मत्ती 4 - नेपाली नयाँ संशोधित संस्करणउजाड-स्थानमा येशूको परीक्षा मर्कूस १:१२-१३ ; लूका ४:१-१३ 1 तब दियाबलसद्वारा परीक्षा गरिनलाई पवित्र आत्माद्वारा येशू उजाड-स्थानमा लगिनुभयो। 2 उहाँ चालीस दिन र चालीस रातसम्म उपवास बसिसकेपछि भोकाउनुभयो। 3 तब परीक्षा गर्नेले उहाँकहाँ आएर भन्यो, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी होऊन् भनी आज्ञा दिनुहोस्।” 4 तर येशूले जवाफ दिनुभयो, “लेखिएको छ, ‘मानिस रोटीले मात्र होइन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहँदछ’।” 5 तब दियाबलसले उहाँलाई पवित्र नगरमा लगेर मन्दिरको शिरमा खड़ा गरायो, 6 र उहाँलाई भन्यो, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट तल हामफाल्नुहोस्, किनभने यस्तो लेखिएको छ, ‘उहाँले आफ्ना दूतहरूको जिम्मामा तिमीलाई दिनुहुनेछ र तिनीहरूले तिमीलाई आफ्ना हात-हातै थाम्नेछन्, नत्रता तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछ’।” 7 येशूले त्यसलाई भन्नुभयो, “लेखिएको छ, ‘तैंले परमप्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नू’।” 8 फेरि दियाबलसले उहाँलाई एउटा अल्गो पर्वतमा लगेर संसारका सबै राज्य र तिनको वैभव उहाँलाई देखायो, 9 र उहाँलाई भन्यो, “तपाईंले घोप्टेर मलाई दण्डवत् गर्नुभयो भने, यी सबै थोक म तपाईंलाई दिनेछु।” 10 तब येशूले त्यसलाई भन्नुभयो, “शैतान, तँ दूर होइजा! किनभने लेखिएको छ, ‘तैंले परमप्रभु आफ्ना परमेश्वरलाई दण्डवत् गर्नू, र उहाँको मात्र सेवा गर्नू’।” 11 तब दियाबलस उहाँलाई छोड़ेर गयो र स्वर्गदूतहरूले आएर उहाँको सेवा-टहल गरे। येशूको प्रचार आरम्भ मर्कूस १:१४-१५ ; लूका ४:१४-१५ 12 यूहन्ना थुनामा परे भन्ने सुनेर येशू गालीलतिर लाग्नुभयो, 13 र नासरत छोड़ेर कफर्नहुममा गई त्यहाँ वास गर्न लाग्नुभयो। यो सहर जबूलून र नप्तालीका क्षेत्रमा, समुद्रको किनारमा पर्छ। 14 यशैया अगमवक्ताले भनेको वचन यसरी पूरा भयो: 15 “जबूलूनको मुलुक र नप्तालीको मुलुक, यर्दनपार, समुद्रतिर, अन्यजातिहरूको गालील, 16 अन्धकारमा बस्ने मानिसहरूले एउटा ठूलो ज्योति देखेका छन्। मृत्युका छायाको देशमा बस्नेहरूमाथि एउटा ज्योति उदाएको छ।” 17 त्यस बेलादेखि प्रचार गर्दै येशूले भन्न लाग्नुभयो, “पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ।” येशूका प्रथम चेलाहरू मर्कूस १:१६-२० ; लूका ५:१-११ 18 गालील-समुद्रको किनारमा हिँड्नुहुँदा उहाँले पत्रुस भन्ने सिमोन र तिनका भाइ अन्द्रियास, दुवै भाइलाई समुद्रमा जाल हानिरहेका देख्नुभयो। तिनीहरू मछुवा थिए। 19 उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवा तुल्याउनेछु।” 20 तब उत्तिखेरै जालहरू छोड़ेर तिनीहरू उहाँको पछि लागे। 21 त्यहाँबाट जाँदाजाँदै उहाँले अर्का दुई भाइ, जब्दियाका छोराहरू याकूब र तिनका भाइ यूहन्नालाई तिनीहरूका बुबा जब्दियासँग डुङ्गामा आफ्ना जाल तुनिरहेका देख्नुभयो, र उहाँले तिनीहरूलाई बोलाउनुभयो। 22 तब उत्तिखेरै डुङ्गा र तिनीहरूका बाबुलाई छोड़ेर तिनीहरू उहाँको पछि लागे। गालीलमा येशूको सेवाकार्य लूका ६:१७-१९ 23 अनि येशू तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्यको सुसमाचार प्रचार गर्दै, र मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक दुर्बलता निको पार्दै सारा गालीलभरि घुम्नुभयो। 24 उहाँको कीर्ति सिरियाभरि फिँजियो, र बिरामीहरू, अर्थात् विभिन्न प्रकारका रोग र पीडाले सताइएका, भूत लागेका, र छारेरोग लागेका, र पक्षाघात भएकाहरू सबैलाई मानिसहरूले उहाँकहाँ ल्याए। उहाँले तिनीहरूलाई निको पार्नुभयो। 25 अनि गालील, डेकापोलिस, यरूशलेम, यहूदिया र यर्दन पारिदेखिका ठूला भीड़हरू उहाँको पछि लागे। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society