Online Bible

- Reklamy -

मत्ती 7 - नेपाली नयाँ संशोधित संस्करण


अरूलाई दोषी नठहराउनू
लूका ६:३७-३८ , ४१-४२

1 “अरूलाई दोषी नठहराओ, र तिमीहरू पनि दोषी ठहराइनेछैनौ।

2 किनभने जसरी तिमीहरू अरूहरूलाई दोषी ठहराउँछौ, त्‍यसरी नै तिमीहरू पनि दोषी ठहराइनेछौ। जुन नापले तिमीहरू नाप्‍तछौ, त्‍यसै गरी तिमीहरूका निम्‍ति पनि नापिनेछ।

3 “किन तिमी आफ्‍नो भाइको आँखामा भएको धूलोको कण देख्‍तछौ, तर तिम्रो आफ्‍नै आँखामा भएको मूढ़ाचाहिँ थाहा पाउँदैनौ?

4 अथवा तिम्रो आफ्‍नै आँखामा मूढ़ा छ भने कसरी तिमी तिम्रो भाइलाई भन्‍न सक्‍छौ, ‘मलाई तिम्रो आँखाबाट धूलोको कण निकाल्‍न देऊ।’

5 ए ढोंगी, पहिले आफ्‍नै आँखाबाट मूढ़ा निकाल, तब तिम्रो भाइको आँखाबाट धूलोको कण निकाल्‍नलाई तिमी सफासँग देख्‍न सक्‍नेछौ।

6 “जे पवित्र छ सो कुकुरहरूलाई नदेओ। आफ्‍ना मोतीहरू सुँगुरका अगाडि नफाल, नत्रता तिनले आफ्‍ना खुट्टाले तिनलाई कुल्‍चलान्‌ र फर्की तिमीलाई हमला गर्लान्‌।


प्रार्थनाको निम्‍ति प्रोत्‍साहन
लूका ११:९-१३

7 “माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउनेछौ, ढकढक्‍याओ त तिमीहरूका निम्‍ति उघारिनेछ।

8 किनकि जसले माग्‍छ, त्‍यसले पाउँछ, जसले खोज्‍छ, त्‍यसले भेट्टाउँछ, जसले ढकढक्‍याउँछ, त्‍यसको निम्‍ति ढोका उघारिनेछ।

9 “तिमीहरूमध्‍ये कुन मानिस होला, जसको छोराले रोटी माग्‍दा त्‍यसलाई ढुङ्गा देला?

10 कि माछा माग्‍दा त्‍यसलाई साँप देला?

11 यसकारण तिमीहरू दुष्‍ट भएर आफ्‍ना छोराछोरीहरूलाई असल चीज दिन जान्‍दछौ भने, स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसित माग्‍नेहरूलाई कति बढ़ी गरेर असल चीज दिनुहुनेछ।

12 मानिसहरूले तिमीहरूसँग जस्‍तो व्‍यवहार गरून्‌ भन्‍ने तिमीहरू चाहन्‍छौ, तिमीहरूले पनि तिनीहरूसँग त्‍यस्‍तै व्‍यवहार गर, किनभने यही नै व्‍यवस्‍था र अगमवक्ताका शिक्षाको सारांश हो।


साँघुरो र फराकिलो ढोका
लूका १३:२४

13 “साँघुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुर्‍याउने ढोका फराकिलो र बाटो सजिलो हुन्‍छ, र यसबाट भित्र पस्‍नेहरू धेरै हुन्‍छन्‌।

14 किनभने जीवनमा पुर्‍याउने ढोका साँघुरो हुन्‍छ र बाटो कठिन हुन्‍छ, जसले चाहिँ जीवनमा पुर्‍याउँछ, र त्‍यो भेट्टाउने थोरै नै हुन्‍छन्‌।


रूख र त्‍यसको फल
लूका ६:४३-४४ ; १३:२५-२७

15 “झूटा अगमवक्ताहरूदेखि होशियार बस, जो तिमीहरूकहाँ भेड़ाको भेषमा आउँछन्, तर भित्रपट्टि चाहिँ डरलाग्‍दा ब्‍वाँसाहरूजस्‍ता हुन्‍छन्‌।

16 तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ। के काँढ़ाका बोटबाट अंगूर अथवा सिउँड़ीबाट अञ्‍जीर टिपिन्‍छ र?

17 त्‍यसै गरी हरेक असल रूखले असल फल फलाउँछ। तर खराब रूखले खराब फल फलाउँछ।

18 असल रूखले खराब फल फलाउन सक्‍दैन, न त खराब रूखले असल फल फलाउन सक्‍तछ।

19 असल फल नफलाउने हरेक रूख काटी ढालिन्‍छ, र आगोमा फालिन्‍छ।

20 यसरी ती अगमवक्ताहरूलाई तिनीहरूका फलबाट चिन्‍नेछौ।

21 “मलाई ‘प्रभु, प्रभु’ भन्‍ने सबै स्‍वर्गको राज्‍यमा प्रवेश गर्नेछैनन्‌। स्‍वर्गमा हुनुहुने मेरा पिताको इच्‍छा पालन गर्ने मानिस मात्र परमेश्‍वरको राज्‍यमा प्रवेश गर्नेछ।

22 त्‍यो दिन धेरैले मलाई भन्‍नेछन्, ‘प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेनौं? तपाईंको नाउँमा भूतहरू धपाएनौं। र तपाईंको नाउँमा अनेक शक्तिशाली काम गरेनौं र?’

23 अनि म तिनीहरूलाई सफासँग भन्‍नेछु, ‘मैले तिमीहरूलाई कहिल्‍यै चिनेको छैनँ। ए अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ।’


दुई किसिमका जग
लूका ६:४७-४९

24 “यसकारण जसले मेरा यी वचन सुन्‍छ र पालन गर्छ, म एक जना बुद्धिमान्‌ मानिससँग त्‍यसको तुलना गर्छु, जसले आफ्‍नो घर चट्टानमाथि बनायो।

25 अनि पानी पर्‍यो, र बाढ़ी आयो, अनि हुरी चल्‍यो र त्‍यस घरमाथि बजारियो, र पनि त्‍यो घर ढलेन। किनकि त्‍यो चट्टानमाथि बसालिएको थियो।

26 जसले मेरा यी वचन सुनेर पनि पालन गर्दैन, त्‍यसको तुलना एउटा मूर्ख मानिससँग गरिन्‍छ, जसले आफ्‍नो घर बालुवामाथि बनायो।

27 पानी पर्‍यो, र बाढ़ी आयो, अनि हुरी चल्‍यो र त्‍यस घरमाथि बजारियो, र त्‍यो घर ढल्‍यो, अनि त्‍यसको ठूलो विनाश भयो।”

28 येशूले यी कुरा भनिसक्‍नुभएपछि भीड उहाँका शिक्षा सुनेर छक्‍क पर्‍यो।

29 किनकि उहाँले तिनीहरूका शास्‍त्रीहरूले झैँ होइन, तर अधिकार भएको मानिसले जस्‍तो गरी सिकाउनुहुन्‍थ्‍यो।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy