Online Bible

- Reklamy -

मीकाको पुस्तक 5 - नेपाली नयाँ संशोधित संस्करण


बेथलेहेमबाट प्रतिज्ञा गरिएका शासक

1 हे फौज भएको सहर, तेरा फौजहरूलाई भेला गर्, किनकि हाम्रो विरुद्धमा घेरा हालिएको छ। तिनीहरूले इस्राएलका शासकलाई डण्‍डाले गालामा हिर्काउनेछन्‌।

2 “तर ए बेथलेहेम एप्राता, तँ यहूदाका कुलहरूमध्‍ये सानो भए तापनि तँबाट मेरो निम्‍ति एक जना निस्‍कनुहुनेछ, जो इस्राएलका शासक हुनुहुनेछ, जसको सुरु पुरानो समयदेखि, अर्थात्‌ प्राचीनकालदेखि नै छ।”

3 यसकारण जबसम्‍म प्रसववेदनामा परेकीले जन्‍माउँदिन र उहाँका दाजुभाइहरू इस्राएलीहरूसँग मिल्‍न आउँदैनन्, त्‍यस समयसम्‍म इस्राएल त्‍यागिनेछ।

4 उहाँले परमप्रभुको शक्तिमा र परमप्रभु आफ्‍ना परमेश्‍वरका नाउँको महत्त्वमा खड़ा भएर आफ्‍ना बगाललाई चराउनुहुनेछ। अनि तिनीहरू सुरक्षित रहनेछन्, किनकि पृथ्‍वीको पल्‍लो छेउसम्‍मै उहाँको महानता पुग्‍नेछ।

5 अनि उहाँ तिनीहरूका शान्‍ति हुनुहुनेछ। जब अश्‍शूरीहरू हाम्रो देशमा आउँछन्‌ र हाम्रा किल्‍लाहरूलाई आक्रमण गर्छन्, तब हामी तिनीहरूको विरुद्धमा सात गोठाला अथवा आठ मुखियाहरू खड़ा गर्नेछौं।


उद्धार र सर्वनाश

6 तिनीहरूले अश्‍शूर देशलाई तरवारले र निम्रोदको देशलाई नाङ्गो तरवारले शासन गर्नेछन्‌। जब अश्‍शूरीहरू हाम्रो देशलाई आक्रमण गर्न आउँछन्‌ र हाम्रो सिमानामा कुल्‍चन्‍छन्, तब उहाँले हामीहरूलाई अश्‍शूरीहरूका हातबाट छुटकारा दिनुहुनेछ।

7 याकूबका बाँकी रहेकाहरूचाहिँ धेरै मानिसहरूका बीचमा परमप्रभुबाट आएको शीत र घाँसमाथि पर्ने झरीझैँ हुनेछन्, जसले न त कुनै मानिसलाई न मानिसजातिलाई पर्खन्‍छ।

8 याकूबका बाँकी रहेकाहरूचाहिँ जाति-जातिहरू र धेरै मानिसहरूका बीचमा हुनेछन्, जङ्गलका पशुहरूका बीचमा हुने सिंह र भेड़ाबाख्राहरूका बीचमा हुने जवान सिंहजस्‍ता हुनेछन्, जो लतार्दै र फहराउँदै हिँड्‌छन्, र कसैले छुटाउन सक्‍दैन।

9 तिमीहरूको बाहुली आफ्‍ना शत्रुहरूमाथि विजयमा उठाइनेछ, र तिमीहरूका सबै शत्रुहरू नष्‍ट हुनेछन्‌।

10 परमप्रभु घोषणा गर्नुहुन्‍छ, “त्‍यस दिन म तिमीहरूका घोड़ाहरूलाई तिमीहरूका बीचबाट नष्‍ट पार्नेछु, र तिमीहरूका रथहरू विनाश गर्नेछु।

11 म तिमीहरूका देशका सहरहरू नाश गर्नेछु, र तिमीहरूका सबै गढ़ीहरू भत्‍काइदिनेछु।

12 म तिमीहरूको तन्‍त्रमन्‍त्र नष्‍ट पार्नेछु र तिमीहरूले फेरि कहिल्‍यै झारफूक गर्नेछैनौ।

13 म तिमीहरूका बीचबाट खोपिएका मूर्तिहरू र चोखा ढुङ्गाहरू नष्‍ट गर्नेछु। तिमीहरू फेरि कहिल्‍यै आफ्‍ना हातले बनाएका कुराहरूका अगि झुक्‍नेछैनौ।

14 म तिमीहरूका बीचबाट अशेरा देवीका मूर्तिहरू उखेलेर फ्‍याँकिदिनेछु, र तिमीहरूका सहरहरूलाई भत्‍काइदिनेछु।

15 मेरा आज्ञा नमान्‍ने जाति-जातिहरूलाई म मेरो रीस र क्रोधमा साटो लिनेछु।”

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy