मत्ती 5 - नेपाली नयाँ संशोधित संस्करणडाँड़ाको उपदेश लूका ६:२०-२३ 1 भीड़लाई देखेर उहाँ डाँड़ामा उक्लनुभयो, र उहाँ बस्नुभएपछि चेलाहरू उहाँकहाँ आए। 2 उहाँले मुख खोल्नुभयो र तिनीहरूलाई शिक्षा दिन लाग्नुभयो: 3 “धन्य आत्मामा दीन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो। 4 धन्य शोक गर्नेहरू, किनभने तिनीहरूले सान्त्वना पाउनेछन्। 5 धन्य नम्रहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्। 6 धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्त हुनेछन्। 7 धन्य दयावन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन्। 8 धन्य शुद्ध हृदय हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। 9 धन्य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्वरका छोराहरू कहलाइनेछन्। 10 धन्य धार्मिकताको निम्ति सताइनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो। 11 “धन्य हौ तिमीहरू, जब मानिसहरूले मेरो खातिर तिमीहरूको निन्दा गर्नेछन् र सताउनेछन्, र झूटा बोलेर तिमीहरूका विरुद्धमा सब किसिमका खराब कुरा भन्नेछन्। 12 तब रमाओ, र अत्यन्त खुसी होओ, किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ। किनभने यसरी नै तिमीहरूभन्दा अघिका अगमवक्ताहरूलाई तिनीहरूले सताएका थिए। नून र ज्योति मर्कूस ९:५० ; लूका १४:३४-३५ 13 “तिमीहरू पृथ्वीका नून हौ, तर नूनको स्वाद गयो भने त्यो केले फेरि नुनिलो पारिने र? त्यो त बाहिर फालिन र मानिसका खुट्टाले कुल्चनबाहेक अरू केही कामको हुँदैन। 14 “तिमीहरू संसारका ज्योति हौ। डाँड़ामा बसालिएको सहर लुक्न सक्दैन। 15 मानिसहरूले बत्ती बालेर पाथीले त छोप्दैनन्, तर सामदानमा राख्दछन्, र घरमा हुने सबैको निम्ति त्यसले उज्यालो दिन्छ। 16 यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामुन्ने चम्कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्। व्यवस्था पालन 17 “व्यवस्था अथवा अगमवक्ताहरूलाई रद्द गर्न म आएको भन्ने नसम्झ। म ती रद्द गर्न होइन, तर पूरा गर्न आएँ। 18 किनभने साँच्चै म तिमीहरूलाई भन्दछु, जबसम्म स्वर्ग र पृथ्वी टलेर जाँदैन तबसम्म सबै कुरा पूर्ण नभई कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु टल्नेछैन। 19 यसैकारण जसले यी आज्ञाहरूमध्ये सबैभन्दा सानोलाई उल्लङ्घन गर्ला, र मानिसहरूलाई त्यसै गर्न सिकाउला, स्वर्गको राज्यमा त्यो सबैभन्दा सानो कहलाइनेछ। तर जसले ती आज्ञाहरू पालन गर्ला र सिकाउला, स्वर्गको राज्यमा त्यो ठूलो कहलाइनेछ। 20 किनभने म तिमीहरूलाई भन्दछु, तिमीहरूको धार्मिकता शास्त्री र फरिसीहरूको भन्दा बढ़ी भएन भने तिमीहरू कुनै रीतिले स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ। क्रोध र हत्या 21 “तिमीहरूले सुनेका छौ, प्राचीन समयका मानिसहरूलाई यसो भनिएको थियो, ‘तैंले हत्या नगर्नू, र जसले हत्या गर्छ त्यो दण्डको योग्य हुनेछ।’ 22 तर म तिमीहरूलाई भन्दछु, जो कोही आफ्नो भाइसँग क्रोध गर्दछ त्यो दण्डको योग्य हुनेछ, र जसले आफ्नो भाइको अपमान गर्दछ, त्यो महासभामा जवाफदेही हुनेछ। तर जसले आफ्नो भाइलाई ‘तँ मूर्ख’ भन्छ, त्यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ। 23 “यसकारण तिमीले वेदीमा आफ्नो भेटी चढ़ाउँदा तिम्रो भाइको हृदयमा तिम्रो विरुद्धमा केही छ भन्ने तिमीलाई याद भयो भने, 24 तिम्रो भेटी त्यही वेदीको सामु छोड, र जाऊ। पहिले आफ्नो भाइसँग मिलाप गर, र त्यसपछि आएर आफ्नो भेटी चढ़ाऊ। 25 “तिम्रो वादीसँग अदालतमा जाँदा बाटोमै मिलाप गरिहाल, नत्रता वादीले तिमीलाई न्यायाधीशको हातमा सुम्पिदेला र न्यायाधीशले अधिकृतको हातमा सुम्पिदेलान्, र तिमी झ्यालखानमा पर्नेछौ। 26 साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीले एक-एक पैसा चुक्ता नगरुञ्जेल तिमी त्यहाँबाट उम्कनेछैनौ। व्यभिचार 27 “तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तैंले व्यभिचार नगर्।’ 28 तर म तिमीहरूलाई भन्दछु, जसले कोही स्त्रीलाई कामवासनाको इच्छाले हेर्दछ, त्यसले अघिबाटै आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको हुन्छ। 29 यदि तिम्रो दाहिने आँखाले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई निकालेर फालिदेऊ, किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा फालिनुभन्दा बरु तिम्रा अङ्गहरूमध्ये एउटा गुमाउनु तिम्रो निम्ति हितकारी हुन्छ। 30 तिम्रो दाहिने हातले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई काटेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा जानुभन्दा बरु तिम्रा अङ्गहरूमध्ये एउटा गुमाउनु तिम्रो निम्ति हितकारी हुन्छ। विवाहविच्छेद मर्कूस १०:११-१२ ; लूका १६:१८ 31 “यसो पनि भनिएको छ, कि ‘जसले आफ्नी पत्नीलाई त्याग गर्छ, त्यसले तिनलाई त्यागपत्र लेखिदेओस्।’ 32 तर म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई व्यभिचारको कारणबाहेक अरू कारणले त्याग गर्ला, त्यसले तिनलाई व्यभिचारिणी तुल्याउँछ, र जसले त्याग गरिएकी स्त्रीसँग विवाह गर्ला, त्यसले व्यभिचार गर्नेछ। शपथ र सत्यता 33 “फेरि तिमीहरूले सुनेका छौ, कि प्राचीन समयका मानिसहरूलाई भनिएको थियो, ‘तैंले झूटो शपथ नखा, तर परमप्रभुको निम्ति गरिएको शपथ तैंले पूरा गर्।’ 34 तर म तिमीहरूलाई भन्दछु, शपथ खाँदै नखाओ। स्वर्गको नाउँमा शपथ नखाओ, किनकि त्यो परमेश्वरको सिंहासन हो, 35 न त पृथ्वीको, किनकि त्यो उहाँको पाउदान हो, न त यरूशलेमको, किनकि त्यो महाराजाको सहर हो। 36 आफ्नो शिरको शपथ नखाऊ, किनकि तिमीले एउटा केशलाई सेतो कि कालो बनाउन सक्दैनौ। 37 तिमीहरूले भनेको वचनचाहिँ ‘हो’ भने ‘हो,’ ‘होइन’ भने ‘होइन’ मात्र होस्। यीभन्दा बढ़ीचाहिँ दुष्टताबाट आउँदछ। प्रतिशोध लूका ६:२७-३६ 38 “तिमीहरूले सुनेका छौ, यसो भनिएको थियो, ‘आँखाको बदला आँखा, र दाँतको बदला दाँत।’ 39 तर म तिमीहरूलाई भन्दछु, दुष्टको मुकाबिला नगर। जसले तिम्रो दाहिने गाला चड्काउला, त्यसलाई अर्को गाला पनि थापिदेऊ। 40 यदि कोही मानिसले मुद्दा चलाएर तिम्रो दौरा लिने दाबी गर्छ भने, त्यसलाई तिम्रो खास्टो पनि दिइहाल। 41 यदि कसैले तिमीलाई एक किलोमिटर जान बाध्य गर्छ भने, ऊसँग दुई किलोमिटर गइदेऊ। 42 तिमीसँग माग्नेलाई देऊ, र तिमीसँग कर्जा लिन चाहनेलाई इन्कार नगर। 43 “तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तिम्रो छिमेकीलाई प्रेम गर, र तिम्रो शत्रुलाई घृणा गर।’ 44 तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर, र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर, 45 र तिमीहरू स्वर्गमा हुनुहुने आफ्ना पिताका छोराहरू हुनेछौ। उहाँले दुष्ट र सज्जन दुवैलाई सूर्यको ताप दिनुहुन्छ, र धर्मी र पापी दुवैलाई वृष्टि दिनुहुन्छ। 46 किनभने यदि तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूलाई के इनाम छ? के महसूल उठाउनेहरूले पनि त्यसै गर्दैनन् र? 47 तिमीहरूले आफ्ना दाजुभाइहरूलाई मात्र अभिवादन गर्छौ भने अरूहरूले भन्दा बढ़ी के गर्यौ र? के अन्यजातिहरूले पनि त्यसै गर्दैनन् र? 48 यसकारण जस्तो तिमीहरूका स्वर्गमा हुनुहुने पिता सिद्ध हुनुहुन्छ, तिमीहरू पनि त्यस्तै सिद्ध हुनुपर्दछ।” |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society