍छ।

3 “हे मेरा प्रजा, मैले तिमीहरूलाई के गरें? मैले कसरी तिमीहरूलाई बोझ बोकाएको छु र? मलाई जवाफ देओ।

4 मैले त तिमीहरूलाई मिश्रदेशदेखि माथि ल्‍याएँ र तिमीहरूलाई दासत्‍वको देशबाट मोल तिरेर छुटाएँ। तिमीहरूका अगुवा हुनलाई मोशा, हारून र मिरियमलाई पनि मैले पठाएँ।

5 हे मेरा प्रजा, मोआबको राजा बालाकले के सल्‍लाह गरेको थियो, र बओरको छोरा बालामले त्‍यसलाई के जवाफ दियो, त्‍यो स्‍मरण गर। शित्तीमदेखि गिलगालसम्‍मैको यात्रालाई सम्‍झ, ताकि तिमीहरूले परमप्रभुका धार्मिक कामहरूलाई जान्‍न सक।”

6 के लिएर म परमप्रभुको सामु आऊँ, र उच्‍च भएका परमेश्‍वरको सामु निहुरूँ? के एक वर्षे बाछाहरू लिएर होमबलि चढ़ाउनलाई म उहाँको सामु आऊँ?

7 के परमप्रभु हजारौँ भेड़ाहरू र तेलका दश हजार नदीसित प्रसन्‍न हुनुहुन्‍छ र? के म आफ्‍नो अपराधको लागि मेरो जेठो छोरालाई र मेरो प्राणको पापको लागि मेरो शरीरको फललाई चढ़ाऊँ?

8 ए मानिस, जे असल छ, त्‍यो उहाँले तँलाई देखाउनुभएको छ। र परमप्रभुले तँबाट के चाहनुहुन्‍छ? केवल यति, ठीकसित काम गर्नू र कृपालाई प्रेम गर्नू र तेरा परमेश्‍वरसित विनम्र भएर हिँड्‌नू।


इस्राएलको दोष र सजाय

9 ध्‍यानसित सुन, सहरलाई परमप्रभु बोलाउँदैहुनुहुन्‍छ— तपाईंका नाउँको भय मान्‍नु ज्ञान हो— “लाठो र त्‍यसलाई नियुक्त गर्नेको कुरामा ध्‍यान देओ।

10 हे दुष्‍ट घराना हो, के तैंले अधर्मसित प्राप्‍त गरेको धन-सम्‍पत्ति र सरापिएको तेरो बेईमान तौल म बिर्सू?

11 के कपटको तराजू र छलका ढकको थैलो राख्‍नेलाई म निर्दोष तुल्‍याऊँ?

12 त्‍यसका धनी मानिसहरू उपद्रवले भरिएका छन्‌। त्‍यसका मानिसहरू झूट बोल्‍छन्‌ र तिनीहरूका जिब्राहरूले छलका कुरा बोल्‍छन्‌।

13 यसकारण मैले तेरा पापहरूको कारण तँलाई नाश गर्न थालेको छु।

14 तँ खान त खान्‍छस्, तर अघाउँदैनस्, र तेरो पेट अझै भोकै रहनेछ। तैंले सञ्‍चय त गर्छस्‌ तर जोगाउँदैनस्, किनभने जे जोगाउँछस्‌ त्‍यो म तरवारलाई दिइहाल्‍नेछु।

15 तैंले रोप्‍न त रोप्‍छस्, तर कटनी गर्नेछैनस्‌। तैंले जैतूनको तेल निकाल्‍न त निकाल्‍छस्, तर आफ्‍नो जीउमा लगाउन पाउनेछैनस्‌। दाख पेल्‍न त पेल्‍छस्, तर दाखमद्य पिउन पाउनेछैनस्‌।

16 तैंले ओम्रीका कानूनहरू र आहाबको घरानाका सारा काम पालन गरेको छस्, र तँ तिनीहरूका परम्‍पराको पछि लागेको छस्‌। यसकारण म तँलाई नाश गर्नेछु, र तेरा मानिसहरूलाई खिसीको पात्र तुल्‍याउनेछु। तैंले जाति-जातिहरूको गिल्‍ला सहनुपर्नेछ।”

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy