मत्ती 8 - नेपाली नयाँ संशोधित संस्करणएक जना कुष्ठरोगी निको भएको मर्कूस १:४०-४५ ; लूका ५:१२-१६ 1 उहाँ डाँड़ाबाट ओर्लनुभएपछि ठूलो भीड उहाँको पछि लाग्यो। 2 एक जना कुष्ठरोगी उहाँकहाँ आयो, र उहाँको अगि घुँड़ा टेकी यसो भन्यो, “हे प्रभु, तपाईंको इच्छा भए मलाई निको पार्न सक्नुहुन्छ।” 3 उहाँले आफ्नो हात पसारेर त्यसलाई छुनुभयो, र भन्नुभयो, “म इच्छा गर्छु, तिमी निको भइजाऊ।” तुरुन्तै त्यसको कुष्ठरोग निको भइगयो। 4 तब येशूले त्यसलाई भन्नुभयो, “कसैलाई नभन्नू। तर जाऊ, र आफूलाई पूजाहारीकहाँ देखाऊ, र मोशाले आज्ञा गरेको भेटी चढ़ाऊ, र मानिसहरूलाई प्रमाण होस्।” कप्तानको विश्वास लूका ७:१-१० 5 येशू कफर्नहुममा पस्नुहुँदा एक जना कप्तान उहाँकहाँ आएर बिन्ती गर्न लागे। तिनले भने, 6 “हे प्रभु, मेरो नोकर पक्षाघातले साह्रै दुःख पाएर घरमा ओछ्यान परेको छ।” 7 उहाँले तिनलाई भन्नुभयो, “म आएर त्यसलाई निको पार्नेछु।” 8 तर कप्तानले भने, “हे प्रभु, तपाईंलाई मेरो घरमा स्वागत गर्ने योग्यको म छैनँ। तर वचन मात्र बोलिदिनुहोस्, र मेरो नोकर निको हुनेछ। 9 किनकि म पनि अधिकारीहरूका अधीनमा छु, अनि मेरो अधीनमा सिपाहीहरू छन्। म एक जनालाई ‘जा’ भन्छु, अनि त्यो जान्छ, र अर्कालाई ‘आइज’ भन्छु, अनि त्यो आउँछ। मेरो कमारालाई ‘यसो गर्’ भन्छु, अनि त्यसले त्यो गर्छ।” 10 तिनको कुरा सुनेर येशूले आश्चर्य मान्नुभयो, र उहाँको पछि आउनेहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, इस्राएलमा पनि यति ठूलो विश्वास मैले भेट्टाएको छैनँ। 11 म तिमीहरूलाई भन्दछु, पूर्व र पश्चिमबाट धेरै जना आउनेछन्, र अब्राहाम, इसहाक र याकूबसँग स्वर्गका राज्यको भोजमा बस्नेछन्। 12 तर राज्यका सन्तान बाहिरी अन्धकारमा फालिनेछन्। त्यहाँ मानिसहरू रुनेछन् र दाह्रा किट्नेछन्।” 13 तब येशूले कप्तानलाई भन्नुभयो, “जाऊ, जस्तो तिमीले विश्वास गरेका छौ, त्यस्तै तिमीलाई होस्।” अनि त्यो नोकर त्यही घड़ी निको भयो। रोगीहरू निको भएका मर्कूस १:२९-३४ ; लूका ४:३८-४१ 14 पत्रुसको घरमा आउनुभएपछि येशूले तिनकी सासूलाई जरोले थलिएर पस्रिएकी देख्नुभयो। 15 उहाँले तिनको हात छुनुभयो, र जरोले तिनलाई छोड़्यो। अनि तिनी उठिन्, र उहाँको सेवा गरिन्। 16 जब साँझ पर्यो, तब तिनीहरूले उहाँकहाँ भूत लागेका धेरै जनालाई ल्याए। र उहाँले वचनद्वारा नै भूतहरूलाई निकाल्नुभयो, र जति बिरामी थिए, सबैलाई निको पार्नुभयो। 17 यशैया अगमवक्ताले बोलेको अगमवाणी पूरा हुनलाई यो भएको थियो, “उहाँ आफैले हाम्रा दुर्बलताहरू लिनुभयो, र हाम्रा रोगहरू उठाइलानुभयो।” येशूलाई पछ्याउँदा तिर्नुपर्ने मूल्य लूका ९:५७-६२ 18 जब येशूले आफ्नो वरिपरि ठूला भीड़हरूलाई देख्नुभयो, उहाँले तालको पारि जाने आज्ञा दिनुभयो। 19 एक जना शास्त्री उहाँकहाँ आए, र उहाँलाई भने, “गुरुज्यू, तपाईं जहाँ-जहाँ जानुहुन्छ, म तपाईंलाई पछ्याउनेछु।” 20 येशूले तिनलाई भन्नुभयो, “स्यालका दुला र आकाशका चराचुरुङ्गीहरूका गुँड़ हुन्छन्, तर मानिसको पुत्रको लागि त शिर ढल्काउने ठाउँ पनि छैन।” 21 उहाँका चेलाहरूमध्ये अर्को एक जनाले भन्यो, “प्रभु, पहिले गएर मलाई मेरा बाबुलाई गाड्ने अनुमति दिनुहोस्।” 22 तर येशूले तिनलाई भन्नुभयो, “मेरो पछि आऊ, मुर्दाले नै तिनका आफ्ना मुर्दा गाडून्।” येशूले आँधीलाई शान्त पार्नुभएको मर्कूस ४:३५-४१ ; लूका ८:२२-२५ 23 उहाँ डुङ्गामा चढ्नुभएपछि उहाँका चेलाहरू उहाँको पछि लागे। 24 अकस्मात् तालमा ठूलो आँधी आयो, र छालले डुङ्गालाई ढाक्न लाग्यो। येशू निदाइरहनुभएको थियो। 25 चेलाहरू आएर यसो भन्दै उहाँलाई बिउँझाए, “बचाउनुहोस् प्रभु! हामीहरू नष्ट हुन लाग्यौं।” 26 येशूले तिनीहरूलाई भन्नुभयो, “अल्पविश्वासी मानिस हो, तिमीहरू किन डराउँछौ?” तब उठेर उहाँले बतास र समुद्रलाई हकार्नुभयो, र आँधी बिलकुल शान्त भयो। 27 “यिनी त कस्ता मानिस हुन्, किनभने बतास र समुद्रले पनि यिनका आज्ञा मान्दारहेछन्” भनी ती मानिसहरू छक्क परे। भूत लागेका दुई मानिस मर्कूस ५:१-२० ; लूका ८:२६-३९ 28 जब उहाँ पारिपट्टि गदरिनीहरूको मुलुकमा आउनुभयो, तब भूत लागेका दुई जना मानिसहरूले चिहानबाट आउँदैगर्दा उहाँलाई भेटे। तिनीहरू यति डरलाग्दा थिए, कि कोही पनि त्यहाँबाट आउन-जान सक्दैनथिए। 29 तिनीहरूले यसो भन्दै चिच्च्याए, “हे परमेश्वरका पुत्र, तपाईंको हामीहरूसँग के सरोकार? हाम्रो समय नपुगी हामीहरूलाई कष्ट दिन तपाईं यहाँ आउनुभएको हो?” 30 तिनीहरूदेखि केही टाढ़ामा सुँगुरको एक ठूलो बगाल चरिरहेको थियो। 31 भूतहरूले उहाँलाई यसो भनेर बिन्ती गरे, “यदि तपाईंले हामीलाई निकाल्नुहुन्छ भने, हामीलाई सुँगुरको बथानमा पठाइदिनुहोस्।” 32 अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “जाओ।” तब तिनीहरू निस्केर सुँगुरहरूमा पसे, र सुँगुरको जम्मै बगाल भिरालोबाट समुद्रतिर हुर्रिंदैगए, र पानीमा डुबेर मरे। 33 सुँगुर चराउनेहरू भागे र सहरमा गएर सबै कुरा, र ती भूत लागेकाहरूलाई के भयो सो सुनाइदिए। 34 तब जम्मै सहर नै येशूलाई भेट गर्न उल्टेर आयो, र उहाँलाई देखेर मानिसहरूले तिनीहरूको इलाकाबाट जानुहोस् भनी उहाँलाई बिन्ती गरे। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society