Online Bible

- Reklamy -

मत्ती 6 - नेपाली नयाँ संशोधित संस्करण


गुप्‍त-दान र प्रार्थना
लूका ११:२-४

1 “होशियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्मकार्य नगर। नत्रता स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउनेछैनौ।

2 “यसकारण जब तिमीहरू दान दिन्‍छौ, तब आफ्‍ना सामु तुरही नबजाओ, जस्‍तो ढोंगीहरूले सभाघरहरू र सड़कहरूमा मानिसहरूबाट प्रशंसा पाउनलाई गर्दछन्‌। साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिनीहरूले आफ्‍ना इनाम पाइसकेका छन्‌।

3 तर जब तिमी दान दिँदछौ, तिम्रो दाहिने हातले के गरिरहेछ सो देब्रे हातले थाहा नपाओस्‌।

4 तिम्रो दान गुप्‍तमा होस्, र गुप्‍तमा देख्‍नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।

5 “जब तिमी प्रार्थना गर्दछौ तब ढोंगीहरूजस्‍ता नहोओ, किनकि तिनीहरू सभाघरहरूमा र सड़कहरूका कुनामा मानिसहरूले देखून्‌ भनी खड़ा भएर प्रार्थना गर्न मन गर्दछन्‌। साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिनीहरूले आफ्‍नो इनाम पाइसकेका छन्‌।

6 तर तिमी जब प्रार्थना गर्दछौ, आफ्‍नो भित्री कोठामा पस, र ढोका थुनेर गुप्‍तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर, र गुप्‍तमा देख्‍नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।

7 र प्रार्थना गर्दा अन्‍यजातिहरूजस्‍ता व्‍यर्थै नबरबराओ। किनभने धेरै शब्‍दमा बोल्‍दा तिनीहरूको सुनाइ हुन्‍छ भन्‍ने तिनीहरू विचार गर्दछन्‌।

8 यसकारण तिनीहरूजस्‍ता नहोओ। किनभने तिमीहरूले उहाँसँग माग्‍नभन्‍दा अघिबाटै तिमीहरूलाई कुन-कुन कुराको खाँचो छ, सो तिमीहरूका पिता जान्‍नुहुन्‍छ।

9 “तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर: ‘हे हाम्रा पिता, जो स्‍वर्गमा हुनुहुन्‍छ, तपाईंको नाउँ पवित्र होस्‌।

10 तपाईंको राज्‍य आओस्‌। तपाईंको इच्‍छा स्‍वर्गमा जस्‍तो छ, त्‍यस्‍तै यस पृथ्‍वीमा पूरा होस्‌।

11 हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्‌।

12 हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्‍ना अपराधीहरूलाई क्षमा गरेका छौं।

13 हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्‍टबाट छुटाउनुहोस्‌ किनभने राज्‍य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्, आमेन।’

14 किनकि तिमीहरूले मानिसहरूका अपराध क्षमा गर्‍यौ भने तिमीहरूका स्‍वर्गमा हुनुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ।

15 तर तिमीहरूले मानिसहरूका अपराध क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका अपराध क्षमा गर्नुहुनेछैन।


उपवास

16 “जब तिमीहरू उपवास बस्‍तछौ, तब ढोंगीहरूजस्‍ता उदासी चेहरा नदेखाओ। किनकि मानिसहरूलाई उपवास बसेका देखाउनलाई तिनीहरू आफ्‍ना मोहड़ा अँध्‍यारा पार्छन्‌। साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिनीहरूले आफ्‍ना इनाम पाइसकेका छन्‌।

17 तर तिमीचाहिँ उपवास बस्‍दा आफ्‍नो शिरमा तेल लगाऊ, र आफ्‍नो मुख धोऊ।

18 र तिम्रो उपवास मानिसहरूले होइन, तर गुप्‍तमा हुनुहुने तिम्रा पिताले देखून्, र गुप्‍तमा देख्‍नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।


स्‍वर्गको सम्‍पत्ति
लूका १२:३३-३४ ; १६:१३

19 “आफ्‍नो निम्‍ति पृथ्‍वीमा धन-सम्‍पत्ति नथुपार, जहाँ कीरा र खियाले ती नष्‍ट पार्छन्‌ र जहाँ चोरहरूले घर फोरेर ती चोर्छन्‌।

20 तर आफ्‍नो निम्‍ति स्‍वर्गमा धन-सम्‍पत्ति थुपार, जहाँ कीराले वा खियाले नष्‍ट पार्दैन, र चोरले पनि चोर्दैन।

21 किनकि जहाँ तिम्रो धन हुन्‍छ, त्‍यहीँ तिम्रो मन पनि हुन्‍छ।

22 “आँखा शरीरको बत्ती हो। यसकारण यदि तिम्रा आँखा स्‍वस्‍थ छन्‌ भने, तिम्रो सारा शरीर उज्‍यालो हुनेछ।

23 तर तिम्रा आँखा खराब छन्‌ भने, तिम्रो सारा शरीर अँध्‍यारो हुनेछ। यसकारण तिमीभित्र भएको उज्‍यालोचाहिँ अँध्‍यारो भयो भने, त्‍यो अँध्‍यारो कस्‍तो घोर हुन्‍छ!

24 “कसैले दुई मालिकको सेवा गर्न सक्‍दैन। किनभने त्‍यसले एउटालाई घृणा गर्नेछ र अर्कालाई प्रेम गर्नेछ। अथवा त्‍यसले एउटाप्रति भक्ति राख्‍नेछ, र अर्कालाई त्‍यसले तुच्‍छ ठान्‍नेछ। तिमीहरूले परमेश्‍वर र धनको सेवा गर्न सक्‍दैनौ।


चिन्‍ता र फिक्री
लूका १२:२२-३१

25 “यसैकारण म तिमीहरूलाई भन्‍दछु, ‘के खाउँला, के पिउँला’ भनी आफ्‍नो प्राणको निम्‍ति र ‘के लगाउँला’ भनी आफ्‍नो शरीरको निम्‍ति फिक्री नगर।’ के जीवन खानेकुराभन्‍दा र शरीर लुगाफाटाभन्‍दा उत्तम होइन?

26 आकाशका चराचुरुङ्गीलाई हेर। तिनीहरूले न त बीउ छर्छन्, न अन्‍न कटनी गर्छन्, न भकारीमा बटुल्‍छन्, तर तिमीहरूका स्‍वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्‍छ। के तिमीहरू तिनीहरूभन्‍दा बढ़ी मूल्‍यवान्‌ छैनौ र?

27 तिमीहरूमध्‍ये कुनचाहिँले फिक्री गरेर आफ्‍नो आयुमा एक घड़ी पनि थप्‍न सक्‍छ?

28 “अनि लुगाफाटाका निम्‍ति तिमीहरू किन फिक्री गर्दछौ? मैदानका लिली फूललाई हेर, ती कसरी बढ्‌दछन्‌। तिनले न परिश्रम गर्दछन्, न धागो कात्‍छन्‌।

29 तर म तिमीहरूलाई भन्‍दछु, सोलोमन राजा पनि आफ्‍ना सारा वैभवमा तिनीहरूमध्‍ये एउटा जति आभूषित थिएनन्‌।

30 आज हुने र भोलि अगेनोमा फालिने घाँसलाई परमेश्‍वरले यसरी पहिराउनुहुन्‍छ भने, ए अल्‍पविश्‍वासी हो, के तिमीहरूलाई झन्‌ बढ़ी उहाँले पहिराउनुहुनेछैन र?

31 यसकारण ‘के खाऔंला?’ कि ‘के पिऔंला?’ कि ‘के पहिरौंला?’ भनेर फिक्री नगर।

32 किनकि अन्‍यजातिहरूले यी सब थोक खोज्‍दछन्, र तिमीहरूका स्‍वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भनी जान्‍नुहुन्‍छ।

33 तर पहिले उहाँको राज्‍य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्‍ति थपिनेछन्‌।

34 यसकारण भोलिको निम्‍ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्‍नो फिक्री आफै गर्नेछ। आजको दुःख आजको निम्‍ति पर्याप्‍त छ।”

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy